पोखरा, २ बैशाख – समय सामान्य भएको भए सिमेण्ट बोकेका ट्रकहरु कछुवा गतिमा राजमार्ग नापिरहेका हुन्थे । गिट्टी र बालुवा बोकेका सयौँ टिपरहरुले तपतप पानी चुहाउँदै पोखराको चक्कर लगाइरहेका हुन्थे । पोखराको मलिलो माटोमा सयौँ ‘क्रंक्रिटका रुख’हरु ठडिइरहेका हुन्थे ।
तर, कोरोना संन्त्राससँगैको लकडाउनले यो दृष्य दुर्लभ बनेको छ । दुर्लभ बन्नु के थियो, निर्माण कार्य ठम्प भएको छ । पिलरहरु ठिग्रिङ्ग उभिएका छन् । टेका लगाइर ढलान गर्न ठीक्क पारिएका पुलहरु दाँत फुक्लिएको बूढोमान्छेजस्तो देखिएका छन् । खोस्रिदै र सम्याउँदै गरिएका बाटाहरु अलपत्र परेका छन् । मजदूरहरु कामविहीन बनेका छन् । केही पोखराबाट बाहिरिएका छन्, कोही रोजगारी गुम्दा चुल्हो कसरी बाल्ने भन्ने चिन्तामा छन् ।
‘यो भाइरस आउला भन्ने के थाहा, निर्माण कार्य समयमा सक्नुपर्ने थियो, पुलहरु बन्दै थिए, ठेक्का पाउनुभएका साथीहरुले खोलामा टेका लगाएर, सटिङ गरेर, डण्डी बाँधेको अवस्था छ’, निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष सुरेश श्रेष्ठले भने,‘ अहिले मजदूर पनि छैनन्, काममा लगाउन सकिने अवस्था पनि छैन, अझ बाढी आयो भने बनेको संरचना नै बगाउने अवस्था छ ।’उनले काम रोकिँदा व्यवसाय धरासायी हुने छ त छँदैछ, त्यहाँ खोला रोकियो भने मानवीय क्षति पनि ब्यहोर्नुपर्ने खतरा बढेको छ । बालुवा र सिमेण्ट भएका केही ठाउँमा काम भए पनि त्यो पनि रोकिने अवस्थामा रहेको उनले सुनाए । काम ठप्प हुँदा तोकिएको समयमा परियोजना नसकिने चिन्ता पनि उनले जाहेर गरे ।
‘हाम्रो देशको टेण्डर प्रक्रिया, रकम निकासाका प्रक्रियाले चैतपछि नै विकास–निर्माणका आधा काम चैतपछि नै हुन्छन्’,उनले भने,यसले विकासको लक्ष्य पनि भेट्न गाह्रो हुन्छ ।’ उनका अनुसार अहिले निर्माण क्षेत्रमा कामगर्ने मजदूरहरु घरतिर लागेका छन् । उनीहरु तत्काल फर्कने अवस्था पनि छैन । कतिपयले हिँडेर नै आफ्नो गन्तब्यमा लागेका छन् । पोखरामा भएका मजदूरहरुलाई भने ठेकेदारहरुले खाद्यान्नको व्यवस्था गरिएको उनले जिकिर गरे ।
‘लकडाउन नै खुल्यो भने पनि एकमहिना केही काम हुँदैन, किनकि मजदूर नै पाइँदैन’, उनले भने,‘अब त यो आर्थिक वर्षमा काम गर्न सकिने अवस्था हुन्छ कि हुँदैन भन्नेछ ।’
पोखरा महानगरपालिकाका भवन तथा पुल निर्माण शाखाका प्रम्ख राजु रेग्मीका अनुसार अहिले महानगर क्षेत्रमा ७ वटा पुलको निर्माण भइरहेको छ । यहाँको अर्मलामा रहेको पहरेखोला, फिर्के, घट्टेखोला,मौजामा रहेको स्यानीखोला, स्याङ्खुदी, र बगादीमा निर्माणाधीन पुलहरुलाई लकडाउनले असर पुु¥याएको छ । यसैगरि फेवाताल संरक्षणको लागि बनाउँदै गरिएको ४ वटा सिल्टे«सन बाँध,१३ वटा कनेक्टिङ रोडको निर्माण पनि लकडाउनले ठप्प छ ।
‘यस्तो समयमा काम गर भन्ने अवस्था छैन,हामीले ती परियोजनाको म्याद थप्ने कि भन्ने छलफल चलाएका छौँ’, उनले भने,‘ढलान गर्न बाँकी पुलहरु बाढीले बगायो भने के गर्ने भन्ने सोचेर बाहिरबाट मजदूर ल्याएर हैन कि पोखरामै भएका मजदूरबाट त्यो काम सक्ने वातावरण बन्छ कि भन्नेबारे पनि सोचिएको छ ।’ उनले मान्छेको जीवनभन्दा ठूलो केही नहुने भएकाले काम सुरु भइहाल्छ भन्नेमा आफू ढुक्क नभएको पनि बताए ।
स्वरोजगार व्यवसायी संघ कास्कीका अध्यक्ष तथा अखिल नेपाल निर्माण मजदूर संघका केन्द्रीय महासचिव रमेश सिकेले पनि लकगाउन लम्बिँदै गर्दा मजदूरहरु बाहिर गएकाले निर्माण कार्य प्रभावित भएको बताए ।
‘करिब ८÷९ हजार मजदूर यहाँबाट बाहिर गएको जानकारी आएको छ, कतिपयहरु हिँडेर नै जानुभएको छ’, उनले भने,‘पोखरामा करिब ५० हजार मजदूरहरु निर्माण क्षेत्रमा कार्यरत छन्,लकडाउन नै खुल्यो भने पनि उनीहरु तत्काल फर्कदैँनन्, यसले अहिले निर्माणाधीन घरहरु पनि दुई–तीन महिना पछि धकेलिन्छ ।’उनका अनुसार पोखरामा दाङ, नेपालगञ्जदेखि बागलुङ र भारतबाट पनि मजदूरहरु आउँछन् । प्लम्बिङ, टायल र बिजुली तथा प्लाष्टर गर्ने मजदूरहरु बढी भारतीय छन् ।उनीहरु नआउँदा काम प्रभावित हुने उनले अनुमान लगाए । तिहार र छटमा भारतीय कामदार उतै बस्दा पनि निर्माण कार्य प्रभावित हुने गरेको थियो । अहिले पोखरा नगर क्षेत्रमा करिब ५ हजार नयाँ घर बन्दै गरेको र लकडाउनले सबै निर्माण प्रभावित भएको उनले बताए ।
पोखरा महागनरपालिकाका नक्सा शाखा प्रमुख पूर्णबहादुर गुरुङले पनि पोखरा नगर क्षेत्रमा करिब ६ हजार घरको नक्सा पास भएको अनुमान लगाए । उनले पास भएका नक्साहरुको सम्पन्न अवधि ४ वर्षको हुन्छ ।





