आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

धौलागिरीमा उठ्यो सुविधा सम्पन्न अस्पतालको माग, के हो त अबको आवश्यकता ?

धौलागिरीमा उठ्यो सुविधा सम्पन्न अस्पतालको माग, के हो त अबको आवश्यकता ?


  • ई. खिमानन्द कँडेल
  • चैत्र २९ २०७६, शनिबार

साबिकको धौलागिरी अञ्चल अस्पताल यतिवेला विश्वव्यापी फैलिईरहेको कोरोना भाईरसको सन्दर्भले ब्यापक चर्चामा रहेको छ । साबिकको धौलागिरी क्षेत्रका जनतालाई आफ्नै घरदैलोमा स्वास्थ्य उपचारको ब्यबस्था मिलाउनको लागि स्थापन गरिएको अस्पताल हो धौलागिरी अञ्चल अस्पताल । साबिकका चौध अञ्चल पचहत्तर जिल्लाहरु मध्यको एक धौलागिरी अञ्चल विगतमा अत्यन्त दुर्गम भएतापनि अहिले सडक मध्यपहाडी लोकमार्गको निर्माण र कालीगण्डकी कोरिडरको निर्माणको कामले तीव्रता पाउँदै गर्दा अहिले राज्यको नजरमा समेत पर्दै गएको छ । कोरोनाको विश्वव्यापी संकट भैरहेको अवस्थामा हाल दुई जना कोरोना पोजिटिभ भेटिएका बिरामीहरुको यस अस्पतालमा उपचार समेत भैरहेको छ । कोरोनाको संक्रमण बागलुङ जिल्लामा देखिएपछि देशव्यापी रुपमा नै अहिले धौलागिरी अञ्चल अस्पताल व्यापक चर्चामा रहेको छ । नेपाल सरकारको निर्णय अनुसार, हाल यस अस्पतालमा कोरोना संक्रमण भए नभएको जाँच गर्ने व्यवस्था समेत मिलाई सकिएको छ । शुक्रबार मात्रै पनि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि यहाँको आकस्मिक भ्रमण गरेर अस्पतालको बिकासको लागि आफ्नो तर्फबाट सहयोग हुने बताएका छन् ।
विश्वव्यापी रुपमा कोरोनाले स्वास्थ्य क्षेत्रलाई समग्र विश्वले प्रथम प्राथमिकतामा राख्नुपर्छ भन्ने सन्देश दिएको छ । यति मात्र हैन अब स्वास्थ्य क्षेत्रलाई नेपाल सरकारले समेत उच्च प्राथमिकतामा राखेर देशव्यापी रुपमा व्यापक स्वास्थ्य क्षेत्रका पूर्वाधारहरुको निर्माण गरी आम जनताहरुको स्वस्थ जीवन जिउन पाउने अधिकारको सुनिश्चितता गर्न कदम चाल्नु आवश्यक छ ।
के हो त अबको आवश्यकता ?
सधैँ विकासमा छायाँमा परेको र पारिएको समग्र धौलागिरी क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने धौलागिरी अञ्चल अस्पतालको लागि निम्नानुसारको कदम आवश्यक छ र सम्बन्धित सबैको यसमा ध्यानाकर्षण होस् भन्ने सम्पूर्ण धौलागिरीबासी जनताको आवाज रहेको छ ।
(१) धौलागिरी अञ्चल अस्पताललाई गण्डकी प्रदेशको शिक्षण अस्पतालको रुपमा विकास गर्ने । यसलाई हालै जुम्लामा रहेको कर्णाली विज्ञान प्रतिष्ठानको मोडलमा विकास गर्न सकिन्छ ।
(२) शिक्षण अस्पतालको रुपमा विकास गर्नेगरी आगामी आर्थिक बर्ष २०७६÷७७ को बजेटमा बिस्तृत संभाव्यता अध्ययन र पूर्वाधार निर्माणको लागि पर्याप्त बजेट संघीय सरकारबाट बिनियोजन गर्नुपर्छ । यसको लागि बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका संघीय सांसदहरुले व्यापक लबिङ गर्नु आवश्यक छ ।
(३) गण्डकी प्रदेश सरकारको मन्त्रीपरिषदबाट प्रष्ट निर्णय गरेर धौलागिरी अञ्चल अस्पताललाई गण्डकी प्रदेशको सुविधा सम्पन्न शिक्षण अस्पतालको रुपमा विकास गर्न संघीय सरकारलाई अनुरोध गर्नुपर्छ र यसको लागि प्रदेशका सम्पूर्ण माननीयहरुले भूमिका खेल्नुपर्यो ।
(४) गण्डकी प्रदेश सरकार आँफैले पनि यो अस्पतालका पूर्वाधारहरुको विकासमा पर्याप्त बजेट बिनियोजन गर्नुपर्यो ।
(५) समग्र धौलागिरी क्षेत्रमा रहेका सम्पूर्ण राजनीतिक दलहरुले एकतावद्ध ढंगबाट प्रदेश र संघमा लबिङ गर्नुपर्यो ।
(६) यस क्षेत्रका सामाजिक अगुवाहरु एवं पत्रकारहरुले समेत सरकारको निरन्तर ध्यानाकर्षण गर्नुपर्यो ।
(७) समग्रतामा यहाँका सम्पूर्ण जनताहरुले यस अस्पताललाई सुविधा सम्पन्न अस्पताल बनाउनको लागि निरन्तर आवाज बुलन्द गर्नुपर्यो ।
यो अस्पताल निर्माण भैसक्दा समग्र धौलागिरी क्षेत्रमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित पूर्वाधारहरुको निर्माणले व्यापकता पाउन गई यस क्षेत्रका जनताहरुलाई स्वास्थ्यको पहुँचमा पुर्याउन सकिनेछ । यस अस्पतालबाट बागलुङ, पर्वत, म्याग्दी, बागलुङ, स्याङ्जा, गुल्मी र रुकुमसम्मका जनताहरु समेत लाभान्वित हुन सक्नेछन् ।
(ईन्जिनियर कँडेल सामाजिक अभियानकर्ता हुन् ।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->