शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नेपालमा कोरोनाको प्रभाव र सरकारको कमजोरी

नेपालमा कोरोनाको प्रभाव र सरकारको कमजोरी


  • विनोद विवश
  • चैत्र २३ २०७६, आइतबार

सन् २०१९ को मध्य डिसेम्बरमा छिमेकी राष्ट्र चीनको वुहान शहरमा ‘इपिसेन्टर’ पारेर कोरोना नामको भाइरसले विश्वभर नै पराकम्प छोडेको छ । अहिले सिंगो विश्व नै कोरोनाको रोकथामको लागि अनुसन्धान गरिरहेको छ । बैज्ञानिकहरु दिनरात नभनी यसको बारेमा खोजी गरिरहेका छन् तर पनि बिल्कुलै नयाँ रुपमा देखापरेको यो भाइरसको स्रोत र कारण पत्ता लाग्न नसक्दा यसको रोकथामका लागि गरिएका विभिन्न प्रयासहरु पनि असफल भइरहेका छन् । फलस्वरुप, दिनानुदिन विश्वमा यसको असर र मानिसहरुको मृत्युको संख्या बढ्दै गइरहेको छ ।
शरीरको तापक्रम बढ्ने, सुख्खा खोकी तथा शरिरीक थकान ऋयचयलब ख्ष्चगक म्ष्कभबकभ(द्दण्ज्ञढ ९ऋइख्क्ष्म्(ज्ञढ० का लक्षणहरु हुन् । विशेषगरी वृद्ध व्यक्तिहरु तथा उच्च रक्तचाप, मधुमेह, मुटुरोग, दमका विरामी र शरीरमा रोग प्रतिरोधात्मक शक्ति कम भएका मानिसहरुलाई यो भाइरसले धेरै समस्या निम्ताइरहेको देख्न सकिन्छ । कोभिड १९ कसरी सर्छ भन्ने कुरा पत्ता नलागिसके पनि सरसफाइमा विशेष ध्यान दिने, भिडभाडबाट जोगिने तथा रुघाखोकी लागेका व्यक्तिहरु सँगको प्रत्यक्ष सम्पर्कमा नहुनु नै अहिलेको लागि भाइरस फैलिन नदिने मुख्य आधार हो ।
चीनबाट शरु भएको कोरोना भाइरसले हाल इटालीमा सर्वाधिक प्रभाव पारेको छ । सँगसँगै स्पेन, संयुक्त राज्य अमेरिका, फ्रान्स, वेलायत, जर्मनी, इरान, दक्षिण कोरियामा यसको व्यापक प्रभाव परेको छ । हालसम्म विश्वभरी कोरोनाको कारणबाट ज्यान गुमाउनेको संख्या ५० हजारभन्दा बढी पुगिसेकेको छ भने ११ लाखभन्दा बढी मानिसहरु संक्रमित हुन पुगेका छन् । कोरोनाको उद्गमस्थल चीनले यसलाई रोक्न केही हदसम्म सफल भएपनि अमेरिका लगायतका देशहरुमा यसको प्रभाव बढ्दो छ ।
नेपालमा कोरोनाको इन्ट्री !
२०७६ साल माघ १० गते शुक्रबारका दिन नेपालमा कोरोना भाइरस भित्रिएको औपचारिक पुष्टिको घोषणा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ग¥यो । चीनबाट फर्किएका एक युवा दुई साताअघि ज्वरो आउने, श्वासप्रश्वासमा समस्या, लगातारको रुघाखोकी आदि लक्षणको कारण शहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुमा भर्ना भएका थिए । हुनतः हाल उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
हालसम्मको स्थिति
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । कतारको दोहा हुँदै फ्रान्सबाट नेपाल आएकी १९ वर्षिय किशोरी दोस्रो संक्रमित हुन् । भियतनामकी आफ्नी रुममेटलाई कोरोना संक्रमण भएको जानाकारी पाएपछि उनी जचाउँनका लागि टेकु अस्पताल पुगेकी थिइन् । उनको संक्रमण १० चैत्रमा पत्ता लागेको थियो । त्यस्तै ५ चैत्रमा दुबईबाट काठमाडौँ आएका स्थायी घर धादिङ भएका ३२ वर्षिय पुरुषमा पनि कोरोनाको संक्रमण देखिएको थियो । १२ चैत्रमा उनको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको थियो ।
७ चैत्रमा दुवईबाट नेपाल फर्केका ३४ वर्षिय युवकको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार गराइरहँदा शरीरमा कोरोना संक्रमण रहेको पुष्टि हुन पुग्यो । काठमाडौँ उपत्यका बाहिरबाट आएको यो नै पहिलो केस थियो । उनी नेपालमा कोरोनाका चौँथो संक्रमित व्यक्ति थिए । स्थायी घर बागलुङ भई बेल्जियमबाट कतार हुँदै काठमाडौँ फर्किएकी किशोरी नेपालमा कोरोना संक्रमित पाँचौ व्यक्ति हुन पुगिन् । ४ चैत्रमा बेल्जियमबाट आएकी अंशु सापकोटालाई १५ चैत्रमा कोरोनाको संक्रमण पुष्टि भएको थियो । फेरी सोही कतार एयरवेजको क्युआर ६५२ मै नेपाल आएकी वागलुङकै ६५ वर्षिय वृद्ध महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनायो । चैत्र २० गतेको यो पुष्टिसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ भने उक्त जहाजमा नेपाल आउने तीन
जनामा कोरोना भाइरस पुष्टि भइसकेको छ र सुदुर पश्चिममा थप ३ जनामा कोरोना भाइरस पुष्टि भइसकेकोछ ।
के सतर्कता अपनाइयो ?
छिमेकी राष्ट्र चीनमा कोरोनाले उग्र रुप लिइसकेपछि नेपालले पनि आफ्नो ठाउँबाट उच्च सतर्कता अपनाउनुपर्ने देखियो । चिनियाँ पर्यटकको आगमन र चीनमा पढ्न जाने विद्यार्थीहरुको संख्यात्मक वृद्धिले नेपालमा पनि कोरानाको जोखिम बढाएको थियो । नेपालको लागि एकातिर विमानस्थल आवागमनमा सतर्कता अपनाउनुपर्ने त छँदै थियो अर्काेतिर पहिले नै घोषणा गरिसकिएको ‘भिजिट नेपाल २०२०’ ओझेलमा पर्ने र विश्वसामु नराम्रो सन्देश जाने हो कि भन्ने चिन्ता पनि चुनौतीको रुपमा देखा प¥यो । यद्यपी हेल्थडेस्क तथा स्क्यानर राखेरै भएपनि विमानस्थल तथा चीनसँगका नाकाहरुमा सतर्कता अपनाइयो । होटल, ट्राभल तथा ट्रेकिङ एजेन्सीलाई पनि हाई अलर्ट गरिएको थियो भने नाकाहरुमा पूर्वसावधानी तथा सजगताका साथ कार्य गर्न निर्देशन दिइएको थियो ।
यस्तै नेपाल सरकारले धेरै भिडभाड नगर्न, बेलाबेला साबुनपानीले हात धुन तथा मास्क र स्यानिटाइजरको प्रयोग गर्नको लागि अनुरोध ग¥यो । अन्ततः कोरोनाका लक्षणहरु देखिन थालेपछि सरकारले संक्रमण रोग ऐन २०२० को दफा २ को अधिकार प्रयोग गरी एकसाताका लागि भन्दै चैत्र १८ गते बिहान ६ बजेसम्मको लागि देश नै लकडाउन गर्ने निर्णय ग¥यो । सरकारले यसअघि नै लामो दूरीका सवारीसाधन र अन्तराष्ट्रिय उडानमा रोक लगाइसकेको थियो । हाल लकडाउनलाई लम्बाएर चैत्र २५ गते मध्यरातसम्म पु¥याइएको छ ।
कालोबजारी तथा महंगीको मार
नेपालमा जब कोरोनाको लक्षण देखिन थाल्यो, तब कालोबजारी गर्न पल्केकाहरु तथा विचौलियाहरु सल्बलाउन थाले । फलस्वरुप नेपाली बजारमा मास्क तथा सेनिटाइजरको अभाव हुन थाल्यो । कालोबजारी गर्दे मास्कलाई पचास रुपैयाँदेखि पाँच सय रुपैयाँसम्म बेच्न थालियो । सेनिटाइजरको पनि उही किसिमबाट अभाव हुन थाल्यो । महामारीको असर विस्तारै खाद्यान तथा तरकारीमा पनि पर्न थाल्यो । हाल ग्यास सिलिन्डर त पाउनै गाह्रो भो भने तरकारीको मूल्य पनि तीन गुणा बढेको छ ।
खै जनताको व्यवस्थापन ?
आकस्मिक रुपमा गरिएको लकडाउनले जनताहरु अस्तव्यस्त बन्न पुगे । शहरमा भएका मानिसहरु भटाभट गाउँ जान थालेको हुनाले यातायातको अभाव हुन पुग्यो भने अन्तिम अवस्थामा आएर रोकिएको एस.इ.इ. परीक्षाले विद्यार्थीहरुलाई पनि नैराश्य बनाउन पुग्यो । छिमेकी देश भारतमा पनि कोरोनाले मानिसहरुको ज्यान लिएको हुनाले नेपालीहरु धमाधम घर फर्किन खोजेपनि सीमानाका बन्द हुनाले अलपत्र अवस्थामा परे । कोही नदी पौडी खेलेर आउन थाले भने कसैले नारा लगाउन थाले । यसमा पनि सरकारको कुटनीतिक पहलमा कमजोरी झल्किएको स्पष्ट देखियो । साथसाथै देश लकडाउन गरेपनि सरकारले पूर्णरुपमा यसको कार्यान्वयन गर्न सकेको देखिदैन ।
नाममात्रैको राहत घोषणा
जबजब नेपाल सरकारले राहतको घोषणा गर्छ, तब विचौलियाहरुलाई नै फाइदा पुगेको देखिन्छ । राजधानीमा घर, घाँटीमा सिक्री र हातमा सुनका बाला झुन्डाएर एक बोरा चामल बोक्न जाने व्यक्तिहरु धेरै भेटिन्छन् । अहिले त झन् स्थानीय सरकार धेरै भएको हुनाले विचौलियाहरु झन् बढेको प्रष्ट देख्न सकिन्छ । विहान बेलुका ज्यालामजदूरीको काम गरेर दैनिक गुजारा गर्न नपाएका मान्छेहरु भोकले छट्पटाइरहँदा धनीहरुलाई पोस्ने राहत नाममात्रैको राहत कार्यक्रम बन्न पुगेको छ । हुन त विभिन्न बाढीपहिरोका राहतहरु तथा भुकम्पका राहतहरु पनि पाउनुपर्ने वर्गले कहाँ पाउन सक्यो र !
मन्त्री नै भ्रष्टाचारी ?
दुई तिहाईको दम्भमा उभिएको वर्तमान सरकारका मन्त्रिहरु आआफ्नो ठाउँबाट भ्रष्टाचार गर्न माहिर छन् भन्ने कुरा प्रमाणित गरिसकेका छन् । महामारीको यस्तो अवस्थामा पनि मेडिकल सामाग्री खरिदमा अनियमितताको प्रश्न उठिरहेको छ । मूल्यभन्दा चार गुणा बढी मूल्यमा मेडिकल सामाग्री खरिद गर्ने निर्णय गरेको हुनाले स्वास्थ्यमन्त्री विरुद्ध अख्तियारमा उजुरीसमेत परिसकेको छ । यसअघि नै पूर्वसञ्चारमन्त्रीले पनि घुसको वार्गेनिङ गर्दै गरेको अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिएका थिए । अहिलेका स्वास्थ्यमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिने कि नदिने ? अर्काेतिर डाक्टरको लागि खरिद गरेका पिपिइसमेत जनप्रतिनिधिहरुले प्रयोग गरेका छन् । यस्तो चरम लापरवाही कहिले सम्म ?
अन्त्यमा,
नेपालमा कोरोना परीक्षणको दायरा बढाउन चौतर्फी दबाब बढिरहेको छ । अहिले प्रत्येक प्रदेशबाट परीक्षण गर्न शुरु गरिएको कारण अब अलिक सजिलो हुने देखिएको छ । जनताहरु पनि सरकारले गरेको लकडाउनलाई आफ्नो लागि हो भन्ने भावनासाथ घरभित्रै बस्न जरुरी देखिन्छ । कोरोनाको रोकथामको लागि कुनै औषधि तथा विशेष खोप पत्ता नलागिसकेको हुनाले सरसफाईमा ध्यान दिँदै बाहिर ननिस्किनु नै उत्तम हुन्छ । अनियमितता रोक्दै राहत कार्यक्रम प्रभावकारी भए नभएको अनुगमन गरेर नीति नियम र जनचेतनाद्वारा आफ्ना जनताहरुको रक्षा गर्नु नै अहिले सरकारको प्रमुख कार्य हो ।

srbinod@gmail.com

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->