बागलुङ, ३० चैत – श्रमिक र अति विपन्न बर्गलाई लक्षित गरेर बागलुङ नगरपालिकाले सदरमुकाममा ‘फुड बैंक’ सुरु गरेको छ । कोरोना भाइरस संक्रमण संकटका कारण आफ्नो रोजीरोटी गुमाएका, विपतमा परेका, गरिब र विपन्न परिवारलाई सहयोग गर्न ‘फुड बैंक’ को स्थापना गरिएको नगरप्रमुख जनकराज पौडेलले बताए ।
बागलुङ जेसिजले आइतवार बागलुङ नगरपालिकालाई खाद्यान्न सामग्री प्रदान गरी फुड बैंकको सुरुवात गरेको हो । त्यसमा नागरिक अभियन्ता राम शर्मा र ढोरपाटन दैनिकले पनि साथ दिएको छ । सुरुवाती चरणमा जेसिजले ५ सय केजी चामल, ७५ केजी दाल, ५० केजी नुन, ५० लिटर तेल र १ सय केजी आटा नगरपालिकालाई हस्तान्तरण गर्ेको छ । सो अवसरमा नागरीक अभियान्त राम शर्माले ५ सय केजी चामल प्रदान गरे । ढोरपाटन दैनिकका सम्पादक तथा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय सदस्य हरिनारायण गौतमले ५ सय केजी चामल, ५० केजी नुन, ५० केजी दाल र ५० लिटर खाने तेल हस्त्तान्तरण गरे । त्यस्तै, नव जीवन मण्डली (चर्च)ले २ सय केजी चामल, २० पोका तेल र १० केजी नुन प्राप्त भएको नगरपालिकाले जनाएको छ ।
जिल्ला सदरमुकाम र मुख्य गरी बजार क्षेत्रमा दैनिक ज्यालामजदुरी गर्नेहरुले खाना नपाएको समस्या आईरहेको वेला फुड बैंक स्थापना हुनु सुखद भएको बताउदै जेसिजका अध्यक्ष राजेन्द्र शाक्यले बताए । फुड बैंकलाई अभियानकै रुपमा अगाडि बढाउन यहाँका अभियान्तहरु लागि परेका छन् । यो एउटा अभियान भएकाले यसमा सहयोग गर्न सवैलाई अनुरोध गरिएको अभियान्ताले राम शर्माले बताए । जापानमा रहेका दिपक रेग्मीले पनि रु. १५ हजार बराबरको खाद्यान्न सहयोग गर्ने भएका छन् ।
कोरोना कहरमा नागरिकलाई प्रदान गरिने सेवामा आफ्नो तर्फबाट पनि सहभागिता जनाउन फुड बैंकमा सहयोग गरेको सम्पादक हरिनारायण गौतमले बताए । आवश्यकता अनुसार सहयोग थप गर्दै जाने सकिने गौतमको भनाई थियो । जेसिजका पूर्व अध्यक्ष सुदिप राजभण्डारीले फुड बैंक स्थापना गर्न अगुवाई गरेका थिए । फुड बैंक स्थापना भएको पहिलो दिनमा नै दुई हजार केजीभन्दा बढि खाद्य सामग्री संकलन भएको छ ।





