शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

धमाधम हुँदैछ बागलुङमा राहत वितरण, श्रमिक खुशी !

धमाधम हुँदैछ बागलुङमा राहत वितरण, श्रमिक खुशी !

बाहिरबाट आएका श्रमिकले अझै पाएनन् राहत


  • ढोरपाटन संवाददाता
  • चैत्र २४ २०७६, सोमबार

बागलुङ, २४ चैत – कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न सरकारले लकडाउन घोषणा गरेपछि हातमुखको जोहो गर्न मुश्किल भएका ज्याला मजदुरी गर्ने र विपन्नलाई राहत वितरण गर्न स्थानीय तहले सक्रियता देखाएका छन् । सुरुमा अलमलमा रहेका स्थानीय सरकार यतिवेला भने कार्यविधी बनाएरै राहत वितरणमा जुटेका छन् ।
बागलुङ नगरपालिकाले वडा तहबाटै राहत वितरण सुरु गरेको छ । बागलुङ नगरपालिका वडा नं. २ ले रुद्रपिपल क्षेत्रमा वसोवास गर्ने ज्याला मजदुरीका आधारमा जिविकोपार्जन गर्दै आएका १ सय ८५ घर परिवारलाई आइतवार राहत वितरण गरेको छ ।
पहिलो चरणमा वडा कार्यालयमा दर्ता भएका घरपरिवार मध्ये खास समस्यामा रहेका परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको वडा सदस्य अर्जुन घिमिरेले वताए । उनीहरुलाई दुई किसिमको राहत प्याकेज बनाएर वितरण गरिएको छ । पहिलो प्याकेजमा एक जनामात्रै हुने परिवारलाई प्रति परिवार चामल ५ केजी, दाल १ केजी, नून १ पोका, तेल १ पोका र हात धुने सावुन १ वटा वितरण गरिएको छ । दोस्रो प्याकेज दुईभन्दा वढि सदस्य रहेको परिवारलाई प्रति परिवार चामल १० केजी, दाल २ केजी, नुन १ पोका, तेल १ लिटर र साबुन १ वटा प्रदान गरिएको छ ।
वडासदस्य घिमिरे, सदस्य सुरज बोसेल, अनिता केसी बस्याल र वडासचिव गंगा शर्माले प्रभावितको घरघर र वास्थानमा नै पुगेर राहत वितरण गरेका हुन् । पहिलो दिन रुद्रेपिपल, श्रीनगरटोल र बिच बजारमा वितरण गरिएको र बाँकी क्षेत्रकालाई क्रमश वितरण गरिने वडासदस्य घिमिरेले वताए ।
ज्याला मजदुरी गर्ने र विपन्न भएपनि नेपाल सरकारबाट पेन्सन वा कुनै किसिमका सुविधा लिइरहेका ब्यक्तिलाई भने यो राहत वितरण गरिएको छैन् । वडा कार्यालयले राहतका लागि आवश्यक सहयोग गर्न सवैसंग आग्रह गरेको छ । इच्छुक संघसंस्था र ब्यक्तिलाई वडा कार्यालय मार्फत वितरण गर्न पनि वडाको अनुरोध छ ।
वडा तहबाट राहत वितरण भइरहँहा धेरै मजदुर खुशी भएका छन् । तर कतिपय मजदुरले राहत नपाएको गुनासो पनि गरेका छन् । बागलुङ–३ वसोवास गर्ने मजदुर भरत यादवले हालसम्म आफुले कुनै किसिमको राहत नपाएको गुनासो गरे । मजस्ता धेरै श्रमिकहरुले राहत पाएका छैनन्, उनले ढोरपाटनसंग भने, ‘परिचय पत्र र नागरिकता जस्ता कागज चाहिने बहाना देखाएर हामीलाई राहत दिइएको छैन् ।’ उनी नगरपालिकाका मतदाता हुन् ।
लामो समयदेखि यही नगरमा वसोवास गरेको भएपनि उनीहरुको नागरिकता बाहिरको भएकोले राहत नपाएको उनीहरुको गुनासो छ । वडाका जनप्रतिनिधिलाई अनुरोध गर्दा सचिव देखाउने र सचिवले कागजात नमिलेको भन्दै पठाउने गरेका छन् । बास्तविक मजदुरले त राहत पाएका छैनन् नि भन्ने प्रश्नमा नगरप्रमुख जनकराज पौडेलले वडातहबाट वितरण भइरहेको र आफुसंग त्यस्तो कुनै गुनासो नआएको वताए ।
राहतबाट बानपा-९ तित्याङका ३९८ जना लाभन्वित
नगरपालकाको वडा नं. ९ तित्याङमा पनि श्रमिक र बिपन्नलाई राहत वितरण गरिएको छ । पहिलोचरणको राहत आइतवार वितरण गरिएको वडा अध्यक्ष गणेश थापाले वताए । पहिलो चरणमा आफ्ना वडाका १ सय १ परिवारलाई वितरण गरिएको हो । वडाको राहत वितरणबाट १०१ परिवारका ३ सय ९८ जना प्रत्यक्षरुपमा लाभन्वित भएको वडाध्यक्ष थापाले वताए ।
बानपा-१० भकुण्डे १८१ परिवारलाई राहत
नगरपालकाको वडा नं. १० भकुण्डमा १ सय ८१ परिवारलाई राहत वितरण गरिएको छ । कार्यवाहक अध्यक्ष सिता थापाले आईतवार उनीहरुलाई राहत वितरण गरिएको वताईन । त्यहाँ पनि दुई किसिमका प्याकेज बनाएर वितरण गरिएको छ ।
२ जनाको परिवारलाई साढे १२ केजी चामल, तेल १ पोका, नून १ पोका, चना १ केजी र सावुन १ वटा वितरण गरिएको छ । दुईभन्दा वढि सदस्य रहेका परिवारलाई चामल २५ केजी, तेल २ पोका, नून २ पोका, चना १ केजी र सावुन १ वटा वितरण गरिएको भकुण्डेबाट पत्रकार उमाकान्त शर्माले वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->