कोरोना भाइरस (कोभिड–१९) को महामारी चीनको हुवेई प्रान्तबाट डिसेम्बर २०१९ मा सुरु भएको थियो । आजसम्म विश्वका २०० भन्दा बढी देशमा फैलिईसकेको छभने यसबाट मृत्यु हुनेको संख्या करिब ७० हजार नाघिसकेको छ । म एउटा स्वास्थ्यकर्मी भएको नाताले कोरोना भाइरस सर्ने र फैलने तथा मृत्युदर थाहा पाउँदै गर्दा मरिहालिन्छ जस्तो मनले नमान्दोरहेछ । हुनतः म पेशामा नै संलग्न छु, मैले काम गरिरहेको धौलागिरी अन्चल अस्पतालमा कोभिड–१९ का दुई जना बिरामीको अहिले उपचार चलिरहेको छ । जब देशमा कोरोना भाइरसका बिरामी पत्ता लाग्न थाले त्यसबेला मेरो आमा श्वासप्रश्वासको दीर्घ रोगी रहेको र उहाँ मैले काम गरिरहेको अस्पतालमा भर्ना गरि चैत ३ गते राखेका थियौं । तर सरकारले एक्कासी विद्यालय बन्द ग¥यो अनि देशभर कोरोना भाइरस सम्बन्धि सचेतनामूलक कार्यक्रम गर्न थाल्यो । विभिन्न दीर्घ रोगीहरु जोखिममा हुन्छन् भनेपछि ५ गते नै मेरी आमालाई गाँउको घरमा पठाइयो । किनकी कोरोना संक्रमणको जोखिम बढेसँगै अस्पतालमा दीर्घ रोगी बिरामी आउने संभावना थियो ।
हुनतः मेरो घरमा श्रीमती पनि स्वास्थ्यकर्मी नै भएकोले रेखदेख गर्न सजिलो होला भनेर पठाए, तर पछि जब हामीले १३ गते अस्पतालमा संक्रमितलाई भर्ना गरियो अनि मेरो मनमा झनै परिवारको खाँचो महसूस हुन थाल्यो । घरमा जाउँ भने आमा दिर्घरोगी हुनुहुन्छ नजाऊ मनले पटक्कै मान्दैन । यता, घरमा हामी दुई जना स्वास्थ्यकर्मीसंगै बस्थ्यौ डिल्ली प्रसाद आचार्य र म । उहाँ नगर स्वास्थ्य शाखामा कार्यरत हुनुहुन्छ । हामी दुवैको घरमा दीर्घ स्वास्थ्य समस्या भएका आमाहरु हुनुहुन्छ । हामी दुइबीच अफिसमा सल्लाह भयो, घर त जाने तर कसरी ? हामीले निष्कर्ष निकाल्यौ, दिउँसो कसैसंग नछोई दुरी कम गरि भेटेर आउने निधो भयो । र, सोही दिन घर पुगियो, घरपरिवारसंग भेटघाट गरि सोही दिन फर्कियो ।
स्वास्थ्यकर्मीले सुरक्षा सामग्री प्रयोग गरि बिरामीको सेवा गर्ने भनिए पनि सुरक्षा सामाग्री (पिपिई) नआईपुगेकाले मैले बहु–औषधि प्रतिरोध (MDR_)र टीबीका बिरामीको सम्पर्कमा दैनिक रुपमा उपस्थित भई उपचार गरिरहेको छु । धौलागिरी अन्चल अस्पतालमा रहेको RRT मा समेत सदस्य भई काम तथा टिमलाई सहयोग गर्ने काम निरन्तर चलिरहेको छ । जतिबेला पनि अस्पताल जानुपर्ने, कोरोना भाइरसले महामारीले जटिल रूप लिँदै जाँदा त्यसको व्यवस्थापनमा खटिनुपर्ने हामी स्वास्थ्यकर्मीहरू । हामीले जिम्मेवारी बहन गर्दै जाँदा कोरोनाको दोस्रो संक्रमित थपिएपछि झनै कहरको अनुभूति भयो । आफु स्थानीय र धेरै जनासंग चिनपर्चा भएकोले सामाजिक संजाल तथा सेलफोनमा धेरै जनाले सुरक्षित हुनु भनेर सहानुभूति प्रकट गरिरहनु भएको छ । शुभचिन्तकहरुले त्यसो भनिरहँदा एक मनले परिवारको सम्झना बढाउँथ्यो । तर, मन केहीगरि मान्दैन, सोच्छु– ‘पेशा नै धर्म हो, आपतमा आफ्नो धर्मबाट बिमुख हुनु के–को मानवीयता ? अनि संकल्प गरे– ‘कर्तव्यपालनाको’ । यस्तो कठिन परिस्थितिमा अरु समयभन्दा सक्रिय भएर काममा खटिनुपर्छ भनी दिलोज्यान दिएको छु ।
अस्पताल परिवार, मेडिकल टिम, नर्सहरु तथा अन्य कर्मचारीहरु एकजुट भै काममा लागेका छौ । सरकारले घरमै बस, साबुन–पानीले मिचीमिची हात धोऔँ भन्दै प्रचार गरिरहेको छ, सुरक्षाकर्मी समेत प्रचार प्रसारको लागि हिँडिरहेका छन् तर बजारमा घुमन्तेहरुको भीड देख्दा अचम्म लाग्छ । हामी स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बाध्यताले हिँडेका छौँ । अबुझहरु रहरले घुमेका छन् । चैत २३ गते आइतबार त प्रहरीले नै समातेर लैजानुपर्ने स्थिती आयो, ए हजूर यस्तो किन ? लकडाउन हामी सबैका लागि हो भन्ने कुरा बुझ्न जरुरी छ । स्वास्थ्यकर्मीहरु आफु सुरक्षित भई अरुलाई बचाउन लागिरहेका छौँ । साथै, यो समयमा विभिन्न संचारमाध्यमका संचारकर्मीहरु समेत सक्रिय भएर लागिरहेका छन् । दैनिकजसो कन्सलटेन्ट डाक्टर, नर्स अन्य स्वास्थ्यकर्मीले कोभिड–१९ बारे भएका नयाँ–नयाँ खोजको बारेमा छलफल गरिरहँदा अझै खुसी लाग्छ । यस्ता छलफलले हामीलाई कोरोना भाइरसविरुद्व अगाडी बढ्न थप हौसला र उर्जा दिएको छ । घरमा जान नपाए पनि परिवारको हालखबर फोन तथा भिडियो कलमार्फत अपडेट भईरहेको छ । आशा छ, यो समयमा मेरा छिमेकीहरुले देखाएको सद्भाव, मोटरसाइकल चलाएर अस्पताल जाँदै गर्दा खाजा–खाना भनी सहयोग गरिरहनु भएको छ । आगामी दिन पनि यसैगरी सहज रूपले बित्ने छन् । संक्रमितको संख्या नबढोस् र कसैको पनि ज्यान नजाओस् भन्दै लकडाउनको पालना गर्न सबैलाई आग्रह गर्दछु ।
धौलागिरी अन्चल अस्पतालमा समेत थप सेवासुबिधा थपिने खबर सुन्दा हामी धौलागिरीको लागि अवसर र खुसी मिलेजस्तो लाग्छ र पुलकित हुन्छु । अस्पतालको व्यवस्थापन टीम, कर्मचारी र स्वास्थ्यकर्मीको लगनशीलताले भविष्यमा राम्रै होला भन्ने आशा पलाएको छ । अहिले जथाभावी र अनाश्यक रुपमा पिपिईएको प्रयोग भएको पाईएको छ, पछि कहिँ केही भैहाल्यो भने आवश्यक पर्छ भन्ने सबैले मनन् गरौं । कोरोनाको यो विपत घडीमा यसको सदुपयोग हुन जरुरी छ । कोरोना भाइरस संक्रमितको संख्या बढ्न पनि सक्छ, त्यसैले जनप्रतिनिधि, समाजसेवी, पत्रकार तथा सरकारको पनि ध्यान जान जरुरी छ । कोरोनाको सन्त्रास फैलिएको अवस्थामा राहत वितरणको व्यवस्थापन राम्रो हुन पनि जरुरी छ । राहत वितरणका फोटाहरु सामाजिक संजालमा भाइरल बनाउनु जरुरी छैन । कोरोना भाइरसको महामारीको बेलामा लकडाउनको पूर्णपालना गर्दै संचारमाध्यममार्फत जारी गरिएका सूचनाको पालना गरेर उच्च मनोबलको साथ सबै सजग बनौ ।
(धौलागिरी अंचल अस्पतालमा कार्यरत घिमिरे क्षयकुष्ठ सुपरभाइजर हुन् ।)





