बागलुङ, ४ बैशाख– लकडाउनको कारण देखाउँदै बैंकहरुले समयमा रकम जम्मा नगरेका कारण सरकारले उपलब्ध गराउँदै आएको बागलुङका लक्षित वर्ग सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित भएका छन् । बैंकमा भत्ता रोकिँदा जिल्ला करिब २० हजार लक्षित वर्ग समयमै भत्ता पाउनबाट बञ्चित भएका छन् ।
जिल्लाको ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाबाहेक सबै स्थानीय तहले बैंकको खातामा सामाजिक सुरक्षा भत्ताबापतको रकम जम्मा गरिसकेका छन् । ढोरपाटनले कर्मचारी खटाएर टोल–टोलमा पुगेर नगदै भत्ता बाँडिरहेको छभने बडिगाड नगद दिने वा बैंकमार्फत जाने, अन्यौलमा छ । स्थानीय तहले सम्झौता भएका बैंकलाई रकम पठाईसके पनि ज्येष्ठ नागरिक, असहाय, अपांग, एकल महिला लगायतका प्रभावित समुदायका नागरिकको बैंक खातामा रकम जम्मा भएको छैन ।
दोस्रो चौमासिकबापतको भत्ता फागुनको अन्तिम साता वा चैतको पहिलो साताभित्रै यहाँका स्थानीय तहले उपलव्ध गराउँदै आएका थिए । गत बर्षजस्तै स्थानीय तहले बैंकमार्फत भत्ता बितरण हुनेगरी खातामा रकम जम्मा गरेको भएपनि बैशाखको पहिलो सातासम्म सम्बन्धित व्यक्तिको खातामा रकम जम्मा नभएको गल्कोट नगरपालिका–७ कि ज्येष्ठ नागरिक पवित्रा थापाले बताईन् । ‘यसो खर्च चल्थ्यो, किन होला बैशाख लाग्दा समेत भत्ता आएन’ थापाले भनिन् ।
गल्कोट नगरपालिकाले भने वडाअनुसार सम्झौता भएका सबै बैंकको खातामा रकम जम्मा गरिसकेको दाबी छ । ‘भत्ता बैंकले नै बाँड्ने हो । खातामा पठाए पनि, नगद दिए पनि खातामार्फतनै बैंकले दिन्छ’ प्रमुख प्रशासकीय अधिकृत शिशिर शर्माले भने ‘हामीले समयमै पठाएका हौ,ं लकडाउनका कारण बैंकले खातामा पठाउन सकेका छैनन् ।’ सरकारले बैंक तथा बित्तिय संस्थालाई पालैपालो दैनिक दुईघण्टा मात्रै भएपनि सेवा दिन भनेको छ । भत्ता सम्बन्धित व्यक्तिको खातामा जम्मा हुने भएकाले बैंकहरुले आन्तरिक तयारी गरेर रकम जम्मा गर्न सक्ने जानकारहरु बताउँछन् ।
निसीखोला गाउँपालिकामा पनि समस्या उस्तै छ । ‘यो बर्ष केही ढिला निकासा आयो, तर हामीले बैंकलाई रकम उपलव्ध गराईसकेका छौं’ निसीखोलाका प्रमुख प्रशासकीय अधिकृत इश्वरलाल शाक्यले भने ‘भत्ता पाउनेहरुको खातामा रकम जम्मा गरेर वितरण गर्ने काम बैंकको हो ।’
बागलुङ, गलकोट नगरपालिका, काठेखोला, बरेङ, तमानखोला, ताराखोला गाउँपालिका र जैमिनी नगरपालिकाको १ देखि ५ वडामा बैंकमार्फत भत्ता वितरण हुँदै आएको छ । बैंकमार्फत भत्ता उपलव्ध गराउँदै आएको बडिगाड गाउँपालिकाले भने अहिलेसम्म रकम बैंकको खातामा जम्मा गरेको छैन । ‘संकटको समयमा बैंकमार्फत जाँदा भीडभाड हुने र समयमा पनि नपुग्ने भएकाले बिकल्पको खोजी गरिरहेका छौं’ प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण सुवेदीले भने ‘वडा सचिव वा हाम्रै कर्मचारी खटाएर भएपनि बाँड्ने की भन्ने विषयमा छलफल भैरहेको छ ।’ उद्यपी उनले स्वास्थ्य र शिक्षा शाखाअन्तर्गतका कर्मचारीलाई परिचालन गरेर भत्ता बाँड्ने तयारी रहेको उनले बताए ।
बरेङले लकडाउन हुनु पूर्वनै बैंकलाई निकासा दिएको हो । ‘हामीले पठायौं, उहाँहरुले बाँड्न भ्याउनुभएन’ प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले भने– ‘केही दिनमा खातामा रकम जाला ।’
जैमिनीले पाँच वडामा बैंक र बाँकी पाँचमा वडा सचिवमार्फत भत्ता वितरण गर्दै आएको छ । ‘पाँच वडाको भत्तारकम बैंकलाई निकासा गरेका छौं, बाँकी वडामा वडासचिवलाई पेश्की दिएर भत्ता वितरणको तयारी हुँदाहुँदै लकडाउन भयो’ प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माले भने ‘बैंकले भीड हुने भएकाले वितरण गरेको छैन जस्तो लाग्छ ।’ जैमिनीमा एनएमबि बैंकमार्फत भत्ता वितण हुँदै आएको छ ।
बैंकहरुले ढिलागरि निकासा आएको र लकडाउनको समयमा भिड नियन्त्रणकै लागि भत्ता वितरण रोकिएको दाबी गर्दै आएका छन् । ‘हामीले रोक्नुपर्ने कुनै कारणनै छैन, लकडाउन र कोरोनाको त्रास बढ्यो’ बरेङमा रहेको प्रभु बैंकका शाखा प्रबन्धक रेशम आचार्यले भने ‘भत्ता वितरण गर्दा भीड लाग्छ, कसरी नियन्त्रण गर्नु ।’ एउटै ल्याप्चे प्रयोग गर्नुपर्ने र बृद्धबृद्धाका सहयोगीसमेत आउने भएकाले भीड बढ्ने र संक्रमणको त्रास हुने उनको दाबी छ ।
‘भत्ता त बाँड्ने तयारी थियो, माथिबाट अहिले नगर्नु भन्नुभयो’ एनएमबि बैंक कुश्मीशेराका शाखा प्रबन्धक योगेश पाण्डेले भने ‘आउँदो सोमबारसम्म सम्बन्धित व्यक्तिको खातामा रकम पठाउँछौं ।’ सामाजिक सुरक्षा भत्ता लिनेहरुका सबै विवरण अध्यावधिक गर्नुपर्ने भएकाले पनि समस्या भएको उनीहरुको दाबी छ ।
बागलुङमा करोडौं रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण हुन्छ । स्थानीय तहबाट निकासा भएको सबै रकम बैंकको खातामा गएर अल्झिएको छ । भत्ता लिने सबैको बैंक खाता भएपनि खातामा रकम पठाउन समेत बैंकहरु तयार भएका छैनन् । ‘रकम खातामा राखिदिए अफ्ठेरो परेकाले सुरक्षित तरिकाले लिनसक्थे’ गल्कोट नगरपालिकाकी महिना नेतृ ललिता थापाले भनिन् ‘अफ्ठेरोमा काम टर्नेगरी सोच्नु पर्छ ।’





