आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

महामारीमा मसलेहरुको फूर्ति !

महामारीमा मसलेहरुको फूर्ति !


  • राम सुवेदी
  • चैत्र २८ २०७६, शुक्रबार

कोरोना भाइरस (कोविड–१९) को संक्रमण विश्वव्यापी रुपमा फैलिरहेको बेला त्यसलाई रोक्न र फैलन नदिन अहिले विभिन्न देशहरुले लकडाउनको अभ्यास थालेका छन् । लकडाउन लम्बिदै जाँदा अति गरिब, ज्यालादारी, मजदुरीमा काम गर्नेहरुलाई हातमुख जोड्ने समस्या उत्पन्न भइरहेको अवस्था छ । यस्तो अवस्थामा उनीहरुलाई राज्यबाट नै राहतको व्यवस्था पनि मिलाईदै आएको पनि छ । लकडाउन लम्बिदै गएपछि अहिले ज्यालामजदुरी गरेर पेट पाल्ने विपन्न वर्गलाई लक्षित गरेर सरकार आफैंले प्रदेश तथा स्थानीय तहसंगको समन्वयमा राहत वितरण गरिरहेको देखिन्छ । तर, यहाँ एक पोका मसला बोकेर राहतका नाममा गाउँका गरिब, निमुखाको अनुहारसँग सेल्फी खिच्नेहरुको अचम्म फुर्तिफार्ति छ । एउटो माक्स हातमा हल्लाउनेहरुदेखि एक डल्लो साबुन बोकेर समाजसेवीको डंकार चुट्नेहरुको हुट्हुटी हेर, विचरा गरिबीको आँगनभरी भैली खेलेका छन् ।
कोरोना महामारीको यो संकटपूर्ण अवस्थामा राहत वितरण गर्ने नाममा केही यस्ता अत्यासलाग्दा तस्वीरहरुले हेर्ने आँखामा ग्लानी भइरहेको छ । हाम्रो समाज र तिनै सहयोगको याचना गरिरहेको वर्गलाई गरिबीको मजाक उडाईएको रमिता प्रहसन भइरहेको छ । बैरागी समाजसेवी हो, सक्छौं भने उनीहरुलाई तिम्रो घरको खर्च बोकेर पाल्देऊ, तिमी एकरात दुई प्लेट चिकन र दु्ई प्याक बहुलापानी नहुन त्यो भयानक भुँडीमा, त्यसले एउटा गरीबको एक हप्ता चल्छ । कोरोना संक्रमणले छोएन’छ भने खुसीका अरु दिनमा फोटो खिचौला, आज १० रुपैयाँको माक्स, २० रुपैयाँको साबुनको डल्लोसँग दर्जन समाजसेवीहरु जोडिएको सेल्फी सामाजिक सञ्जालमा पोष्ट गरेर महामहिम नबन । एक प्याकेट मसला लौरोको टुप्पोमा झुण्ड्याएर गरिबीको भावनामा बल्छी नखेल, आज चुपचाप बसेका ति गरीबले तिम्लाई जवाफ दिएनन् भनेर हौसिएका हौला, तिम्लाई समयले जवाफ दिने दिन पनि आउने छ । त्यस्ता लज्जाजनक गतिविधि नगर्न सरकारले हालै निर्देशन दिएको छ । लकडाउनका कारण समस्यामा परेकाहरुलाई राहत वितरणका नाममा महामारीको सिंहासनबाट गरिएको अत्यन्त मजाकपूर्ण प्रहसन आज सामाजिक सञ्जालहरुमा छ्याप्छयाप्ती देखिएका छन् । यो समाजसेवाका नामबाट भयानक मजाकको डरलाग्दो इतिहास हुनेछ ।
कोरोनाको महामारीका कारण विश्वनै संकटमा परेको र नेपाल पनि अति जोखिममा रहेकाले सरकारले संक्रमण फैलिन नदिन ११ चैतदेखि लगातार तेस्रोपटक देशभर लकडाउन गरेको छ । लामो समयको लकडाउनका कारण समस्यामा परेका श्रमिक वर्ग, गरिब तथा विपन्न परिवारको लगत संकलन गरी उनीहरुलाई राहत बाँड्न सरकारले स्थानीय तहलाई जिम्मा दिइएको छ । तर, कतिपयले आफूखुसी राहत बाँड्दै सामाजिक सन्जालमा मनलाग्दो प्रचारबाजी गर्न शुरु गरेका छन् । कतिपयले त स्वास्थ्यकर्मीहरुले व्यक्तिगत सुरक्षाका लागि लगाउने पीपीई लगाएर आफ्नो फोटो सामाजिक सन्जालमा राखेको पाइएको छ । ए जनताबाट मागेर नअघाएका हो, त्यसको खाँचो कस्लाई हो भन्ने दुनियाँले थापा पाएको छैन भन्ने लागेर, कोरोना कहरमा पिपिईको भोटो लाउने रहरिया हो, के थाहा त्यो कहरले तिम्लाई पनि नलगाई नहुने बनाउन के बेर, आजै त नआत्तिए हुन्थ्यो ?
यतिबेला सामाजिक सञ्जालमा देखिएका फोटोहरु हेर्ने होभने दुईवटा केराका कोसा बाँड्दा ६ जनाले सँगै झुम्मिएर फोटो खिचाएका समाजसेवी भेटिन्छन् । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्रीहरु स्थानीय तहका जनप्रतिनिधिले पुरै सेट लगाएर जम्बो उभिएको गाइजात्रे तस्बिरले दुनियाँ हँसाएको पनि भेटिन्छ । दुई÷चार केजी चामल, एक पिस मास्क, एक पिस साबुन एक गरिबको हातमा थमाएर सहयोग गरेको बहानामा विभिन्न संघसंस्थाका प्रचारबाजी उस्तै छन् । राहत र सहयोगका नाममा सस्तो लोकप्रियताका लागि सहयोगीलाई सहयोग नै माग्ने र एकाध समाजसेवी भनिनेहरु वितरणको जिम्मा लिएर यस्ता हर्कतसहित मजाकमा हाबी भएका थुप्रै तस्बिरहरुले नेपाली समाजलाई गिज्याइरहेको देखिन्छ ।
सहयोग गर्नु नराम्रो पक्कै होईन । सहयोगका कारण गरिबीको मजाक उडाउँदै आफु प्रचारमा आउने हिम्मतवालाहरुको औकातले गरिबीमाथिको अन्यायलाई मज्जाले स्पष्ट पारेको छ । हुनेखानेहरु वा खानलाउन पुग्ने भनिएका समाजसेवी दर्ज मनुवाहरुले गरिखाने वर्गलाई होच्याएको तस्वीर हो यो । गरिबको मानवीयतामा ठेस पु¥याएको हो त्यो । कसैको असह्रयता माथिको लज्जापूर्ण रोदन हो । आज संघसंस्थामात्र होईन, राज्यका तर्फबाट बाँडिएको राहत वितरणमा समेत जनप्रतिनिधिहरु लम्बेतान गरेर राहत सामाग्रीमा हात लगाएका देखिन्छन् । के सहयोग भनेको तिमीहरुलाई स्वर्ग लान बनाएको महायज्ञ ठानेका छौं ? राज्यकोषबाट, त्यो पनि त्यहीँ गरिवको हक लाग्ने वजेटबाट उनीहरुको समस्यामा सम्बोधन हुनेगरि ल्याइएका यसखालका कार्यक्रममा सामान्य सहयोग गर्दा दशौं जनाको समुहले एकजना गरीबलाई बीचमा राखेर हातले हात समाउँदै कन्यादान गरेजस्ता हास्यस्पद फोटोहरु देश दुनियाँमा देखाउने हिम्मत कहाँबाट आयो ? के संस्कार हो यो ? नाँगो आङ भएको बालकलाई दुई सयको कम्बल ओढाएर एक हुलले ठूलो सहयोग गरेको भन्दै हाइफाई गरेका फोटोहरु आज सामाजिक सञ्जालमा छरपरष्ट छन् । यसरी के राज्य के सामाजिक संघसंस्था, के व्यक्ति सबैबाट गरिबीमाथि मजाकपूर्ण प्रहसन गरिएको छ । यस्तो निकम्मा कामलाई राज्यले रोक्नु पर्दथ्यो, ढिलै भएपनि अब राहत बाँडिएका फोटोलाई सामाजिक सञ्जालमा रोक लगाउने सरकारी निर्णय स्वागतयोग्य मान्नु पर्छ । यसको पालना होस् । अझैपनि चेत नखुलेकालाई गिदी हल्लनेगरी सचेत नागरिकले यस्ता व्यवहारको खुलेर आलोचना गरौं ।
महामारीको संकटमा राज्यले आवश्यक सामाग्रीहरु किन्न नसकेको बताउँछ । तर सहयोगीहरुले कहाँबाट ल्याउँछन्, बाँडेका देखाउँछन् । त्यसको प्रचार पनि अधिक गरेका देखिन्छन् । यसको राज्यपक्षबाट समेत कुनै निगरानी भएको देखिदैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहहरुलाई सर्कुलर गर्दै सहयोगका नाममा प्रचारात्मक काम नगर्न निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव एवम् प्रवक्ता वसन्त अधिकारीले सञ्चार माध्यमबाट ‘फेसबुकमा फोटो भिडियो हालेर आफ्नो प्रचार गर्ने काम भएको भन्दै, यस्तो कार्यले गरिवीको मनोभावनामाथि ठेस पु¥याएकोले यस्तो गतिविधि रोक्न स्थानीय सरकारलाई निर्देशन गरेको बताउनुभएको छ । महामारीको यो अवस्थामा गरिब विपन्नले राहत महसुस गर्ने गरी काम गर तर प्रचारमा ध्यान नदेऊ भनेर मन्त्रालयले निर्देशन दिएको बताउँदै निर्देशन विपरित काम नगर्न सबैलाई आव्हान समेत गरेको उहाँको भनाई छ । मन्त्रालयले सर्कुलर जारी गर्दै राहत वितरणको सस्तो प्रचारबाजीले जनमानसमा राम्रो सन्देश नजानेतर्फ स्थानीय तहहरुको ध्यानाकर्षण गराएको उहाँको भनाई छ । सरकारले जारी गरेको सर्कुलरमा ‘केही स्थानीय तहमा स्वास्थ्यकर्मीसँग सम्बन्धित पिपिईको प्रयोग जनप्रतिनिधि तथा असम्बन्धित व्यक्तिहरुले समेत गर्ने गरेको तथा राहत वितरणका गतिविधिहरु समेत सार्वजनिकीकरणको लागि मात्र केन्द्रित गर्ने जस्ता गतिविधिहरु भएको बुझिएको हुँदा यसबाट जनमानसमा राम्रो सन्देश नजाने विषयलाई आत्मसात गरी यस्ता क्रियाकलापहरु नगर्ने र नगराउने तथा यस्ता गतिविधिहरु निरुत्साहित गर्नु भन्ने उल्लेख छ । मन्त्रालयको निर्देशनअनुसार स्थानीय तहहरु र गाउँपालिका महासंघले पनि सूचना जारी गरी राहत वितरणको क्रममा खिचिएका फोटो वा भिडियो सामाजिक सञ्जालमा नराख्न आग्रह गरेका छन् । अब यसको परिपालना हुन्छ वा हुँदैन त्यो समयले बताउने छ ।
महामारीले जुन वर्गलाई बढी अफ्ठेरोमा पारेको छ, उनीहरुलाई सहयोग गरिँदा निशर्त गरिनुपर्दछ । गरिबी हुनु कसैको गल्ती होईन, महामारीको चपेटामा परेका गरिवीको नाममा उनीहरुको बैयक्तिक जीवनको उपहास गरेर कसैलाई ठूलो मान्छे बन्ने भन्ने हाम्रो मानवीयताले पनि दिंदैन । सहयोग गर्नु वा सहयोग लिनु कुनै करकाप होईन । सहयोग दिएको नाममा गरिवीमाथि प्रहसन गर्नु एक प्रकारको रहर होला, गरिवीको कहर होईन र हुनुहुँदैन । सहयोग सदसायता हो । भावना हो । उपहास होईन, उपहार हो । जो प्रचारमा ल्याईन जरुरी होइन र छैन । कसैको भावनामा ठेस पुग्नेगरी अपनाइएका विधि, प्रवृत्ति, आचरण र शैलीहरु फेर्न आवश्यक छ । आजको गरिब भोली उसको मेहनतले धनी होला, आज धनी भनिएका सहयोगी भोली माग्ने पनि होला । जिन्दगी हो, यसलाई फेर्न सकिन्छ ।
सहयोग भनेको आदानप्रदानको भावनाले बुझौं । दान दातव्य गर्नु र मद्धत गर्नु सकारात्मक कार्य हुँदाहुँदै पनि त्यहाँबाट कुनै आशा अपेक्षा राखिनु हुँदैन । आज देखिदै गएको सहयोगको स्वरुप र त्यसका अगुवाले अपनाएको सामाजिक सञ्जालमार्फतको प्रचारात्मक होडवाजी र शैली, सहयोग र सदासयताको शुद्ध शैलीमा छैनन् । यो त देखिस् मैले यसो गरैं, तैंले के गरिस् भन्ने लफ्फाबाजीमा छ । यसको अन्त्य गरौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->