मुस्ताङको थासाङ-४ को जनता आधारभूत विद्यालयको क्वारेन्टाइनमा सुरक्षा दिदै प्रहरी । तस्विर सौजन्य : जिप्रका।
जोमसोम, ११ बैशाख – विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि सरकारले लगाएको लकडाउन उलंघन गर्दै बिहीबार मुस्ताङ आएका एक बसका चालक तथा सहचालकसहित ३३ जना यात्रुलाई गण्डकी प्रदेशको समन्वयमा पोखरा फिर्ता पठाइएको छ । वन तथा वातावरण मन्त्री शक्ति बस्नेतको आन्तरिक व्यवस्थापनमा डोल्पाली यात्रु काठमाडौंबाट मुस्ताङ आएका थिए । उनीहरु सवै डोल्पाको थोरङ छोस्राङ गाउँपालिकाका वासिन्दा हुन् ।
घोडाघोडी यातायात सेवाको बा.४ ख. ८७७२ नम्बरको यात्रुवाहक बसमा आएका चालक र सहचालकसहित ३५ जना यात्रुलाई क्वारेन्टाइमा बस्न अनुरोध गरिएको तर क्वारेन्टाइनमा बस्न नपानेपछि म्याग्दी र मुस्ताङको सीमाक्षेत्रको घासा प्रहरी चेकपोष्टबाट पोखरा फिर्ता पठाइएको घासा प्रहरी चौकीका इञ्चार्ज नीमप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
लक डाउनको अवज्ञा गर्दै सरकारी निकायको कुनै अनुमतिपत्र बिना मुस्ताङतर्फ आइरहेका उनीहरु सबै छिमेकी जिल्ला डोल्पाको थोरङ छोस्राङ गाउँपालिकाको भएको इञ्चार्ज तिमिल्सिनाले बताए । बसको सिट क्षमता २६ भए पनि ३३ यात्रु चढेका थिए । लकडाउन छल्दै रातारात मुस्ताङ आइरहेको उक्त बसमा १२ पुरुष र २१ महिला भएको थासाङ-४ का वडाध्यक्ष बिशाल शेरचनले जानकारी दिए ।
बसका डोल्पाली यात्रुलाई प्रहरी चौकी घासा र थासाङ-४ स्थानीयले लक डाउन अवधिमा आउजाउ गर्न नपाइने भनी सुझाएका थिए । प्रदेश सांसद महेन्द्रबहादुर थकाली र जिसस प्रमुख छिरिङ ल्हामो गुरुङको उपस्थितिमा उनीहरुलाई सम्झाइबुझाइ गरिएको जनाइएको छ । सांसदसहितको रोहबरमा उनीहरुलाई १४ दिन क्वारेन्टाइमा बस्न अनुरोध गरिए पनि उनीहरु नमानेको वडाध्यक्ष शेरचनले ढोरपाटनलाई बताए । उनीहरुलाई प्रदेश सरकारको समन्वयमा पोखरामा क्वोरन्टाइनमा राख्ने व्यवस्था भएको उनले बताए ।
लक डाउनको पहिलो चरणमा पोखरादेखि मुस्ताङ आएका ३ वटा बसका उपल्लो मुस्ताङका ७५ यात्रुलाई पर्वतको डिमुवा चेकपोष्टबाट पोखरा फिर्ता पठाइएको थियो । यस्तै लक डाउनको समयमा पोखराबाट पैदल तथा मालवाहक ट्रकमा आएका १२ जना व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको थियो । घासा क्वारेन्टाइनमा बस्ने १२ मध्ये ७ जना व्यक्ति १४ दिन बिताएर घर फर्किसकेका छन् ।
कोरोना भाइरस फैलिन नदिन सरकारले लक डाउन गरेसँगै मुस्ताङका झन्डै ७ सय व्यक्ति एक महिनादेखि पोखरामा अलपत्र छन् । उनीहरुलाई जिल्ला फर्काउने विषयमा विभिन्न प्रयास भइरहेको सांसद ईन्द्रधारा बिष्टले जानकारी दिए ।




