आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

कोभिड–१९ सँग बहादुरी होइन, सावधानी अपनाऔं

कोभिड–१९ सँग बहादुरी होइन, सावधानी अपनाऔं


  • प्रकाश घर्ति मगर
  • चैत्र २७ २०७६, बिहिबार

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस सन् २०१९ डिसेम्बरमा चिनको वुहान शहरबाट संक्रमणको रुपमा पहिलोपटक देखा पर्यो । यस भाइरसबाट लाग्ने रोगको नाम विश्व स्वास्थ्य संगठनले कोभिड–१९ राखेको छ । आजको दिनसम्म आइपुग्दा यो भाइरसको प्रकोप चिन, इटाली, फ्रान्स, स्पेन, अमेरिकाहुँदै विश्वका २०५ भन्दा बढी देशहरुमा फैलिसकेको छ र ८८ हजारभन्दा धेरै मानिसको ज्यान लिइसकेको छभने १४ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । यो संक्रमणको प्रकोप कहिलेसम्म रहनेछ, आजको मितिसम्म अझै भन्न सक्ने स्थिती छैन ।
विश्व मानव जातिका लागि यस संक्रमणले पारेको प्रभाव र संकटलाई सामना गर्न हजारौं प्रश्नचिन्ह खडा भएका छन् । मानव जातिको रक्षा र कोरोना भाइरस संक्रमणको प्रकोप महामारी न्युनिकरण गर्नका लागी विश्वव्यापी रुपमा लकडाउनको स्थिती बनेको कुरा सबैमा सर्वविदित नै छ । यसको प्रभाव प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा नेपालमा पनि परिरहेको छ र नेपाल सराकारले २०७६ चैत ११ गतेबाट देशैभरि लागु हुनेगरी लकडाउन घोषणा गरेको छ । अत्यावश्यक काम र सेवाबाहेक अन्य सबै कामहरु ठप्प अवस्थामा छन् । यसबाट उत्पन्न हुनसक्ने सम्भावित जोखिम र संक्रमण न्युनिकरणको लागि संघिय, प्रदेश र स्थानीय सरकारहरु आवश्यक तयारीमा जुटिरहेको अवस्था विद्यमान छ । आवश्यक उपकरण र औषधी व्यवस्थापन र विरामीलाई राख्ने आवश्यक स्थानहरु क्वारेन्टाइन र आईसोलेसन वार्डहरुको व्यवस्थाका लागि कामहरु युद्वस्तरमा संचालन भइरहेका छन् ।
यस सन्दर्भमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) लाई रोकथाम तथा जोखिम न्युनिकरण गर्नका लागि तिनै तहमा सरकारले गरेका कार्ययोजनालाई आम नागरिकले इमान्दारितापुर्वक सावधानी अपनाउन र आफ्नो आनीबानीमा सुधार गर्न आवश्यक देखिन्छ । किनभने अनुशासन र नियमको हामी सबैले पुर्ण रुपमा पालना गर्नसके जस्तोसुकै चुनौतीको पनि सामना गर्न सकिन्छ भन्ने कुरा आजको विभिन्न घटनाटक्रमले पुष्टी गरिसकेको छ ।
कोभिड १९ प्रकोपले हामी र हाम्रो समाजलाई पार्न सक्ने असरहरुः
१. यस प्रकोपले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा आर्थिक क्रियाकलापमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर पार्न सक्छ ।
२. मानिसहरुमा मनोबैज्ञानिक असर पर्न सक्छ ।
३. सचेततापुर्वक सकरात्मक सोच जनचेतनाको लागि आम नागरिकमा फैलाउन नसके संक्रमित व्यक्तिप्रति अनावश्यक नकरात्मक दृष्टिकोण बढ्न सक्ने हुनाले ती व्यक्तिहरुमा हौसलाभन्दा मनोवल घटि संक्रमित व्यक्तिहरुमा एक्लोपना र निराशाको महसुस हुन सक्छ ।
४. दैनिक खाद्य तथा उपभोग्य बस्तुहरुको अभाव हुनसक्छ ।
५. कालोबजारी बढ्न सक्ने सम्भावना बढी हुन्छ ।
कोभिड–१९ बाट बच्न र लकडाउनको बेला ध्यान दिनुपर्ने कुराहरु
१. राम्रोसँग साबुनपानीले हात धुने, हात धुन सम्भावना नभए सेनिटाइजरको प्रयोग गर्ने ।
२. २ मिटरको दुरीमा सामाजिक दुरी कायम गर्ने, सकेसम्म बाहिर हिड्डुल नगर्ने र गर्नै परेमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने ।
३. उच्चमनोबल, आत्मविश्वास र सामाजिक भावनाको विकास गर्ने ।
४. विदेशबाट आगमन गर्दा अनिवार्य रुपमा सम्बन्धित ठाउँमा जानकारी गराउने, सरकारले स्थापना गरेको क्वारेन्टाईनमा निश्चित समयका लागि बस्ने, आफु पनि बचौ र अरुलाई पनी बचाउँ भन्ने अभियानमा दृढतापुर्बक साथ र सहयोग गर्ने ।
५. समय सदुपयोगका लागि भन्दै जुवातास नखेल्ने र भिडभाड हुने वातावरण नबनाउने ।
६. सम्भव भएसम्म चरा, मुसा, बिरालो, कुकुरजस्ता जनावरहरुबाट टाढा रहने ।
विश्वभरी आज अप्रत्यासित रुपमा लकडाउन हुँदै गर्दा आम नगरिकलाई असहजिलो अफ्ठ्यारो, व्यक्तिगत तथा संस्थागत रुपमा समस्या र पिडाको महसुस पक्कै भएका छन् । यसले कतिपय कुराहरु व्यक्तिगत कुरामा व्यवहारिक नबन्न सक्छ तर प्रत्येक नागरिक अनुशासित भएर यस संकटको घडिमा साथ र सहयोग गर्नु नै महान कार्य हुनेछ । कुनैपनि बाहनामा आउने महामारी, विपत्ति र संकटले कुनै जाति, धर्म, भुगोल, राजनीति छुट्याउँछ नत कुनै उचो र होचो, धनी र गरिब नै भन्ने गर्छ, आज विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपले यस कुराको पुष्टी गरिसकेको छ ।
यस संकटको घडीमा विपन्न असहाय वर्गका लागि पर्न गएको अभावलाई कम हुन नदिन थुप्रै प्रयासहरु भइरहेका छन् । विभिन्न तहका सरकारहरुले खाद्यान्नको अभाव हुन नदिन त्यस्ता वर्गको लागि सम्बन्धित वडामा तथ्याङ्क संकलन गरी राहतमा प्याकेज घोषणा गरेको छ र राहत वितरण कार्यहरु थालनी भएका छन् । नेपालको नयाँ संविधानले नै विभिन्न हकमध्ये खाद्य सम्बन्धी हकलाई महत्वपुर्ण हकको रुपमा लिएको छ । कुनै पनि मानिस खाद्य अभावको कारण भोकै बस्न नपरोस् भन्ने उद्वेश्यका साथ गण्डकी प्रदेश सरकारले प्रत्येक महानगरपालिकालाई २५ लाख, नगरपालिकालाई १० लाख र सबै गाउँपालिकाहरुलाई आम नागरिकका समस्याहरु छिटो र सरल ढंगले समाधान गर्ने उद्वेश्यले ५ लाखका दरले स्थानीय तहमा पठाईसकेको छ र त्यसमा स्थानीय सरकारहरुले आवश्यक रकम थप गर्दै सोही कार्यविधिअनुरुप स्थानीय सरकारले विपत व्यवस्थापन कोषको माध्यमबाट विपन्न परिवारका सम्बन्धित वडामार्फत तथ्याङ्क संकलन गरी राहत वितरण कार्यक्रम शुरु भएको छ ।
बागलुङ जिल्ला ताराखोला गाउँपालिकामा १५१ विपन्न घरपरिवार पहिचान गरी परिवार संख्याको आधारमा ४ जना भएको परिवारलाई १० पाथी मकै वा कोदो, तेल, नुन, साबुन, दाल, चिनी तथा ४ जनाभन्दा माथिका विपन्न परिवारका लागि १५ पाथी मकै वा कोदो, तेल, नुन, साबुन, दाल, चिनी वितरण कार्य सम्पन्न भईसकेको छ र यसको सार्वजनिकरण भईसकेको छ । गाउँकै उत्पादनलाई राहतको रुपमा वितरण गर्दा गुणस्तरिय खाद्यबस्तु आपुर्तीमा सहजता तथा आर्थिक क्रियाकलाप बढ्न जाने पारदर्शिता र जवाफदेही कायम हुने र खाद्य वस्तुको अभावको सृजना नहुने भएकाले सम्भव भएसम्म यस प्रणाली अपनाउनु उत्तम देखिन्छ ।
अन्तमा, कोरोना भाइरसले विश्व मानव जातिको लागि स्वास्थ्य क्षेत्रमा मात्र ठुलो संकट पैदा गरेको मात्र छैन, सयौं देशहरुका मानव जातिहरुको मानव विचको आत्मीयता बढाउने संकेत देखिएको भन्न सकिन्छ । त्यस कारण स्थिती बदलिएको छ, भविश्यमा आर्थिक सामाजिक क्षेत्रमा यसले ठुलो परिवर्तन गर्ने संकट देखा पर्दछ । यसकारण यस रोगको सामना गर्न कुनै फौजी लडाईँमा जस्तै बहादुरीता जस्तो देखाउने होइन ईमान्दारिता संमयमता र सावधानी अपनाउनु आजको आवश्यकता भएकोले आउँदा दिनहरुमा हुन सक्ने यस्ता संकटहरुको सामना गर्न हामीले सिक्नुपर्ने शिक्षा धेरै छ ।
(घर्ती ताराखोला गाउँपालिकाका अध्यक्ष हुन् ।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->