बागलुङ, १० बैशाख – श्रममा आधरित मजदुरहरुको सहयोगका लागि बागलुङ नगरपालिकाले स्थापना गरेको फुड बैंकमा स्थानीय सामाजिक संघसंस्थाहरुले खाद्यान्न प्रदान गर्ने क्रम जारी छ । फुड बैंकलाई आवश्यक खाद्यान्न सामाग्री प्रदान गर्ने क्रममा बुधवार लायन्स क्लब अफ बागलुङ र लायन्स क्लब अफ बागलुङ कालीगण्डकीले खाद्यान्न सहयोग गरेका छन । कोरोना भाइरस संक्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका श्रमिक, विपन्न र गरिब नागरिकहरुलाई थप सहयोग पुराउने उदेश्यले रु. २५ हजारको बरावरको खाद्यान्न सहयोग गरेको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रीक ३२५ बि १ नेपालका पिआरओ लायन दुर्गा कुँवरले वताए ।
लायन्सका दुई संगठनले चामल २ सय केजी, दाल ३० केजी, तेल २० लिटर र नुन २० केजी दिएको नगरपालिकाका सूचना अधिकारी युक्त प्रसाद सुवेदीले वताए । लायन्स क्लब अफ बागलुङका अध्यक्ष केशव सापकोटा र लायन्स क्लब अफ बागलुङ कालीगण्डकीका अध्यक्ष श्याम प्रसाद शर्माले बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दण्डपाणि शर्मालाई ती खाद्यान्न सामाग्री हस्तान्तरण गरेका हुन् ।





