बागलुङ, ५ बैशाख – लकडाउनको समयमा रोजगारी गुमेर गुजारा नचलेकाहरुलाई तीनै तहका सरकार र अभियान्ताहरुले राहत बाँडीरहेका छन् । टोल टोलमा पुगेर बाँडिएका राहत सामग्रीहरुमा विपन्न र मजदुरहरुको मात्रै होईन, हुनेखानेको पनि लावालस्कर देखिन्छ । कतिले त दोहोराई तेहराई पनि राहत लिएका छन् । देशभरीनै विपन्न र मजुदरलाई बाँडिएको राहतमा हुनेखानेको नजर परेका समाचारहरु सार्वजनिक भैरहेका बेला राष्ट्रिय गौरवको आयोजना मध्येपहाडी लोकमार्गको बागलुङ–अक्षेते खण्डमा काम गर्ने मजदुरहरुले भने आफ्नो उदारता देखाएका छन् । आयोजनामा काममै रहेका बेला लकडाउन भएपछि आयोजनास्थल नजिकैको सामुदायिक भवनमा बसेका मजदुरहरुले अभियान्ताहरुले दिएको राहत सामग्रीमध्ये चामल लिन अस्वीकार गरे ।
काँठेखोला–१ पाला खहरेको सामुदायिक भवनमा वसेर लकडाउनको अनुशासन पालना गरिरहेका १६ जना मजदुरले आफु भएको स्थानमा नै पुगेको चामल लिएनन् । बरु उल्टै उनीहरुले त्यो चामल समस्यामा परेका अरु मजदुरलाई दिन सुझाए । घर फर्किन नपाएर अपलपत्र परेको जानकारी पाएपछि बिहिबार दिउसो उनैं मजदुरहरु भेट्न राहत सामग्री बोकेर बागलुङ नगरपालिका–३ का वडाध्यक्ष र अभियान्ता राम शर्मासहितको टोली पुगेको थियो । राहत सामग्री बोकेर त्यहाँ पुगेका उनीहरुलाई चामल आफुसंग रहेकाले अरु समस्यामा परेकालाई दिनु भनेर फिर्ता पठाइदिए ।
खहरेको सामुदायिक भवनमा बसेका मजदुरहरु भेट्न जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्ट, वडाअध्यक्ष लक्ष्मी बास्कोटा, पत्रकार महासंघका अध्यक्ष दिल शिरीष लगायत पुगेका थिए । अभियान्ता राम शर्मालाई उनीहरुले थप समस्या भएका मजदुरलाई सहयोग गर्नुभन्दै राहत सामग्रीमा रहेको चामल नलिने भन्दै फिर्ता पठाए । ‘उहाँहरुसंग चामल रहेछ, हामीले लगेको केही दाल, तरकारी र पाउरोटी मात्रै मजदुरहरुले लिए, शर्माले ढोरपाटनसंग भने, ‘चामल लिन मानेनन् । उनीहरु ठूलो मनका धनी रहेछन् ।’
मजदुरहरुले चामल आफ्नो स्टोरमा रहेकाले अहिले आफुहरुलाई आवश्यक नभएको वताए । ‘यहाँ स्टोरमा सामान राखेर राहतको लाईनमा बस्ने छन्’ शर्माले भने, ‘तर मजदुरहरुको कत्रो ठुलो मन ! चामल हामीलाई चाहिँदैन अरुलाई दिनुस भने ।’ जापानमा रहेका बागलुङका दिपक रेग्मीले पठाएको १५ हजार रुपैयाँको सामग्री खरिद गरी राहत वितरण गर्न उनीहरु मजदुरकोमा पुगेका थिए । आँफुहरुसँग केही दिनलाई पुग्ने चामल स्टोरमा रहेको वताएपछि दाल र तरकारी मात्रै उनीहरुलाई प्रदान गरिएको थियो ।
‘हामीसँग पहिलै ल्याएको चामल छ, अझै केही दिनलाई पुग्छ किन धेरै लिनु !’ कैलालीको गौरीगंगा नगरपालिका–७ का डिलकुमार रोकाले ढोरपाटनसंग भने, ‘हामी भन्दा धेरै समस्यामा परेका अरु होलान, उहाँहरुलाई पहिला दिनुस भनेर पठायौं ।’ त्यहाँ उनी लगायतका १६ जना मजदुरहरु वस्छन् । सिद्धि शाही प्रकाश निर्माण कम्पनीने कालोपत्रेका लागि काम गरिरहेको मध्येपहाडीको यो खण्डमा काम गर्ने उनीहरु १९ जना थिए । लकडाउन हु्नुपूर्व तीन जना घर फर्केकाले अहिले १६ जना एउटै भवनमा बस्दै आएका छन् ।
निर्माण कम्पनीबाट काम गरेको केही महिनाको रकम लिन बाँकी छ । ‘केही महिनाको काम गरेको पारिश्रमिक लिन बाँकी रहेको भएपनि तत्कालका लागि कुनै समस्या छैन, त्यहाँ रहेका मजदुरले एकै स्वरमा भने, कम्पनीको काम पेटीमा लिनु भएको दाईले पैसा आएकै छैन भन्नु भएको छ ।’ ‘ठेकदार त कहाँछन थाहा छैन, रोकाले भने, ‘समस्या परे यहाँ सबै हुनुहुन्छ, पहिला त हामी भन्दा धेरै समस्यामा रहेकालाई हेरीदिए हुन्थ्यो ।’
उनीहरुमध्ये केहीका परिवार र बच्चाबच्ची समेत यहीँ बस्छन् । ‘हामी सडक छेवैमा भएपनि सुरक्षित बसेका छौं, खानको कुनै समस्या छैन’ रोका भन्छन्, ‘हामी भन्दा दुःख पाएका धेरै छन् नि, उनीहरुलाई पहिला दिनु पर्छ ।’ कम्पनीले पहिलेनै दिएको खाद्य सामग्रीका कारण अहिलेसम्म चलेको छ । अहिलेको लकडनसम्मलाई पुग्ने सामग्री उनीहरुसंग छ । लकडाउन थपिएर समस्या परे बल्ल राहत माग्ने उनीहरुले वताए ।





