बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बालकथा : कोरोना कुन देशबाट आउनुहुन्छ मामु ?

बालकथा : कोरोना कुन देशबाट आउनुहुन्छ मामु ?


  • समृद्धि बस्ताकोटी
  • चैत्र २९ २०७६, शनिबार

बेदिका र साध्या एकदमै मिल्ने साथी हुन्। उनीहरू पढ्ने स्कुल भने फरक छ । अहिले दुवैको परीक्षा सकिएर बिदा भएको छ । दुवैले खेल्ने, घुम्ने तयारी गरेका थिए। बिहान उठ्नेबित्तिकै बेदिकाले उसको मामुलाई ‘आज साध्याको मामा विदेशबाट आउने रे अनि मलाई पनि साध्याले चक्लेट लिएर घरमा आउँछु’ भनेकी छन् भनेर सुनाइन् । यति भनेर बेदिका मक्ख पर्दै बाथरूम गइन् ।

यता बेदिकाको मामु भने भुतभुताउँदै हुनुहुन्थ्यो, ‘कोरोना भाइरस आएको छ । नेपाल लकडाउन छ । कतै जानुहुन्न ।’

बेदिकाले अरू कुरा नसुने पनि कोरोना आउने सुनिन् ।

बाथरूमबाट निस्किएपछि उनले मामुलाई सोधिन्, ‘कोरोनाचाहिँ कुन देशबाट आउनुहुन्छ मामु? अनि हाम्रो के नाता पर्छ? मैले उहाँलाई के भन्नुपर्छ ?’

यति बेला भने बेदिकाको मामु रिसले ठूला-ठूला आँखा बनाँउदै गाली गर्न लागेको जस्तै गर्नुभयो। तर एकैछिनमा फेरि गाली नगरी अलि ठूलो स्वरमा मुसुमुसु हाँस्दै भन्नुभयाे, ‘कोरोना भनेको भाइरस हो बुद्धू। यसले हाम्रो शरीरका सिपाहीलाई हराएर जित्यो भने हामी बिरामी हुन्छौं। त्यसैले तिमीले त्यो भाइरस शरीरमा पस्न नदिन यो-यो कुरा गर्नुपर्छ ।’

बेदिकाले भने विदेशबाट आएको कोरोनाले पनि चकलेट ल्याइदिन्छ भन्ने सोचेकी रहिछ। उता साध्या पनि आफ्नो घरमा आउन नपाउने भएपछि त्यो चकलेट पनि नपाउने भयो भनेर दु:खी भइन् |

२-३ दिन बितिसकेको थियो। बेदिका छटपटाउँदै बसिरहेकी थिइन्। एकदिन मामु र सानो मामु मोबाइलमा भिडिओ कल गरेको देखिन्। त्यसपछि उनलाई पनि साध्यासँग त्यसरी नै बोल्न मन लाग्यो। उनले मामुलाई भनेर साध्याको मामुको मोबाइलमा भिडिओ कल गरिन्। धेरै दिनपछि साध्या र बेदिका एकअर्कालाई देखेर खुसी भए ।

दुवैजना आत्तिएर बोल्दा सँगसँगै बोल्दा रहेछन्। पछि उनीहरू आफैं मिलाएर पालैपालो गरी बोले। बोल्दाबोल्दै साध्याले आफूलाई मामुले बेदिकाको घरमा जान नदिएको कुरा पनि सुनाइन्। अनि विदेशबाट घरमा आएका मामा पनि आफूसँगै नबसेको र चकलेट पनि नदिएको दु:ख पोखिन् ।

यति नै बेला बेदिकाले उसको मामुले भनेको कुरा सम्झिन्। अनि साध्यालाई भनिन्, ‘कोरोना भाइरस हात मिलाउँदा, रोगी मान्छेले हाच्छिँयु गर्दा अथवा त्यस्ता व्यक्तिको सम्पर्कमा आउँदा हामीलाई सर्छ रे। त्यसैले मामा पनि तिमीसँग भेट नगर्नु भएको होला। अनि तिमी र म पनि खेल्न नपाएको किनकि यो भाइरस कोसँग छ, थाहै हुँदैन रे के ।’

यति कुरा सुनेपछि साध्याले पनि मुन्टो हल्लाई। अनि दुवै मिलेर कोरोना भाइरसलाई हटाउने, आफू पनि आफ्नो परिवारलाई समय समयमा साबुन पानीले हात धुने, मास्कको प्रयोग गर्ने, घरबाट बाहिर ननिस्कने, सन्तुलित खाना खाने र सिकाउने भन्नेमा सहमत भए ।

अनि दुवै मिलेर दैनिक भिडिओ कल गर्ने र एकअर्काले एक-एक नयाँ कुरा सिकेर सिकाई साटासाट गर्नेमा सहमति गरे। कहिले त उनीहरू भिडिओ कलमै गीत प्र्याक्टिस पनि गर्छन्। यो देखेर बेदिका र साध्याको परिवार पनि खुसी हुनुभयो ।(बस्ताकोटी कक्षा ४ मा अध्ययनरत छिन्।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->