आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

आपतमा काम नलाग्ने निजी अस्पताल के का लागि ?

आपतमा काम नलाग्ने निजी अस्पताल के का लागि ?


  • कृष्ण प्रसाद शर्मा
  • बैशाख २ २०७७, मंगलबार

अहिले विश्व महामारीले मर्नेको संख्या लाख पुगिसक्यो । यो महामारीले नछोएको देश बाँकी छैन । नेपाल पनि कोरोनाको संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छभने हालसम्म १३ जनालाई कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । यसैबीच देशैभरी संक्रमणको परिक्षण गरिँदैछ भने सरकार र यसका अंग लागिपरेका छन् । यसरी राष्ट्रिय रुपमा नै बन्दाबन्दी भएर सबै घरमा बसेका छन् । तर यो बीचमा स्वास्थ्यसँग सम्बन्धित अन्य रोगका बिरामीले दुःख पाईराखेका छन् । नियमित रुपमा डाईलसिस गर्नुपर्ने बिरामीलाई हप्ताको तीन पटक गरिएकोमा हाल केवल दुईचोटी मात्र बोलाएको छ । यस बाहेक अन्य रोगको उपचारमा समेत दुःख भएको छ । अघिपछि सरकारी अस्पतालको दुर्दशाको फाईदा लिने अधिकांश निजी अस्पतालहरूले गेटमा भोटे ताल्चा हानेर घरमा बसेका छन् ।
हामीले समाचारको शीर्षक मात्रै पढेपछि भित्र जान गाह्रो हुनेगरि आएका छन् । जस्तैः ‘ज्वरो आएर निजी अस्पताल पुगेकी किशोरीलाई भर्ना नलिएपछि सरकारीमा पुर्याउँदा पुर्याउँदै मृत्य’, अघिपछि हामीले रेडियो, एफएम र पत्रिकामा अधिक विज्ञापन आउँछ प्रायःजसो निजी अस्पतालका । हरेक हप्ताजसोः फलानो ठाउँबाट फलानो रोगको विशेषज्ञ आउँदै हुनुहुन्छ भनेर प्रचार सुन्छौं । सरकारी अस्पतालमा गएर आएका बिरामी देखे नर्कमा पुगेर फर्के जस्तै गर्छन् र अब स्वर्गमै आईपुगे जस्तो उपचार गराउनेमा डुक्क पर्छन् तर अहिले निजी अस्पतालको गेटमा सूचना टाँसिएको हुन्छ । सूचनामा लेखिएको हुन्छ । हाम्रो अस्पतालमा यो उपकरण छैन, यो चीज छैन, यो डाक्टर छैन आदी आदी । अरू बेला फेरी हाम्रो अस्पतालमा यो पनि छ, त्यो पनि छ हामी एकमात्र सुविधा सम्पन्न अस्पताल हौं भनेर भनि राखेको सुन्छौं ।
निजी अस्पतालका कतिपयलाई मेडिकल माफियाको ट्याग छ, सबै निजी अस्पताललाई त नभनौं तर तोकिएको रकमभन्दा दोब्बर शुल्क लिएर पढाउने र उपचार पनि बिरामीको आर्थिक स्रोत हेरेर गरिन्छ । आर्थिक स्रोतको अर्थ फेरी गरीब भए निशुल्क वा डिस्काउण्टमा होईनकी धनी कति धनि छ त्यो हेरेर गर्ने गरिन्छ । निजी अस्पतालको सम्बन्धन लिन के कस्ता तरिका अपनाईन्छ सबैलाई थाहा नै छ । राज्यबाट अनुदान लिने पनि यिनीहरू नै हुन तर सेवा दिन अवस्था हेरेर आफ्नो लगानी जोगाएर मात्रै गर्छन् । हुनतः सरकारीका सामाग्री निकालेर निजीमा प्रयोग गर्ने पनि हामी देखेकै छौं । सरकारीमा जाँचेर औषधी र अरू थप उपचारका लागी बोलाउने डाक्टर त जिल्लामै छ्यापछ्याप्ती छन्भने राजधानीमा के हाल छ होला ।
अझ अचम्मको कुरा के छ भने नेताका नामका स्वास्थ प्रतिष्ठान कति कति । बाउको नाम प्रयोग गरेर प्रत्येक बर्ष राज्यबाट अनुदान लिनेको लर्को लामै छ । तर सेवा भने कतै देखिँदैन । महेन्द्रनारायण निधीका नाममा स्वास्थ प्रतिष्ठान छ, झलनाथ खनालका नाममा स्वास्थ प्रतिष्ठान छ । प्रत्येक बर्ष राज्यबाट अनुदान पनि बुझेकै छन् तर तिनीहरूले के काम गरेका छन् कसैलाई थाहा छैन । हामीमध्ये कतिपयले यो पहिलो पटक सुनेका पनि हुन सक्छौं । नेपालमा जस्तै अन्य देशमा पनि निजी अस्पताल छन् । उनीहरूले अघिपछि भन्दा बिपदमा राज्यलाई बढी सहयोग गर्छन् । बेलायतमा हेरौं । कोरोनाका कारण बेलायतमा गत दुई हप्ताअघि अस्पतालमा बिरामी भर्ना गर्न गाह्रो थियो तर त्यहाँको निजी अस्पतालले अहिले आठसय बेड राज्यलाई दिएका छन् । त्यो पनि उपकरण सामाग्रीसहित ।
हामी कहाँ बेड दिनुका त कुरा छोडौं ज्वरो आएका सामान्य बिरामीलाई उपचार दिन छोडेर गेट बन्द गरेर बसेका छन् । भोली फेरी कोरोनाको प्रकोप गएपछि यि निजी अस्पतालमा सबै चीज छ आउनुस् भन्ने छन् । राज्यले निजीसँग राम्रो सम्बन्ध कायम होस् भनेर सहकार्यमा काम गरिराखेको हुन्छ । हरेक बर्ष थप नयाँ डाक्टर उत्पादन हुन भनेर छात्रवृत्ति दिएको हुन्छ तर निजी भने आफ्नो सम्बन्धन आउने बेलासम्म सबै कुरामा सहमत हुने तर पछि आफ्नो औकात देखाईहाल्ने गर्छन् । निजी अस्पतालले डरका कारण यसो गरेका होलान् तर कोरोना संक्रमितका लक्षणहरू देखिए सरकारीमा रेफर गर्न सक्छन् सक्थे । अहिले निजीले देखाएको व्यवहारले गर्दा नियमित रुपमा उपचार गरिराख्नु पर्ने अन्य रोगीहरू समेत उपचार हुन सकेको छैन । यो समयमा अस्पतालमा उपचारका लागि आउने सबै कोरोनाका संक्रमित होईनन् । यो बेला सरकारलाई सहयोग गर्नु सबैको कर्तव्य हो । राजनैतिक पाटीले मध्यावधी गर भन्ने, कसैले मन्त्री फेर भन्ने समय जस्तो निजीले आफ्नो अस्पतालको ढोका लगाएर बस्ने समय होईन । यदि आपतमा निजी अस्पतालको काम छैन भने यिनीहरू के का लागि खोल्ने दिने ? ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->