बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

हाम्रो अर्थतन्त्र : जल, जंगल, जडिबुटीको सदुपयोग

हाम्रो अर्थतन्त्र : जल, जंगल, जडिबुटीको सदुपयोग


  • माधब शर्मा    
  • बैशाख ८ २०७७, सोमबार

देशव्यापी लकडाउनको समाप्ति पछि हामी चाँडै घरबाट बाहिर निस्कने छौं । कोभिड १९को संक्रमण अहिलेकै अवस्थामा रह्यो भने धेरैले ज्यान गुमाउनु पर्ने छैन । सरकारले अबलम्बन गरेको सचेत, अबिचलित र दृढ कदमको कारण धेरै जनको क्षति नभएपनि धनको क्षति व्योहर्नु पर्ने निश्चित छ । बिदेशी रेमिट्यान्स, भन्सार राजस्व, पर्यटन उद्योगबाट धानिएको हाम्रो राष्ट्रिय आयको महत्वपूर्ण भाग सखाप हुनेछ । अन्तराष्ट्रिय एजेन्सीहरूले गरेको प्रक्षेपण अनुसार कोरोनाको कहरपछि बिश्वमा एकतिहाईले आफ्नो रोजगारी गुमाउनु पर्नेछ  । त्यो आकडा अनुसार भन्दा पनि पचास, साठी लाखको बैदेशिक रोजगारीमा रहेका नेपालीहरूमध्ये करिब बीस लाख नेपालीहरूले रोजगारी गुमाउने अवस्था आउन सक्ने छ । यो बिश्वभर विकसित आर्थिक मन्दिसँग जुध्न अब पुरानो मान्यता, ढर्रा र आर्थिक प्रणलीमा बृहत परिबर्तन अपरिहार्य छ । यस अवस्थामा हामीले स्वावलम्बि अर्थतन्त्रको  बाटो पहिल्याएर आत्मनिर्भरको यात्रामा लाग्नुको बिकल्प छैन । यो यात्रा सजिलो भनेछैन, तर जतिसुकै अफ्ठयारो भएपनि हाम्रो गन्तव्य यो भन्दा अरू देखिदैन । अब आयातमुखि अर्थव्यवस्थालाई प्रतिस्थापन गर्नै पर्ने हुन्छ । यसो गर्दा परम्परागतरूपमा सजिलोसँग आएको भन्सारबाट प्राप्तहुने राजश्व त्यसै पनि घट्ने नै भयो । बिश्वव्यापी मन्दीको चपेटाबीच पर्यटन उद्योग फष्टाउने कल्पना सम्मगर्न नसकिने भएकोले पर्यटन उद्योगबाट आय र रोजगारीदुबै लगभग बन्दकै अवस्थामा पुग्ने छ । यसै  बीच बैदेशिक रोजगारी गुमाएका कारण  देशमा फर्किएका झण्डै बीसलाख जनतालाई देश भित्रकाम र मामको व्यवस्थागर्ने अर्को ठूलो चुनाौती पनि थपिएको हुनेछ ।

कोभिड १९ को महामारीपछि हामी घरबाट बाहिर निस्कदा अर्थतन्त्रको निम्छरो र कारूणिक अवस्थाबाट गुर्जिनु परेपनि हाम्रो जीवनभने चलायमान रहिरहन्छ । पूर्णबिराम पनि लाग्दैन, समाप्त पनि हुदैन । किनभने मानव सभ्यताको १३ औँ शताव्दीयताको मात्र कुरा गर्दापनि मानिसले आजको दिनसम्म आईपुग्दा वुवोनिकल्पेग भनिने एलोफिवर देखि विफर, हैजा, स्पेनिस फ्रल्यू, इबोला, एचआइभि एड्स र पोलियोबाट हायलकायल हुदाँ पनि मानिसले हरेस खाएन । उसको जीवनचक्र रोकिएन । अहिले कोभिड १९ पछि पनि मानिसको जीवन रोकिने छैन नै । तर यस महामारीले उत्पन्न गराएको बिश्वको आर्थिक दूराअवस्था तंग्रिन भने बर्षौ बर्ष लाग्ने छ । त्यसमा पनि हाम्रोजस्तो कमजोर आर्थिक, प्राविधिक, शैक्षिक अवस्था रहेको बिकासशील मुलुकको लागि यो बढी चुनौतिपूर्ण  रहेको छ । यसबाट पारपाउन हामीले परनिर्भरताबाट क्रमशःआत्मनिर्भर अर्र्थतन्त्रको बिकासमा अगाडी बढ्नुको बिकल्प छैन  । आयात धटाउदै स्वावलम्बि अर्थतन्त्रको बाटो तर्फ लाग्नै पर्छ । यसो गर्न सकेमा यो महामारी हाम्रो लागि अभिषाप हुदाँहुदै पनि ऐतिहासिक अवसर साबित हुन सक्ने छ । ईतिहासको पाना पल्टाउदा धेरै मुलुक खरानीबाट माथि उठेको दृष्टान्तहरू  छन् । समयको गतिसँग हिड्न हामीले पनि चुक्नु हुदैन । दोश्रो बिश्वयुद्ध पछि बन्दुकबारूद बनाउने कारखानाहरू मानव सेवा सुबिधाका बस्तु उत्पादनगर्नेमा परिणत भएका उदाहरण पनि थुप्रै  छन् । हामीले अब आत्मनिर्भरमुखी अर्थव्यवस्था स्थापना गर्ने प्रण गर्नु पर्दछ । हाम्रो गन्तव्य त्यस तर्फ सोझिनु पर्दछ ।

तर एउटा यथार्थ र तितो कुरा के हो भने जहिले पनि बिपत् आउदाँ हामी आत्मनिर्भर हुने, नयाँ आर्थिक ढाँचा निर्माण गर्ने र लैण्डलिंक बन्ने प्रण गर्दै आएका छौं । यस्तो प्रण भारतबाट गरिएको पटकपटकको नाकाबन्दी देखि ०७२ सालको भूकम्प पश्चात् पनि गरेकै हौं । तर हाम्रो बाचाहरू छेपाराको कथा जस्तो हुनपुगेका छन् । आपतमा आक्तिने र त्यसपछि बाटो बिराउने हाम्रो नियत बनेको छ । अब यस्तो नहोस् भन्ने अपेक्षा गरौं । लकडाउनपछि हामी बाहिर निस्कदा एउटा बेग्लै अवस्थामा आफूलाई पाउने छौं । जहाँ किंमकर्तव्य बिमूढ मानिसहरू, लथालिंग आर्थिक अवस्था सुस्त सामाजिक जीवन जस्ता प्रतिकूल कुरा देखिने छन् भने, त्यही सफा सडक, स्वस्छ हावा, मनमोहक उच्चहिमाली श्रृंखला, निलोआकाश हरियो वनजंगल, कलकलाउँदो जलसम्पदा र परिश्रमी हातपर्खेर बसेका बाँझो जमिन पनि हुनेछन् । हाम्रो दायित्व भनेको प्रतिकूलताको बाबजुद हाम्रा प्राप्तश्रोत साधन र सम्पदाहरूको नयाँ जोसजाँगर साथ परिचालन गर्ने तर्फ केन्द्रित हुनु पर्दछ । यसका निम्ति तत्काल ठोस निर्णय गरेर स्वावलम्बि अर्थतन्त्रको नयाँ बाटो र नयाँ पाटो पहिल्यउन आवश्यक छ । हाम्रो अहिले सम्मको अनुभवबाट पाठ सिक्दै अबका दिनमा भोग्नु पर्ने घट्दो रेमिटयान्सको अवस्था, बिदेशबाट फर्कने युवालाई दिनु पर्ने रोजगारी, पर्यटन उद्योगबाट धट्ने आम्दानि र आयातमुखि आर्थिकनीति परिवर्तनपछि आउने चुनौतीको सामना गर्न केही कदम तुरून्त उठाउन आवश्यक छ । त्यस्को आधारभूत नीति निर्माणका कुरा धेरै बिस्तृत हुन सक्दछन् । योजना बनाउँदा  सबै कुरामा  परिपक्क  निर्णय लिनु पर्ने हुन्छ । अहिले यहाँ तत्काल गर्नुपर्ने केही महत्वपूर्ण कुराको मात्र चर्चा गर्न बान्छनिय  हुन्छ ।

फलफूल, तरकारी, तेलहन दलहन आयातमा रोक लगाउने
अहिले बजारमा बैंककको स्टबेरी, हैरदाबादको सुन्तला, गोंगज्याउको स्याँउ, गोरखपुरको आलुप्याज, काउलीबन्दा पूणेको अंगुर, कागती र जकार्ताको अम्बाको बोलबाला छ । सिजनको बेलामा बम्बैया र कलकत्ते आँपले टोल, सडक र गल्ली ढाकेको पाइन्छ । अर्कोतिर मुस्तांग, मनांग र जुम्लाको स्याउँबजार नपाएर कुहिने अवस्था छ । गोरखा मनकामना र पोखराको सुन्तला फलाउने किसानहरूले उचितबजार मूल्य पाउन नसकेर बिचौलियालाई पुरै बगैचा जिम्मा लाउने गरेका छन् । यो अवस्थामा सुधार ल्याउन फलपूmल र तरकारीको आयातमा पूर्णत रोक लगाउनु पर्दछ ।

अनावश्यक र विलासि बस्तु देशभित्र आयात प्रतिबन्ध गर्ने
देशामा संचित बिदेशी मुद्राको धेरै भाग अन्न उत्पादक बस्तुको आयातमा खर्च भई आएका छन् । तसर्थ फजुल खर्चलाई निरूत्साहित गर्न त्यस्ता वस्तुको आयात रोक्नु पर्दछ । त्यस प्रकारका वस्तुहरूमा सबै प्रकारका कार जीप, फर्निचर, सुक्खा फलफूल, कस्मेटिक, फेब्रिक्स, सजावटका सामान, महगां धातु, एयरकण्डिसनर, फ्लोरिंग फर्निसिंंग, पर्दाका कपडा, झाडफानुुस जस्ता सामानको आयात पूर्णत प्रतिबन्ध लगाउनु पर्दछ । चोरी पैठारी रोक्न कडा भन्दा कडा कानुन बनाउन आवश्यक भए बनाउन सकिन्छ । यस प्रकारका सामान नेपालमा एसम्बलमात्र गरेर नेपालमा बनेको भन्दै राष्ट्रिय धन बाहिर जाने घुमाउरो बाटो पनि रोक्नु आवश्यक छ ।

वैज्ञानिक भूमिव्यबस्थानका साथ कृषिउत्पादनको व्यवसायीकरण र यान्त्रिकिकरण गर्ने
वैज्ञानिक भूमिनीतिको अभाबमा भूमिको व्यबस्थित बर्गिकरण  गर्न सकिएको छैन । निर्बाहमुखि कृषिलाइ अब व्यवसायीकरण गरि  माटो र जलवायु अनुकूलको बालीबिरूवा लगाएर उत्पादन बढाएर अन्न उत्पादनमा आत्मनिर्भर बन्नु पर्दछ ।  बैदेशिक रोजगारी गुमाएर फर्केका झण्डै २० लाख नेपालीका ४० लाख हातहरू पनि यस काममा अब थपिने भएकाले साना कृषिऔजार कारखाना, कुषिउत्पादन  संरक्षण गर्ने भण्डारण, त्यस उद्योगलाइ टेवादिने साना तथा घरेलु प्याकिंग उद्योगहरू पनि स्थापना सँगसँगै गर्नु आवश्यक छ । यसबाट रोजगारी व्यवस्थाका साथै देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउँदै लैजान सकिन्छ ।

थिलथिलो भएको पर्यटन उद्योगलाई संरक्षणगरि टेबा दिएर बचाऔं
कोभिड १९ को संक्रमणबाट नराम्रोसँग प्रभाबित क्षेत्र पर्यटन उद्योग बन्ने पक्का छ । लामो समय सम्म यो व्यवसाय तंग्रिन सक्ने अवस्था छैन । यस उद्योगमा अरबाँै लगानी भएको छ । खबरबौं भन्दा पनि हुन्छ । यो लगानीलाई संरक्षण दिनु पर्दछ । विश्वमा यो मात्र एउटा उद्योग हो जस्को कच्चापदार्थ खर्च गरेर कहिले सकिदैन । कुनै पर्यटक आएर हाम्रा हिमाल जति हेरे पनि सकिदैन, जतिफोटो खिचेपनि सकिदैन, जति आरोहण गरेपनि  र जति पैदल हिंडेपनि खिइदैन । कच्चापदार्थको अभाबमा यो उद्योग बन्दगर्नु पर्दैन । त्यसैले पर्यटन उद्योगमा गरिएको लगानी जस्तै होटलहरूलाई खण्डहर हुनबाट संरक्षण गरौँ । यसको लागि हामीले  पर्यटन उद्यमीहरूलाइ बैंकको ब्याज, बिजुली पानी र करमा राहत दिएर सहयोग पु्याउन सक्दछौ  । कुनै दिन यसले राम्रै प्रतिफल अवश्य दिन्छ । यसमा स्पस्ट नीति बनाउनु पर्दछ ।

जल, जंगल, जडिबुटी र खनिज पदार्थको सदुपयोग गर्ने
जल, जमिन, जंगल र वन पैदावार तथा जडिबुटीहरू हाम्रो अमूल्य प्राकृतिक बरदान हुन । जलश्रोतको विकास गरेर उर्जा, सिंचाई र खानेपानीको राम्रो प्रबन्ध गर्ने । वनजंगलका मामुली भन्दा मामुली वोटबिरूवा, बनस्पति, झारपात, सबै अमूल्य जडिबुटी हुन् । त्यहाँ पाइने गुरजु, कडकी, सुनाखरी, जयमुसी, पाँचऔले, सतुवा र यार्चागुम्बा मात्र होइनन् सामान्य मानिएको  झ्याँउ तथा स्याउँला पनि हाम्रा बहुमूल्य सम्पत्ति हुन् । तिनको प्रशोधन र पहिचान गरि निर्यात गर्नु पर्दछ । त्यसैगरि हाम्रा खोलानाला , भीर पहरामा रहेका ढुंगा बालुवा,  गिट्टी पनि महत्वपूर्ण सम्पत्ति हुन् । त्यसको समुचित मात्र दोहन गरेर प्राकृतिक विनास रोक्नुका साथै दीगो बिकासको नीति अबलम्बन गर्नु आवश्यक छ ।  भूगर्भमा रहेको खनिजको उत्कर्षण गर्न अन्तराष्ट्रिय साझेदारहरूको खोजी गरि योजना बनाएर काम अगाडी बढाउन सकिन्छ ।

देश भित्र स्तरीय शैक्षिक संस्थाको विकासगरि पैसा बिदेश जानबाट रोक्नु
अहिले कराडौं करोड बिदेशीमुद्रा नेपली छात्रछात्राले  बिदेशमा शिक्षा आर्जनको नाममा बाहिरिने गरेको छ । धेरै त शिक्षाआर्जन गर्न योग्य नभएकाहरू पनि बिदेश पढ्न जाने नाममा डलर बोकेर बिदेश कुदेका पाइन्छन् । देश भित्र स्तरीय शैक्षिक संस्थाको विकास गरी यो प्रबृत्तिको रोकथाम गरौं र देशको पैसा बिदेशिनबाट रोक्नु  पर्दछ । यो त  अर्थतन्त्रको सिद्धान्तको जटिलता, अन्तराष्ट्रिय ब्यापार संगठनका आधुनिक माखेसांग्लोसँग अनभिज्ञ गैर अर्थशास्त्रीको  स्वाबलम्वि रआत्मनिर्भर हुने आकांक्षाको प्रतिबिम्ब मात्र हो ।

विद्वान् अर्थशास्त्री, योजनाबिद र विज्ञबिषय ज्ञाताहरू बसेर यसबारे विस्तृत अध्ययनसाथ पहलगर्नु पर्छ भन्ने हो  । यसो भन्दाभन्दै पनि एउटा ध्रुब सत्य कुरा के हो भने घरमा सामेल नभएको कारण चूल्हो बल्न नसकेको र पैसा नभएको कारण आफू गरिब भएको कुरा थाहा पाउन भने कुनै अर्थशास्त्रमा दखल राख्नु पर्दैन नै  ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->