गाउँले मान्छे सानैदेखि बजारिया भैयो । बजारिया भएपछि धेरै कुरा आँफै सिकाउँदो रहेछ । सिकायो । अझ विभिन्न जिल्लाका शिक्षित व्यक्तिहरु कर्मचारी भएर जिल्लामा आएकाहरुको अनुभव र विचार सुनेर धेरै पढाउँदो रहेछ । सिकाउँदो रहेछ । रेडियोमा सुनिने मान्छे पनि सदरमुकाम बजारमा आउँदा र देख्दा भगवाननै आएजस्तो लाग्ने रैछ । बचपनमा यस्तै लाग्यो एकचोटी अर्थात् जीवनको एक समयमा । यस्तै समयमा जनकवि केशरी धर्मराज थापा पनि बागलुङ बजारमा आए । उनको ‘हो हो काले हो हो, हो हो माले हो हो’ भन्ने गीत त्यतिबेला निकै चर्चित थियो । उनै गायक आएको देखेर वरिपरि मान्छे झुम्मिन्थे । कौतुहलता सबैलाई हुन्थ्यो, मलाई पनि भयो । उनकै गीत गाएर उनलाई संझदा गायक खुशी हुनुको सट्टा सननन्न सन्के उनी । यस्तो पनि मैले देखेको छु बजारमा । उनकै फ्यानलाई लखेटेका छन उनले । तमासानै देखाए त्यतिबेला उनले । उनीजस्तै अरु क्षेत्रका पनि बजारमा आए । मतलब, बजारले अनेक अनेक देखाउँछ । अनेक अनेक सिकाउँछ । बजारले सनक, तमक र सबक सबै देखाउँछ र सिकाउँछ । यस्ता सबैकुरा गाउँमा त्यतिबेला संभव हुन्थेन । यसैताक तारादेवीले गाएको ‘शुभकामना’ शब्द भएको गीत सुनेको छु । त्यसपछि अरुणा लामाले मलाई शुभकामना चाहिन्न भन्ने गीत सुनेको छु । ऊ बेला सुन्न पनि बजारमा हुनु सजिलो हुन्थ्यो । अर्थात् बजारमा सिमित रहने कुराहरु ऊ बेला गाउँमा हुदैनथे ।
त्यस्तै जन्मदिनमा जन्मोत्सव मनाउने त राजपरिवारको मात्रै हो भन्ने लाग्थ्यो । यो पनि बजारमै हुन्थ्यो । राजारानीका जन्मदिनमा हर्षोल्लासपुर्वक बजारमै जन्मोत्सव मनाईन्थ्यो । स–सानो छँदैदेखि कैयौं जन्मोत्सवमा विद्यालयको तर्फबाट जयजयकार गर्दै उफ्रियो । यो पनि बजारिया स्कुलको विद्यार्थी हुनुको फाईदा थियो । परपरका विद्यालयका विद्यार्थी यसमा भाग लिन असंभव हुन्थ्यो । कस्तो अचम्म ! आफ्नो जन्मदिन थाहा नहुने तर ठुलामान्छेका तिथि मिति थाहा पाईने । उतीबेला धेरैजसोलाई यस्तै हुँदो हो । म पनि सात आठ कक्षा पढ्ने सानै मुन्छे थिएँ ।
म सानो बजारिया छँदा नयाँवर्ष पनि वर्षैपिच्छे आउने गथ्र्याे । चैत्र मासन्तमा भोलीको नयाँवर्षका लागि शुभकामना भन्दै एकापसमा शुभकामना आदान–प्रदानका बोलीहरु पनि बजारमै सुन्थें । ऊ बेलाका हाकिम सा’वहरु पनि ‘ह्याप्पी न्यू इयर’ भन्थे । यसो भन्दा उनीहरु पनि आँफुलाई सरदर भन्दा फरक खालको अनुभूति गर्थे । यो भनेको के हो नबुझ्ने अवस्था मेरो थियो । यसो भनेर के हुन्छ ? नभने के हुन्छ ? यी प्रश्न मैले बुझ्दैनथें । त्यतिबेला नबुझेपनि अहिले त्यो समय बुझ्छु । तर त्यतिबेला यसो भन्दा आत्मियता जनाउन मद्दत गथ्र्याे । भन्ने मान्छेले एकवर्षसम्म कम्तिमा भन्नेलाई शुभ चिताउँथ्यो । अशुभ कहिल्यै नहोस भन्थ्यो । एकापसमा नैतिक बन्धनको डोरीले बाँध्थ्यो । कसमकस गरेर कसैसंग कुनै स्वार्थ राख्दैन्थ्यो । न लेना न देना । उसो त, शुभकामना भनेर आजसम्म कसलाई के भयो केही थाहाछैन तर वर्षैपिच्छे यिनै कुरा दोहोरिन्थे । कसैले कसैलाई शुभकामना भनेर उसको जीवनमा कहिल्यै केही परिवर्तन देखिदैनथे । समयले जे गथ्र्यो त्यहि हुन्थ्यो तर भन्नूपर्छ भन्ने फेसन बजारमा बसेपछि आउने रहेछ । एक पटक मैले पनि शुभकामना भन्दिन्छु भन्दै ड्रईङ पेपरका टुक्रा कार्ड बनाएर साथीभाइलाई बाडें । उनीहरुलाई मेरा शुभकामनाका कुराले के के भयो भएन थाहा भएन । तर यसो गर्दा म बजारिया भने भएँ । मलाई पनि खासै केही फरक पारेन । मैले थालेका कुराले अरुलाई पनि प्रभाव पारेछ । उनीहरुले पनि यसै गर्न थाले । त्यो क्रम चल्दै गयो, चलिरह्यो । आ–आफ्नो मिहिनेत र परिश्रमले जो जे बने बने तर कसैको भाग्यले कसैलाई केही खन्याएन । कसैको भकारी भरिएन । कसैको चूल्हो चम्केन । यति थाहा हुँदाहुँदै पनि आजको यो चरम उत्कर्षमा पुगेको प्राविधिक युगमा झन सरल र सरस पाराले शुभकामना व्यक्त गर्ने माध्यम पाएका छौं । मिठा मिठा र सुमधुर संगीतमय शुभकामना सन्देश निमेष भरमा संसारभरमा रहेका आफन्तजनलाई पठाउन पाईन्छ र पुग्छन् ।
हिजोका ती बालादिनमा परिश्रमयुक्त ड्रईङ पेपरमा कोरेका गह्रुङ्गा शुभकामनाका भाव भन्दा कैयौं गुणा कमजोर, नाजुक र हलुङ्गा शुभकामना लाग्छन आजका ‘स्कृन टच’ शुभकामनाहरु । रुपरंग उडेका फुस्रा लाग्ने यस्ता शुभकामनाभन्दा अहिले पनि ड्रईङ्ग पेपरका सानो टुक्रामा शुभकामना लेखेर दिनमन लाग्ने मान्छेको नाम टिप्न मनलाग्छ । त्यस्तो शुभकामना जुन, सगरमाथाभन्दा माथी उठेको र सागरभन्दा गहिरो हार्दिकता र आत्मिय पनि हुन्थ्यो ! अब त्यस्ता अक्षरले शुभकामना कहिले लेखुँला ? खैर, लेखुँला नलेखुँला आफ्नै ठाउँमा छ । अन्त्यमा नयाँवर्ष २०७७ को शुभ अवसरमा सम्पुर्ण दाजुभाइ दिदीबहिनीहरुमा कोरोनामय दुःख कष्ट नाश भएर सुखद बिहानीको उदयका लागि हार्दिक मंगलमय शुभकामना टक्रयाउँदछु । धन्यवाद ।





