के तपाइले प्रयोग गरिरहेको सेनिटाइजर गुनस्तरयुक्त छ ? सावधान, नामको मात्र सेनिटाइजर पर्ला । विश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण अहिले विश्वका लगभग सबै देश ग्रसित र आतंकित छन् । कोरोना भाइरस (कोभिड–१९) २१ औं शताब्दीको एक ठुलो महामारी नै भनेर चिनिएको अवस्था छ । कोरोना भाइरस (कोभिड–१९) को प्रभावबाट नेपाल पनि अछुतो छैन । नेपालमा हालसम्म ८ जना अन्य देशबाट नेपाल फर्केका र १ जना सोही संक्रमितबाट संक्रमित भएका गरी जम्मा ९ जनामा कोरोना भाइरसको संक्रमण आधिकारिक पुष्टी भएको छ । विश्वका नेपालभन्दा शताब्दीऔं अघि रहेका देशहरू त कोरोना भाइरस (कोभिड–१९) का कारण शिथिल भएका छन्, स्तव्ध भएका छन्भने नेपाल त के हो र ? यदी वर्तमान अवस्थामा नेपाल जस्तो अबिकसित, अस्वस्थकर जीवनशैली, सानाभन्दा साना मेडिकल इक्युपमेन्टमा परनिर्भरता, सिमीत श्रोत साधन र फितलो स्वास्थ्य व्यवस्थापनको अबस्थामा कोरोना भाइरस नेपालमा अनियन्त्रित भई फैलिएमा मुकदर्शक भई रमिता हेर्दै कि प्राकृतिक रूपमा आफै सन्चो हुने, वा ढुक्क काल कुर्नुबाहेक अरू कुनै बिकल्प छैन हामीसंग ।

कोरोना भाइरसको महामारीमा बजारमा ह्यान्ड सेनिटारजरको चरम अभाब बढ्यो । ह्यान्ड सेनिटारजर सबैले सधैं प्रयोग गर्नपर्ने पदार्थ भएता पनि नेपालमा एकादुइ परिवार र ठुला अस्पतालको पनि बिशेष वार्डहरूबाहेक अन्यका घरमा त के अस्पतालसम्म प्रयोगमा ल्याएको देखिएको थिएन । तर आज कोभिड–१९ का कारण ह्यान्ड सेनिटाइजरको प्रयोग ब्यापक भइरहेको देखिन्छ । यो स्वस्थ जिवनको लागि राम्रो पाटो हो ।
यस चरम अभाबको बेला बिभिन्न कम्पनीहरूले ब्यापरिक उद्देश्यले ह्वार–ह्वार निकाल्न थालेका छन् सेनिटाइजर । जुन डब्लुएचओको मापन अनुपात अनुरूप तयार गरेको भनेर बट्टाको बहीरपट्टी लेखेता पनि त्यो पुर्ण रूपमा १०० प्रतिशत किटाणु नाशक नहुन सक्छ त्यसैले सकेसम्म आफुलाई थाहा भएकै कम्पनीको सेनिटाइजर प्रयोग गर्नु बुद्दीमानी हुनेछ । यो किन लेखेँको भने हिजो मैले बजारमा भेटेका केही सेनिटाइजरहरू गुणस्तरहीन भएकोले सबैलाई साबधान गराउनको लागि हो । केही मेडिकलहरूले सेनिटाइजर भनेर स्प्रिड बेचेको खबर पनि पाएको थिएँ ।
घरेलु सेनिटाइजर
कोरोना भाइरसको संक्रमणबाट जोगिन तपाईंले बजारमा सेनिटाइजर पाइरहनुभएको छैन ? नआत्तिनुहोस्, अब तपाईंले स्वदेशी सेनिटाइजर नै पनि सजिलै आफैं बनाउन सक्नुहुनेछ । हो, तपाईंले घरेलु रक्सीलाई प्रक्रिया पु¥याएर सेनिटाइजरका रुपमा प्रयोग गर्न सक्नुहुन्छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार इथानोल, ग्लिसिरिन, डिस्टिलवाटर, हाड्रोजन पेरोअक्साइडको सम्मिश्रणबाट सेनिटाइजर बनाउन थालिएको हो । रक्सीप्रति आम मानिसको धारणा सकारात्मक पाइँदैन । अत्याधिक रुपमा मदिरा पिउने महिला वा पुरुषलाई समाजले राम्रो दृष्टिले पनि हेर्दैन । यद्यपि, यतिबेला भने मदिराबाट निकालिएको इथानोलको प्रयोग गरेर बनाइएको सेनिटाइजरको प्रयोगबाट कोरोनाको संक्रमण तथा अन्य सरुवा रोगबाट बच्न सकिने कुरा डब्लुएचओले भनेका छन् ।
सेनिटाइजर कसरी बनाउने ?
घरमा उत्पादन गरिएको मदिरालाई कुनै भाडामा उमाल्दा निस्किएको बाफलाई चिसो बनाएर संकलन भएको पानी नै मूलतः इथानोल हो । (जाँडबाट रक्सी बनाएजस्तै रक्सीबाट रक्सी बनाउने) सोही इथानोल अल्कोहलमा ग्लिसिरिन, डिस्टिलवाटर, हाड्रोजन पेरोअक्साइडको सम्मिश्रण गरेर सेनिटाइजर बनाउन सकिन्छ । ‘कुन तरल पदार्थ कति मात्रामा सम्मिश्रण गरेर सेनिटाइजर बनाउने भन्ने कुरा तालिमप्राप्त व्यक्तिले मात्रै गर्न सक्छन् तर आज तपाई पनि सिक्न सक्नुहुने छ, तल दिएको आधारमा, अन्दाजको भरमा मदिराबाट सेनिटाइजर बनाउन सकिँदैन ।
यसरी बनाउनुस् सेनिटाइजर
इथानोल अल्कोहल (जाँडबाट रक्सी बनाएजस्तै रक्सीबाट बनेको रक्सी) ८० प्रतिशत, ग्लिसिरिन १.४ प्रतिशत, डिस्टिलवाटर १८.८४ प्रतिशत र हाइड्रोजन पेरोअक्साइड ०.१२ लाई राम्ररी घोलेपछि घरेलु सेनिटाइजर तयार हुन्छ । बजारमा पाइने शुद्धीकरण गरिएको इथानोल अल्कोहल अर्थात् स्प्रिटबाट पनि सेनिटाइजर बनाउन सकिन्छ । तर स्प्रिड मात्र भने सेनिटाइजर होइन । बजारमा सामान्य व्यक्तिले इथानोल अल्कोहल किनेर माथि उल्लेखित ३ तरल कुराहरु मिश्रण गरेर सेनिजाइजर बनाउन सकिन्छ । बजारमा इथानोल अल्कोहल उपलब्ध नभएको खण्डमा घरेलु मदिराबाट इथाइन निकालेर सेनिटाइजर बनाउन सकिन्छ ।
होहल्ला र अफवाहको पछि नलागौँ
बजारमा पाइने मदिरालाई सोझै सेनिटाइजरको रुपमा प्रयोग गरेर कोरोना भाइरसको संक्रमणबाट जोगिन सकिने भन्ने भनाई सत्य होइन । ‘सेनिटाइजरको रुपमा सोझै बजारमा पाइने मदिरा प्रयोग गर्ने होइन । मदिराबाट निस्किएको इथानोलबाट मात्रै सेनिटाइजर बनाउन सकिन्छ । घरेलु मदिरामा अन्य मदिराभन्दा इथानोल अल्कोहलको मात्रा बढी हुन्छ । बजारमा पाइने बियर, वाइन, भोड्का, ह्विस्की, रम, जिनजस्ता रक्सीमा इथानोल अल्कोहलको मात्रा कम हुन्छ । त्यसैले बजारमा पाइने अन्य मदिराबाट सेनिटाइजर बनाउँदा प्रयोग नगरेको बराबर हुन्छ । पानी नराखेको घरेलु मदिरा रक्सीबाट बनाइको रक्सी एकदमै ज्वलनशिल मट्टितेलजस्तै बल्न सक्छ । त्यसैले इथानोल अल्कोहल निकाल्दा सावधानी अपनाउनु पर्छ । इथानोल अल्कोहलसँगै अन्य पदार्थको मिश्रण गर्दा मात्र मिलाएर सावधानीपुर्बक गर्नुपर्छ ।
मदिराबाट निर्मित सेनिटाइजर प्रभावकारी
साबुन पानीले हात सफा गर्दा हातमा भएका विभिन्न किसिमका किटाणु पखालिने गरिन्छ । तर कहीलेकाहिँ हातमा भएको सबै किटाणु नपखालिन पनि सक्छ । डिटोलको प्रयोग साबुनभन्दा राम्रो भन्ने गरिए पनि मदिराबाट निकालिएको इथानोल अल्कोहलको भन्दा त्यसको प्रभावकारिता कम हुन्छ । त्यस्तै, बजारमा आएका विभिन्न ब्राण्डका बास्नादार सेनिटाइजरभन्दा पनि घरेलु मदिराबाट निकाएलिएको इथानोल अल्कोहलको प्रभावकारिता बढी हुन्छ । मदिराबाट निकालिएको इथानोल, गिलसिरिन, डिस्टिलवाटर र हाड्रोजन अक्साइडबाट निर्माण गरिएको सेनिटाइजरको प्रयोगले कोरोना भाइरसको संक्रमण तथा अन्य संक्रामक खतराबाट जोगिन सकिन्छ । ‘साबुनपानी तथा डिटोलले हात सफा गर्दा किटाणु सबै पखालिन सक्दैन तर घरेलु रक्सीबाट बनाइएको सेनिटाइजरले हात सफा गर्दा सिधैं किटाणुलाई मार्छ । संक्रमण हुन नदिनका लागि बारम्बार साबुनपानीले हात धुनु नै सबैभन्दा राम्रो उपाय हो । त्यसका साथै, सधैं साबुनपानीले हात धुने अवसर नमिल्ने अवस्थामा सेनिटाइजर प्रयोग गर्न अति आवश्यक छ । खुल्ला वा असुरक्षित अवस्थामा राखिएका घरेलु मदिराको गुणस्तर घटिसकेको हुन्छ । तर घरेलु रक्सीबाट निकालिएको इथानोलबाट सेनिटाइजर बनाउँदा अन्य पदार्थभन्दा करिव ७० प्रतिशत हुनुपर्छ । सकेसम्म कोभिड–१९ को महामारी रहँदासम्म कसैलाई नभेटनुस्, कसैले दिएको वा छोएको सामानहरू छुन परेमा तत्काल जतिसक्दो आफ्नो सुरक्षाको बाटो अपनाउनुहोला ।




