बागलुङ, ६ बैशाख – जिल्लाको ढोरपाटन नगरपालिकाले वडाको टोल टोलमा गएर सामाजिक सुरक्षा भत्ता वितरणको काम थालेको छ । कार्यालयमा कार्यरत चार जना कर्मचारी खटाएर सामाजिक सुरक्षा भत्ता वितरण थालिएको हो । ९ वडा रहेको नगरपालिकामा सवै वडामा चरणबद्ध रुपमा सामाजिक भत्ता वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी कोपिला न्यौपाने, अधिकृतहरु हिरालल खनाल, नन्दराम भुसाल र वडा नं. १ का सचिव दिव्य श्रीषलाई भत्ता वितरणकालागि खटाईएको प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेलले बताए । उनीहरुले वडाका टोल टोलमा पुगेर अध्यावधि रहेका जेष्ठ नागरिक, असाहय, एकला महिला र अपांगता भएका व्यक्ति लगायतलाई भत्ता वितण गर्ने छन् । नगरपालिकाले कार्यपालिका कर्मचारी खटाएर थालेको सामाजिक सुरक्षा भत्ताको प्रकृयामा वडातहमा भने बिमति देखिएको छ । केही वडा अध्यक्षले बिरोध गरेका छन ्भने केहीले असन्तुष्ठी जनाएपनि मौन बसेका छन् ।
वडा सचिवहरु भने नगरप्रमुखको क्रियाकलापको बिरुद्धमा उत्रेका छन् । ‘सामाजिक सुरक्षा भत्ता बाँड्ने काम वडा सचिवको भएकोमा नगरप्रमुखले आफ्ना आसेपासेलाई पेश्की दिएर बाँडेका छन्’ वडा नं ८ का सचिव बिराज बिकले भने, ‘संघिय सरकारको कार्यविधि स्थानीय सरकारले उलंघन गरिरहेको छ ।’ कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण भीड नगर्ने सरकारी नीति बिपरित सामाजिक सुरक्षा भत्ता बाँडिएको ती सचिवले टिप्पणी गरे ।
भुजीखोला तर्फका वडाहरुमा सामाजिक सुरक्षा बितरण भएको छ । वडा नं. ७, ८ र ९ मा बितरण भैसकेको छ । यो क्रम सबै वडामा पुग्ने छ । ‘कर्मचारी खटाएर भत्ता वितरण गर्नु नराम्रो होईन तर लकडाउनको समयमा भिडभाड हुनु भएन’ प्रमुख प्रशासकीय अधिकृत पोखरेलले भने, ‘दुरी कायम गरेर भत्ता बाड्नुस भनेका छौं ।’ नगरप्रमुखले वडा सचिवहरु मार्फत भत्ता वितरण गर्दा पटक पटक अनियमिता भएको गुनासो आएको भन्दै यसपटक नगरपालिकाका कर्मचारी मार्फतनै भत्ता बाँड्न लगाएको उनले बताए ।
‘साथीहरुले नगरप्रमुख मार्फत एप्रुभ गराएर काम गर्नु भएको होला, म भर्खर आएकाले निर्णयको बिषयमा जानकारी भएन’ पोखरेल भन्छन् ‘सचिवहरु मार्फतनै गराउन पाएको भएपनि घरघरमै पुग्थ्यो ।’ सामाजिक सुरक्षा भत्ता वितरणको काम सुरु भएपछि वडा सचिवले सामुहिक डेलिगेसन गएर केही समयपछि बितरण गर्ने कार्यतालिका बनाउन आग्रह गर्दा नगरप्रमुखले खान नपाएर बाँड्न नगएको आरोप लगाएको सचिवहरुको गुनासो छ ।
नगरप्रमुख देवकुमार नेपालीले बर्षौदेखि खाइपाई आएको अबस्था हटेकाले सचिवले असहयोग गरेको आरोप लगाए । उनले एउटै मानिसको ५ ठाउँमा नाम राखेर सचिवहरुले ब्रम्हलुट गरेकोमा नगरपालिकाले बाँड्दा असहयोग भएको बताए । अबस्था हेरेर थोरै मानिसको जमघटमा बितरण गर्न लगाएको छु, उनले भने । नगरपालिकाले शिक्षा अधिकारी तथा सूचना अधिकारी समेत रहेकी कोपिला न्यौपानेलाई पेश्की दिएर भत्ता बितरण गरेको हो । उनीसँगै अरु तीन जनापनि खटेका छन् । वडा नं. ८ का सचिव बिकले यो कानूनले नदिएको काम गरेर मेयर सापले बदनाम गर्न खोजेको आरोप लगाए । ‘सामाजिक सुरक्षा भत्ताको प्रावधान आएपछि सचिवले पेश्की लिएर काम गरिरहेका छन्, तर २०५१ देखिको प्रावधान मेट्न खोजियो’ बिकले भने, ‘कार्यविधि र लकडाउन मिचेर भत्ता बाड्ने बेला होइन ।’ राहत बितरण गर्नु परेपनि टोलमा गएर बितरण गर्नुपर्नेमा वडाको एकैठाउँमा जम्मा पारेर गरिएको उनले बताए ।
नगरपालिकाकै अर्का कर्मचारी दिब्या श्रीष पनि बितरण अभियानमा सहभागी छन् । केही स्थानमा नगरप्रमुख आँफै अतिथि भएर पुगेको वडा नं. ४ का अध्यक्ष तिलक श्रीषले बताए । ‘लाजमर्दो काम भएको छ, यतिबेला राहत दिऔं, त्यो पनि टोलमा पुगेर दिने हो भन्दा हामीलाई वास्ता गरिएको छैन’ पुनले भने, ‘बैठक बसेर केही कार्यक्रम तय गर्न नसक्ने तर रकम निकासा गरेर बाड्ने र भेला हुने बेला होइन ।’ नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता बैंक मार्फत बितरणको नीति ल्याएको छ । तर यो नगरपालिकाले अहिले सम्म नगद दिंदै आएको छ ।
भौगोलिक हिसावले कठिन रहेकाले बैंक मार्फत भत्ता वितरण गर्न तत्कालका लागि कठिन रहेको प्रमुख प्रशासकीय अधिकृत पोखरेल बताउँछन् । सामाजिक सुरक्षा ऐन २०७५ को दफा १६ ले परिचय पत्रको आधारमा स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वितरण गर्न पाउने भनेको छ । उपदफा ३ बमोजिम सरकारले राजपत्रमा सूचना प्रकाशन गरेको क्षेत्रमा तोकेको मितिदेखी सामाजिक सुरक्षा भत्ताको बितरण बैंकिङ प्रणाली मार्फत वितरण गर्ने भनिएको छ ।
नगरप्रमुख देवकुमार नेपालीले ४० लाख रुपैयाँको राहत कोष बनाएको बताए । गण्डकी प्रदेश सरकारले दिएको १० लाखमा नगरपालिकाले रकम बढाएर ४० लाख बनाएपछि बितरणको तयारी गरेको बताए । ‘हातमा दुइ तोलाको औठी लाएकालाई होइन, बिपन्न, दलित र कमजोर आर्थिक अबस्था भएकालाइ दिइन्छ’ नेपालीले भने, ‘एकल महिलालाई पनि नछुटाइ दिने भनेका छौं ।’ रकम नपुगेको अबस्था र गरिब मर्ने अबस्था आएमा ६ महिनलाई म एक्लै खुवाउँछु भन्दा धेरैलाई डाह भएको उनले टिप्पणी गरे । अपांग र वृद्धाहरुलाई घरघरमा नै पुराएका छन् भने अन्य अन्यलाई टोलटोलमा पुराएका छन् ।
तस्विर सौजन्य : ऋतुवर्ण पौडेल





