आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

विवादास्पद खरिद सम्झौता रद्द, ओम्नी समूह कालो सूचीमा

विवादास्पद खरिद सम्झौता रद्द, ओम्नी समूह कालो सूचीमा


  • ढोरपाटन संवाददाता
  • चैत्र १९ २०७६, बुधबार

काठमाडौं, १९ चैत – स्वास्थ्य सेवा विभागले कोरोना (कोभिड-१९) भाइरसको रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग गरेको सम्झौता रद्ध गरेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले उक्त समूहसँगको सम्झौता रद्ध गरेको जानकारी गराएका हुन् ।
यसअघि सरकारले चीनबाट उक्त समूहसँगको सम्झौता अनुसार विभिन्न स्वास्थ्य सामग्री ल्याएको थियो । स्वास्थ्य सामग्री खरिद विवादास्पद बनेपछि उक्त समूहसँगको सम्झौता विभागले रद्ध गरेको हो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड-१९) को परीक्षण र स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्री खरिदका लागि सरकारले ओम्नी समूहमार्फत एक अर्ब २४ करोड  बढी रकमको उपकरण झिकाएको थियो । छिटो सामान ल्याउन सरकारले नेपाल एयर लाइन्सको वाइड बडी  विमान नै चीन पठाएर पहिलो चरणमा आइतबार अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल ल्याएको थियो ।
वाइड बडी जहाजले अत्यावश्यक स्वास्थ्य सामग्रीमा पञ्जा, गाउन, चस्मा, एन ९५ मास्क, जुत्ता, इन्फ्रारेड थर्मोमिटर, कोरोना परीक्षणका लागि आवश्यक पोर्टेबल पीसीआर मेसिन, कोरोना परीक्षण किटसँगै नमुना संकलनका लागि आवश्यक ट्युवलगायत ल्याएको थियो । सम्झौतामा तीन चरणमा तोकिएको रकम बराबरका स्वास्थ्य सामग्री ल्याइसक्नुपर्ने उल्लेख भए पनि समयमा सामान नआएको भन्दै सम्झौता रद्ध गरेको महानिर्देशक श्रेष्ठले जानकारी दिए ।
महानिर्देशक श्रेष्ठले उक्त समूहले आवश्यक सामग्री तोकिएको समयमा ल्याउन नसकेकाले सम्झौता रद्ध भएको बताए । ‘उहाँले समयमा किट ल्याउन सक्नु भएन । उहाँले १० प्रतिशतमात्र सामान ल्याउनुभयो’, श्रेष्ठले भने, ‘हाम्रो चाहना त्यत्ति मात्र थिएन ।’  विभागले सम्झौता रद्ध गर्दै ओम्नी समूहलाई कालो सूचीमा राखेकोसमते जानकारी दिएका छन् ।
सम्झौता रद्ध गर्दै विभागले ५ करोड रुपैयाँ धरौटी जफतको निर्णय गरेको छ । उक्त समूहसँगको सम्झौता रद्ध भएसँगै विभागले तीन दिनभित्र टेन्डर आह्वान गर्ने भएको छ । पत्रकार सम्मेलनमा बोल्दै महानिर्देशक श्रेष्ठले टेन्टर हाल्न सबैलाई आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->