आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

ए कामरेड ! खै मजदुरको सरकार ?

ए कामरेड ! खै मजदुरको सरकार ?


  • राम सुवेदी
  • बैशाख ७ २०७७, आइतबार

संसारका मजदुरहरु एक होऔं । कामरेडहरुको जनैमन्त्र । श्रमजीवी, गरिब, निमुखा वर्गको रक्षार्थ कम्युन व्यवस्था । कम्युनिष्ट आदर्श, निष्ठा र दर्शन । वर्गिय मुक्तिका खातिर वर्ग संघर्ष, वर्ग संघर्षको बलमा जनवादी व्यवस्था । जनवाद, साम्यवादहुँदै समाजवादसम्मको यात्रा कम्युनिष्ट दार्शनिक कथन ।
कोरोना संक्रमकण (कोविड—१९) का कारण संसार अत्तालिएको अवश्य हो । तर सबै आत्तिएर वा अत्तालिएर मात्र हुँदैन । सरकार र सरोकारवाला त्यसको जिम्मेवार बन्नु पर्दछ । यो देशमा आज त्यहीँ कम्युनिष्ट दर्शन, सिद्धान्त र आचरणको शिक्षार्थी सत्ता बागडोरमा छन् । कोरोना कहरले सबैभन्दा बढी यो देशमा गरिखाने वर्ग त्राहिमाम भएको छ । उनीहरुलाई खाने गास, बस्ने वास व्यवस्थापनमा न यसअघि सरकारको कार्यक्रम बन्यो, नत यो समयमा प्रबन्ध गर्न जिम्मेवार रह्यो । कोरोनाले कामरेडहरुको साख चुँड्यो, दर्शन भुत्ल्यायो, आदर्श चिप्ल्यायो ।
हिजो जुन वर्गको लागि आन्दोलन गरियो, जस्को नाममा बन्दुक उठाइयो, जस्को पक्षमा भन्दै जेलनेल गरियो र आज त्यसकै बलमा सत्ता आरोहण गरियो । के त्यही वर्गले सोध्ने गरेको प्रश्न, खै मजदुरको सरकार ? उत्तर छ कामरेडहरु ? भन्नुहोला स्थानीय तह तिम्रो सरकार हो । त्यत्रो प्रदेश सरकार बनेका छन् । यत्रो शक्तिशाली संघीय सरकार छ । कहाँ देखिएन सरकार ? विचरा ! मजदुरहरुका प्रश्नले कामरेडहरुका आङ जिरिङ्ग हुँदै हुँदैनन । लज्जाबोध कत्तिपनि हुँदैन । आत्मग्लानी भाव नै जाग्दैन । जनता जनार्दन आदर्शका शब्दजाल हुन् । माल त तिनै हुन जो जनार्दनका बलमा कठ्पुतली ओहोदा आसिन छौं । कि कसो कामरेडहरु ?
मजदुरको सरकारले यस्तै गर्छ ?
कामरेडहरु ! कोरोना प्रकोपबाट तपाई बस्न, राज्यले कोठा भाडा तिर्छ । खाने प्रवन्ध गरेको छ । लाउने, नुहाउने, ओढ्ने, ओछ्याउने, सुत्ने घस्ने सबै प्रबन्ध गरिएको छ । किनभने तपाईहरु संसारका मजदुरहरुका नेता हो । श्रमिक वर्गको हित र उत्थानका लागि संघर्ष गर्नुभएको महान् व्यक्ति हो । देशलाई सिंहापुर बनाउने सपना तपाईहरुसँग छ । जाबो मजदुर वर्गको के छ र ? श्रम गर्ने पाखुरा हुन, लुला होउन वा बलिया, लकडाउनले हथकडी लगाईहाल्यो । हथकडी लगाइएका हातले आफ्नै जीउ पाल्न नसक्ने रहेछ । त्यहीँ पाखुराका भरमा उसका परिवार थिए, रासन, आसन र बासन दिलाउने एउटा मजदुर आज विखलबन्धमा पर्दा ऊ आफूबाहेक संसारमा को रहेछ र ? सरकार बहाना न हो । देशका कुना कन्दराबाट सडक बनाउनेहरु, भवन बनाउनेहरु, (स्कुल, पानी, अस्पताल, पक्की वा कच्ची सडक, नदितटबन्ध) मा ज्यान रगट्नेहरु यो देशका खासा कामरेडहरुका आँखामा उपयुक्त मजदुर भएनन् । तपाईहरु त कागजमा संसारका मजदुरहरु संगठित गर्दै हुनुहुन्छ ।
यहाँहरुले भनेको स्थानीय सरकारले ति मजदुरको संरक्षणमा काम गर्ने चिन्तन राखेन, बल्लतल्ल गरिएको खाद्यन्न राहतमा मजदुरको थर ठेगाना खाजेर भोकै राख्नै नीति खोजियो । आफ्नो स्थानीय तहका भोटर थिएनन्, त्यसकारण उनीहरुको जस्वन रक्षाका लागि स्थानीय जनप्रतिनिधिहरु मापदण्ड बनाएर गरिखाने वर्गको पक्षपाती भए । संसारका मजदुर बटुल्ने र उनीहरुलाई संगठित गर्दै वर्ग संघर्षको लेपनले नेता भएकाहरु, जहाँबाट जहाँ गएर प्रतिनिधि बन्न नछेकिने तर भोको पेट, नाँगो जीउ भएका नागरिकको थातथलो खोज्ने क्या गज्जबको नीति पाइयो । लकडाउन छ, तपाईहरु आफ्ना परिवारसँग मोजमस्तीमा बाँच्ने, के मजदुरी गरेर बाँच्ने मजदुरहरुलाई आफ्नो भोको परिवार भेट्ने अधिकार हुँदैन ।
महिनौ लगाएर भोक–भोकै हिंडिरहेका उनीहरुलाई तपाईहरुको कुन सरकारले केही गर्न सक्यो ? कुन महानगर÷उपमहानगर÷नगर र गाउँपालिकामा श्रमीकहरुका लागि बस्ने बास, खाने गाँस र परिवारसँग पुग्ने आशाभरोसा राख्न सक्यो ? यहाँ लकडाउन पालना गर्नु गराउनु छ । लकडाउनमा परेकाहरुलाई सम्बोधन हुनेगरी राज्यका योजना केही आए ? उनीहरुको उचित प्रबन्ध र व्यवस्थापनमा केही गर्ने अाँट कसैमा आयो ? जनअनुमोदितहरु लाचारहुँदै फोटो, भिडियोहरु मिडियामा हेरेर गज्जबले एक कप चियाकफी तुरियो होला । चट्टानी मन पग्लेन, लोभी र लाछी आँखामा दयाका आशु झरेनन् । यदी त्यस्तो हुँदो हो त, आज उनीहरुका लागि केही व्यवस्था हुन्थ्यो होला । त्यो काम तपाइहरुले गर्ने कुरा पनि भएन, ‘तपाईहरु त, मजदुरको नेता हो, आफै मजदुर त होईन ।’
मजदुर जनता तिमी कहिलेसम्म झुक्केर फसिन्छौ । राता झण्डा खुब समात्यौ । इन्कलाव जिन्दावादबाट खुब टाँठो गरी भट्टायौ । संसारका श्रमजीवीहरु एक होऔं । मजदुर एकताका लागि कम्युन व्यवस्था, कतिपटक कथ्यौ । आज देख्यौ त, तिम्रा नेताहरुको व्यवहार, भेट्याउँछौ, इमान, जमान र कर्तव्य ? चुनावमा चोक्टामा भोट बेच्यौ । रसरङ्गमा रमायौ, आज त आफ्नो कम्पारो आपैm समायौ ? पटपटि फुटेका तिम्रा खुट्टाले धुलो लतार्दै तातो घाममा सडकभरी भोकभोकै हिंड्दा भेट्यौ मजदुरहरु कही रहेछ, तिम्ले भोट हालेको सरकार ? तीन तहको सरकार छ रे त देशमा, कुन तहको सरकारले तिम्रो उद्धार ग¥यो ? कस्ले तिम्रो तिर्खा मेटायो, कस्ले भोको पेटमा एकछाक पा¥यो ? होईन भने चाउचाउ र पानी खाएर महिनौंको लम्बे यात्राबाट केही सिक्यौ ? हिजो बेचियौ, बिचौलियाको फन्दामा फस्यौं, छोटो बुद्धिले तत्कालको सानो लालचबाट अधिकार बेच्यौ र त चुपचाप, आँखामा नु्निला पानी खसाउँदै, सडक, जंगल र साँघुरा बाटाहरुमा भोकै तिर्खै हिडयौ । तिम्लाई पनि श्रमजिवी वर्ग पहिचानको राजनीति बल्ल घत बुझ्यो होला । प्रयोगमा तिम्लाई किनियो, प्रयोगमा आयौ, अब सकियौ, पाँच वर्ष कुरेर बस्नु, आजको दुःख त्यसबेला पोख्नु आजको हिसावकिताव कामरेडहरुलाई मिलान गरिदिनु तर लालचमा फसेर आफूले आफैलाई लिलाम नगरिदिनु । किनकि भोट माग्न असली मजदुर आउँदैनन् । नक्कली मजदुर नेताहरुको हैसियत सधै यस्तै हो । जानी राख्नु ।
कामरेडहरु ! रिसानी माफ पाऊँ
तपाईहरुलाई उच्च रक्तचापको बिमार बनाउन लेखकले कुनै दुराशय राखेको छैन । श्रमजिवीहरु ज्यान टकटक्याएर, प्रेसर, सुगर, मुटुरोग लगायतका दीर्घरोगको उपचार खर्च टार्छन । यहाँहरु जस्तो, सत्ता, भत्ता र ठेक्काले साँझ रंगीन पार्ने अवसर विचरा मजदुरहरुलाई फुर्सद पनि कहाँ होला र ? श्रमिकको दुरदशा देखेर उनीहरुको व्यवस्थापन, सहयोग र उद्धारमा सरकार चुपचाप नबसेको हेर्ने रहर हो । खान नपुग्नेलाई राज्यले पाल्छ । लाउन नपुग्नेलाई लाउन दिन्छ । गरिब, असाह्य, विपन्न र कमजोर नागरिकको राज्य सत्ता हुन्छ भन्ने पो कम्युन दर्शन मैले पढेको थिएँ । श्रमजीवी वर्गको हितमा श्रमिकहरु नै नेता हुन्छन् र आफ्ना समस्या बुझ्न सक्ने भावना त्यस्ता नेतृत्वमा हुन्छन् भन्नेपनि अध्ययनहरुले पढाउँदैछ । तर जो जहाँबाट श्रमजिवीहरुको नेता, साँसद, मन्त्री बन्नुभएको छ । के तपाईहरु कम्युन दर्शन अनुसारको, त्यो भावना बुझ्ने कामरेडहरु हो ? तपाइहरु कहाँ के श्रम गर्नुहुन्छ र भन्नुहुन्छ हामी श्रमजीवी वर्गको उत्थानमा छौं । लज्जाको प्रश्नलाई लज्जामै बस्न दिनुस् । वर्ग उत्थान र संघर्षका कुरा आफू हितका लागि बोलिएका झुठका पुलिन्दा हुन् । जो जति विक्यो, फैसला त्यहीं थियो । जस्ले जनप्रतिनिधि बनायो । आज श्रमिकहरुले पो सडक सडकबाट यहाँहरुको धज्जी उठाइदिएका छन् । यत्तिभन्दा गाह्रो नमानिदिनुस् । तपाईहरु झुठ बोलेर जनतालाई भोट माग्न हुन्छ भने, मैले देखेको लेखेर रिसानी गरिदिएको भए माफी माग्न पनि मिल्छ ।
पूँजिपति हुने रहरले राजनीतिमा हाम फालियो, पूँजिपतिहरुले श्रमिकवर्गको हितमा काम गर्दैन । चुनावमा चामल बाँडनु, दाल बाँडनु, रक्सी मासु र पैसा बाँडनु, कामरेडहरुको रहर कहाँ हो र, जनता त्यस्तै छन् । कार्यकर्ता उस्तै छन् । त्यो बेला नचाखे अरुबेला सुँघ्न समेत पाउँदैनन् । त्यसबेलाको काम अवैध थियो, यसवेला राज्यसत्ताको बागडोरबाट जनताकै पैसाले राहतका नाटक गरिंदैछ । खाद्यन्न किनेर तिनैलाई बाँड्ने र श्रमिक नेता जनप्रतिनिधिहरु स्टिक सेल्फी खिचिरहेका छन् । सत्य यहाँभन्दा बढी भेटिएन् । जे भेटियो, जे देखियो, त्यही बताउँदा, कन्सरी तत्छ भने तातोस् कामरेड ! सडकमा मजदुरहरुले बेइज्जत गरिदिए भनेर उनीहरुसँग भाउन्न नहुनुस् । कञ्चट नतताउनुस् । बरु जे गर्न छ त्यो गरिएनछ भनेर पश्चाताप गर्नुस् । तपाईहरुलाई कम्युष्टि हुने रहरले वर्गसंघर्ष, आन्दोलन, जनयुद्ध जस्ता बातले जनतालाई घात ग¥यो । संसारका श्रमजिवी एक होऔं भन्ने महान वाणी र आदर्शले कोरोना कहरमा च्यूत बनायो कि बनाएन ? सवाल यत्ति हो । ए कामरेड ! खै मजदुरको सरकार ?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->