आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

महाकालीमा हाम फाल्नेको देश खोई ?

महाकालीमा हाम फाल्नेको देश खोई ?


  • कृष्ण प्रसाद शर्मा
  • चैत्र २५ २०७६, मंगलबार

हामीले पढ्दा नेपाल जलश्रोतको धनी देश हो, बिकासको सम्भावना बोकेको देश हो भनेर पढेको हो । हाम्रा गुरुले त्यही पढे, हाम्रा छोराहरू त्यही पढ्दैछन् । सरकार फेरिए पाठ्यक्रम फेरिएन किनकी सम्भावना अझै बाँकी छ भनेर भोटको राजनीति गर्नुछ । यस्तै हजुबाले (बटौली–बुटवल)को नुन बोकेर जवानी फाल्नु भयो, बाले भारतमा चौकीदार गरेर जवानी फाल्नु भयो, दाईले खाडीमा र अलि लगानी गर्न सक्ने अमेरिका, बेलायत जस्ता विकसित देशमा । यो धेरै जसोको भोगाई हो । अझ बिकसित मुलुकमा थ्री डीको काम गर्न जान पाउनु भाग्यको खेल भनेर बसेका हामी भाग्यबादी कति छौं कति । डिभी परेपछि मन्त्रालयका सचिवले त जागिर लात हानेर हिड्छ भने एउटा बेरोजगारले डिभी पर्दा सात गाउँ हल्ला अझै हुँदैछ । यो पृष्ठभुमी बाध्नुको कारण हाम्रो जरो के हो भनेर भन्दैछु ।
यो देशका कति मान्छेले रेमिट्यान्स पठाउँथे होला खाडी र बिकसित देशबाट कि हाम्रा बा’हरूले भारतबाट मनिअडर गर्दा । केवल हातमा गन्ने । सुदुरपश्चिमका मान्छे बर्षको दुई पटक भारत पुग्छन् आज पनि धान रोपेपछि र धान काटेर गहुँ छरेपछि । अझै नेपालका अधिकतम मान्छे जो सांच्चै भुईंमान्छे हुन् उनीहरूको मजदुरीको पहिलो गन्तब्य भारत हो । नेपालका पुराना मठ मन्दिरको सहयोगको बई हेर्ने हो भने भारतमा किर्तन गरेर, भईली खेलेर, देउसी खेलेर बनाएको पाउन सकिन्छ । अहिलेजस्तो एक्कै पटक पलाएर स्कुलको नामै आफ्ना बाउबाजेको नाममा बनाउने न धन थियो न त्यसरी पलाउने कुनै राजनैतिक रासायनिक मल थियो
राज्यले पनि लाहुरे भनेर चिन्ने भारतका लाहुरे थिए । ईष्टइन्डियाले लाहुरे बनाएर नेपालीलाई लैजान पहिला घरका छानाका रङ फेर्ने रकम होस् वा रेडियोको लाईसेन्स देखाउने होस् भारतमा काम गर्ने नेपाली नै थिए । २०४७ सालको परिवर्तनपछि बा’हरू गए झै छोराहरू खाडी जान थाले । अलिकति जीवनस्तर फरक भयो त्यो पनि सबै खाडीमा जान आजको दिनमा सम्भव नभएका चरम गरीबी छ ।
पहाडमा कुनै रोग आए तराई झर्ने, तराईमा कुनै रोग आए पहाड चढ्ने नेपालीको भावनात्मक सम्बन्ध छभने कोरोनाका कारण यस्तो भए ठाउँ सर्ने होईन जहाँको त्यहीँ बस्ने खालको लकडाउनको परिस्थिति आयो । यो बसाई सर्ने बेला होईन तर त्यो लकडाउनमा पनि मान्छेको स्तर हेरेर राज्यले व्यवाहार गर्न भने कदापी मिल्दैन । तर यस्तै भयो । हुथ्यो, भईरहेको छ । ईटालीमा कोरोनाका कारण लकडाउन भयो त्यहाँका मानवअधिकारबादीले लकडाउन गर्दा हिड्न पाउने अधिकार बन्चित आदीइत्यादी कुरा गर्थे तर आज इटालीमा कोरोनाका कारण मान्छेको मृत्यु अकल्पनिय हुँदै गएको छ । अहिले मानवअधिकारबादी कता पुगे थाहा भएन ।
ठ्याक्कै नेपालमा पनि त्यहीँ भयो । जब कोरोनाको सन्त्रास चीनमा बढ्यो । नेपालका मानवअधिकारबादी र सबै शहरीया बुद्धिजीवीले एकमुख भएर भने सबै देशले आफ्ना नागरिक लाँदैछ नेपालले के हेर्देछ ? त्यसपछि नेपालले चीनमा भएका नेपालीलाई ल्यायो । अहिले भारतबाट नेपाल आएका मजदुर भने नाकामा थुनिएका छन् । ‘नेपाल ने मु मोड फिरभी भारत ने साथ दिया’ भन्ने भारतका अखबारमा नेपालीहरू गाउँमा जन्ती जाँदा जसरी बारीका गरामा बसेर खान्छन् हो त्यहीँ पाराको खुवाई भारतका टेलिभिजनमा देखिएको छ । उनीहरूले नाकामा आएर नारा जुलुस गरे किनभन्दा घर आउन देउ भनेर । उनीहरूले चीनबाट ल्याउँदाझै प्लेट चार्टर गर्न भनेका थिएनन् केवल नाका खोल्न मात्र भनेका थिए । त्यो आजसम्म भएको छैन । सुत्केरी महिलादेखी वृद्ध असक्तहरू समेत नाकामा छन् । तिनीहरू भारतीय स्कुल, कलेज र सैनिक व्यारेजमा छन् तर यहाँको शहरीया बुद्धिजीवी बोलेका छैनन् । चीनमा भएका डाक्टर पढ्न गएका थिए ति खास गरेर अलिकति पुँजी भएका परिवारका थिए, तिनका आफन्तको बोली बिक्ने थियो र सबैले सुने तर ति भारतका श्रमिक तिनको बोली बिक्ने कुरा भएन । तिनीहरुको आफन्तहरू बोली बिक्ने ठाउँमा पनि भएनन् र आजसम्म नाकामै छन् ।
देशमा जातीय कुरा गर्छन् तर खासमा देश बर्गका आधारमा विभाजित छ । भारतमा जाने ति मजदुर अहिलेका न चन्द्र ढकाल हुन्, न सुमार्गी हुन्, न मिन बहादुर हुन् । ति केवल माटोमा उठेका माटैमा बिलाउने भुईँमान्छे न हुन् । यिनको लागि कोही बोल्ने कुरा भएन । केही दिनअघि बैतडीका एक मजदुर प्राणको प्रवाह नगरी महाकालीमा पौडेर वारी आए । उनी नाका बन्दका कारण नाकामै धेरै दिन बसे । अति भएपछि महाकालीमा पसेर नेपाल आए । तर वारी आईपुग्दा नेपाल प्रहरीले समातेर उनले लगाएको अण्डरवयरसहित बजार डुलाएको तस्विर आयो । नेपाल प्रहरीले पनि एउटा सामान्य नागरिक भएकै कारण उनलाई यसरी अपमान गर्यो । ठूलाबढालाई पक्राउ गर्दा के यहिँ हालतमा सामात्न सक्छ नेपाल प्रहरीले ? सक्दैन किन कि आज समातिएका राजनैतिक ठूला मान्छेहरू भोली कति बेला कुन ठूला पदमा पुग्छन् पत्तै हुँदन र भोली सलामी दिनुपर्ने हुन्छ । ति महाकाली पौडेर वारी आउने भोली ठूलो पदमा पुग्ने होईन बरु फेरी त्यहिँ महाकालीमा गरीबीका कारण बरु हाम फाल्ने हुन् ।
करीब तीन महिना पहिला एक दम्पतीले त्रिशुलीमा हाम फालेका थिए गरीबीका कारण । देशमा भएका नदी नाला दलालहरूलाई आफ्ना नाममा बनाएका छन् । तर तिनै किनारमा ढुङगा कुट्ने र त्यहिँ नदीमा हाम फाल्न पर्ने स्थिती छ । दुई दिन पहिला अष्टेलियाका प्रधानमन्त्री पर्यटक र अन्तराष्ट्रिय विद्यार्थीलाई आफ्नो देश जाउ भने भनेर ठूला मिडियाका पहिलो पृष्ठमा आए । कतिपय ठुला मिडिया भिडियो कन्फ्रेन्स समेत गरीसके अष्ट्रेलियामा बस्नेहरूसँग तर भारतको नाकामा थुनिएकाहरूबारे त्यति चासो देखिएन कारण यसमा पनि बर्गकै कुरा छ । अष्ट्रेलियाबाट अब प्लेन चार्ट गरेर भए पनि ल्याउनु पर्छ भन्ने आवाज पनि उठ्ला । सके ल्याउँदा हुन्छ आफ्नै नागरिक हुन् कुनै विरोध छैन । बेलायतले नेपालमा रहेका बेलायती नागरिकलाई लैजान तयारी गर्दैछ । त्यो राज्यको दायित्व हो तर नागरिकबीच भेदभाव हुनु अस्वभनीय हो । भारतको नाकामा भएकालाई किन ल्याईएको छैन भन्योभने यता भएका भारतीय नागरिकलाई नेपालले र भारत भएका नेपाली नागरिकलाई भारतले क्वारेन्टाईनमा राख्ने सम्झौता भएको हो भन्ने अति औपचारिक जवाफ आउँछ । तर त्यस्तो सम्झौता भएको छैन । यदि भएको भए भारतीय मिडियाका शीर्षकले मन चस्काउनु पर्ने थिएन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->