आज एउटा गाली खानुपर्ने कुरो उठाउँ है त मित्रहरु !
आविष्कार केन्द्रबाट निर्माण भएको पीपीइ (PPE) को विषयमा दिलनिशानी मगर र महावीरजीबिच दोहोरी चल्यो ! दुई मगरबन्धुहरु बिच चलेको सम्वाद विवादबाट हाम्रो समाज निरपेक्ष रहन सकेको देखिएन, विवेकशील पनि देखिएन । अर्थात हामी सबै दिल निशानीमाथी खनियौं । हो, दिलनिशानीको कुरो उठाउने शैली ठिक थिएन तर उठाएको विषय विल्कुल सही थियो ।
किनकी,
१. कोरोना मान्छेबाट मान्छेमा सर्ने रोग हो ।
२. स्वास्थकर्मीहरु पनि मानिस नै हुन । स्वास्थ्यकर्मी सुरक्षित भएनन भने कोरोना संक्रमणको सबभन्दा ठूलो श्रोत उनीहरु नै हुनसक्छन । अर्थात स्वास्थ्यकर्मीहरु कम्युनिटीमा रोग संक्रमण गराउने सबभन्दा ठूलो र डरलाग्दो कारण बन्ने छन ।
३. आविष्कार केन्द्रले निर्माण गरेको पीपीइ तिनै स्वास्थ्यकर्मीहरु कोरोनाबाट संक्रमित नहोउन भनेर प्रयोग गरिने हो । अर्थात पीपीइ प्रयोग गर्नुको अर्थ स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमित हुन नपाओस भनेर हो ।
४. पीपीइ सामान्य गाउन होइन । त्यसमा संक्रमण रोक्ने क्षमता हुनुपर्छ ।
५.पीपीइमा भाइरस प्रतिरोधक क्षमता छ कि छैन भनेर जाँच्ने प्रविधि नेपालमा छैन ।
६. WHO ले भाइरस प्रतिरोधक क्षमताको परीक्षण नगरिकन पीपीइको प्रयोग नगर भन्छ ।
७. आविष्कार केन्द्रबाट उत्पादित पीपीइ भाइरस प्रतिरोधि हुन पनि सक्छ, नहुन पनि सक्छ ।
८. यदी आविष्कार केन्द्रबाट उत्पादित पीपीइमा प्रतिरोधि क्षमता रहेनछ भने त्यसको परिणाम के हुन्छ ?
९. स्वास्थ्यकर्मीहरु भाइरस संक्रमित हुनेछन र तिनले हजारौं मानिसहरुमा संक्रमण फैलाउनेछन ।
१०. त्यस अर्थमा असल कामको विरोध गर्ने बहुला ठानिएका दिलनिशानिको कुरो ठिक कि, देशमा पीपीइको परीक्षण गर्ने क्षमता छैन भन्ने जान्दाजान्दै पीपीइ उत्पादन गर्ने आविष्कार केन्द्र गलत ?
११. भाइरस प्रतिरोधि क्षमता नभएको पीपीइका कारणले सम्भावित क्षति यथार्थमा परिणत भयो भने त्यसको जिम्मेवार को ?
१२. अवश्य, अपरीक्षित पीपीई प्रयोग गर्न दिने सरकार, त्यो पीपीइ प्रयोग गर्ने स्वास्थ्यकर्मी र त्यसका निर्माता नै त्यस्तो सम्भावित क्षतिको जिम्मेवार हुनेछन ।
१३.नेपालको सन्दर्भमा के भन्न सकिन्छ भने संक्रमित हुनेहरुको ज्यान त जाने छ । कसैले पनि त्यसको जिम्मेवारी लिनेछैन ।
१४. दिल निशानी मगरको गम्भीर कुरोलाई नबुझेर उल्टै निन्दा गालीमा उत्रने हामी नेपालीहरु पीपीइको माग गर्ने डाक्टरहरुको लाइसेन्स खारेज गर्ने धम्की दिने सरकार भन्दा कम अविवेकी कसरी भयौं र ?
१५. स्वास्थ्यमन्त्रीजीले भनेजस्तै भाइरस प्रतिरोधि क्षमता प्रमाणित नभएको पीपीइ भान्सामा प्रयोग गर्न मात्रै सुरक्षित हुने हो । अस्पतालको लागि उपयोगी हुन सक्दैन ।
आविष्कार केन्द्रले उत्पादन गरेको पीपीइ प्रयोग गरेर विरामीको परीक्षण गर्नु भनेको क्षयको विरामीलाई ढ्याङ्ग्रो ठोकेर झाँक्रीले गर्नेजस्तै मनोवैज्ञानिक उपचार जस्तो मात्र हो । त्यसबाट संक्रमण नियन्त्रण होइन, विस्तार हुनेछ । त्यस्तो हुदैन भनेर आविष्कार केन्द्रले जिम्मा लिन सक्छ ?
अवश्य सक्तैन । सक्ने कुरै होइन ।
नियत असल भएर मात्र हुदैन, कामको परिणाम असल हुनुपर्छ । महत्वपूर्ण कुरा त्यो पो हो । त्यसैले त्यो मामलामा दिलनिशानीको पक्षमा उभिनु उपयुक्त हो भनिठान्छु । खेलाँची गर्ने विषय यो होइन ।





