बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

चट्याङ के हो ? कसरी बच्ने ?

चट्याङ के हो ? कसरी बच्ने ?

कसरी सुरक्षित हुने ?


  • कृष्ण कुमार सैजु
  • बैशाख १२ २०७७, शुक्रबार

बिगत केही समय यता कोरोना भाइरस (कोभिड–१९) को विश्वब्यापी संत्राससंगै नेपालका बिभिन्न क्षेत्रमा चट्याङले झन्डै १ दर्जÞनको ज्यान लिएको छभने धेरै घाईते भइरहेका छन् । हिजोआज देशभरको मौसममा बद्लाब आइरहेको छ । मध्यबर्खाको असार–साउन महिना जस्तै छिनछिनमा मौसम परिवर्तन हुने र त्यससँगै ठूलो आवाजमा चट्याङ पर्ने गरेको छ । चट्याङ पर्दा भूकम्प आएजस्तै घर थर्किने गरेको छ । चट्याङ एक ध्वनी शक्ति पनि हो । यसमा ध्वनी शक्तिको उत्पादन हुन्छ । त्यसले कम्पन गराउँछ । यो लेखबाट तपाइको गाउँटोलमा फेरी पनि यस्तो प्राकृतिक दुर्घटना सकेसम्म हुँदै नहोस् र दुर्भाग्यवस भईहाले कम होस भन्ने उद्देश्यले यो लेख तयार पारिएको हो ।

के हो चट्याङ ? कसरी बन्छ ?

सूर्यको तापक्रमले पृथ्वीको जमिनको सतहको तापक्रम बढ्छ । सो तापक्रमले पृथ्वीको सतहमा रहेको जलाशयका स्रोतहरू जस्तै– ताल, तलाउ, नदी, सागर, महासागरबाट वाष्पीकरण विधिबाट पानीका कण माथितिर उड्दै जान्छ । यसरी जमिन तातेर वाष्पीकरण विधिबाट माथि गएका पानीका कणहरूले बादलको रूप लिन्छ । बादल हावाको माध्यमबाट गतिमान हुन्छ । यसरी गतिमान हुँदा विभिन्न बादलबीच हुने घर्षणबाट चार्जहरू उत्पन्न हुन्छन् ।
ती पानीका कण विभिन्न तहमा विभिन्न तापक्रममा बसेका हुन्छन् । जब पानीको मात्रा बादलमा पर्याप्त मात्रामा पुग्दछ, बादलको तहबाक्लिँदै जान्छ (कलो बाक्लो), जसलाई क्युमलोनिम्बस भनिन्छ । धेरै बाक्लो भएपछि यसबाट प्रकाश छिर्न नसक्ने हँदा कालो हुने भएकाले यस्तो बादललाई कालो बादल पनि भनिन्छ । जब कालो बादल आकाशमा देखा पर्दछ, चट्याङ पर्ने सम्भावना बढी हुन्छ । यसको तल्लो भागमा प्रशस्त मात्रामा पानीका थोपाहरू रहेका हुन्छन् भने माथिल्लो भागमा धेरै चिसो तापक्रम हुने भएकाले बरफको टुक्रा हिउँ, असिना आदि रहेका हुन्छन् ।
जब बादलभित्र नै एक तह र अर्को तहको तापक्रममा धेरै फरक पर्दछ र बादलहरू नै आपसमा गतिमान भई छिटो–छिटो चलायमान हुन्छ । जसको कारण बादलभित्र हुरीबतास तलमाथि चल्छ । यसरी चलेको हुरीबतासले बादलभित्र घर्षण पैदा भई धनात्मक तथा ऋणात्मक चार्जहरू उत्पन्न गराउँछन् । सुरु सुरुमा आकाशको माथिल्लो भागमा बादलभित्रै बिजुली चम्किने गर्दछ । यस्तो चट्याङलाई बादलदेखि बादल बीचको चट्याङ भनिन्छ, जसले पृथ्वीमा भएको वस्तुहरूमा असर गर्दैन तथा पृथ्वीमा कुनै मानवीय हानि–नोक्सानी हुँदैन । बादलभित्र भएका हुरीबतास धेरै समय विपरीत धु्रवका चार्जहरूले संकेत गरेमा वा अग्ला सतहमा विपरीत धु्रवका चार्जहरू उत्पन्न गराएमा यो अझ खतरा हुन्छ ।
चट्याङबाट घरका सिसा फुट्ने, वन–जंगलमा आगलागी हुने, रूख–बिरुवा मर्ने, जनावर मर्ने आदि हुन्छ । त्यसैले आकाशमा कालोबादल देख्नेबित्तिकै चट्याङको सम्भावना भएकाले सुरक्षित उपाय अपनाउनुपर्छ । त्यसैले नेपालको पहाडी, हिमाली उच्च भागमा, अग्ला रूखहरूमा, अग्ला टावरहरूमा, तिखा गगनचुम्बी भवनहरूमा चट्याङ पर्ने खतराको डर बढी मात्रामा रहन्छ । घरमा विद्युतीय सामानहरूमा धेरै करेन्ट बगेर सो सामानहरू जस्तैः टेलिभिजन, रेफ्रिजेरेटर, टेलिफोन, मोबाइलफोन आदि विद्युतिय उपकरणहरू बिग्रने, घरमा आगलागी हुने, वन–जंगलमा आगलागी हुने आदि घटना चट्याङबाट हुने गर्छ ।
चट्याङका लागि वातावरणले पनि धेरै असर पारेको हुन्छ । जलवायु परिवर्तनले गर्दा तातोमा बढी तातो र चिसोमा बढी चिसो हुनेभएकाले चट्याङमा पनि यसको असर रहेको हुन्छ । त्यस्तै ‘ग्लोबल वार्मिङ’ ले भूसतह तात्नुका साथै वायुमण्डलका कणहरूको परिवर्तनको कारणले चट्याङमा पनि परिवर्तन गराउँछ । जमिनमाथि भएको वायुमण्डलमा भएका सबै परिवर्तनले चट्याङमा असर गरेपनि जमिनभित्र भएका घटनाहरूले चट्याङमा कुनै असर नगर्ने वैज्ञानिक अनुसन्धानद्वारा पुष्टि भएको छ । अतः भूकम्प र ज्वालामुखी विस्फोट आदिले चट्याङमा कुनै असर गर्दैन ।

चट्याङले पार्ने असर

चट्याङबाट धेरै धनजनको हानि–नोक्सानी हुने, मानिसका आँखामा असर गर्ने, ठूलो आवाजको कारणले कानको जाली फुट्ने, घरका सिसा फुट्ने, वन–जंगलमा आगलागी हुने, रूख–बिरुवा मर्ने, जन्तु–जनावरहरू मर्ने आदि हुन्छ । त्यसैले आकाशमा कालो बादल देख्नेबित्तिकै चट्याङको सम्भावना भएकाले सुरक्षित उपाय अपनाउनुपर्छ । चट्याङ प्रायजसोः मनसुन सुरु हुनुपूर्व एक÷डेढ महिनाअघिदेखि सुरु हुन्छ र त्यस समयमा प्रायः अपह्रान्न २–३ बजेदेखि बेलुकी ७–८ बजेसम्म बढी हुन्छ ।

कसरी सुरक्षित हुने ?

घरका विद्युतीय सामानको अर्थिङ गर्दा टाढाबाट विद्युतीय तार र टेलिफोनका तारमार्फत आउने करेन्टबाट बचाउन सकिन्छ । ९÷१० किलोमिटर पर परेको चट्याङलाई समेत विद्युतीय वा टेलिफोनका तारले भोल्टेजलाई एन्टेनाको रुपमा रिसिभ गरेर घरसम्म ल्याउने गर्दछ । घरमा विद्युतीय सामानसहित सम्पूर्ण भवनको चट्याङ प्रतिरक्षा सामग्री जोड्नुपर्छ । यसका लागि ‘अर्थिङ’ उपयुक्त माध्यम हो, जसले घरमा चुहावट भएको करेन्टलाई बाहिर जमिनसम्म पुग्न दिँदैन । अर्थिङमा एक प्रकारको ‘इलेक्ट्रिक यन्त्र’ जडान गरिएको हुन्छ । ‘अर्थिङ’ ले बिजुली चम्किँदा निस्केको करेन्ट र घरको करेन्ट जोडिन दिँदैन । जसले गर्दा घर सुरक्षित हुन्छ । चट्याङको आवाजले डराउनु पर्दैन किनकी, बिजुली चम्किँदै करेन्ट प्रवाह भइसकेको हुन्छ, यतिबेलासम्म हुने क्षति भइसकेको हुन्छ । यदी कसैलाई ठुलो आवाजने ईरिटेड गर्छ भने यस्तो बेलामै कानमा कपास कोच्ने वा हेडसेटको प्रयोग गर्ने गरी कान भित्रसम्म पुग्ने आवाज कम गर्न सकिन्छ ।
यसबाट बच्ने सबभन्दा उत्तम उपाय घरभित्र बस्नु पनी हो । घरभित्र बस्दा पनि टेलिभिजन र टेलिफोन आदि विद्युतीय उपकरण बन्द गर्ने, पानीका धाराहरू सबै बन्द गर्ने, नचलाउने, झ्यालको छेउ, भित्तामा अडेस लगाएर नबस्ने आदि सावधानी अपनाउनुपर्छ । पक्की घर जहाँफलामे डन्डीहरू प्रयोग गरेर बनाइएको हुन्छ, घरको छानामा (लाइटनिङ एरेस्टर) चट्याङ भगाउने यन्त्र जडान गर्ने वा राम्रोसँग अर्थिङ गर्नु उचित हुन्छ । प्लासटरमा हिंड्दा सकेसम्म सुख्खा चप्पल लगाउने । नांगो हातले बिजुलीका स्विच, चार्जर आदीमा नछुने । घर वा कलकारखानामा जडित सम्पुर्ण विद्युतिय उपकरणहरू केही समयको लागी पुर्ण रूपमा डिसकनेक्ट गरिदिने । यस अवस्थामा हात सुख्खा हुनुपर्छ र कुनै प्लास्टिकजन्य बस्तुले हातको सुरक्षा गर्नुपर्छ ।
घर बाहिर भएमा गाडीभित्र झ्यालढोका बन्द गरी बस्ने, स्विमिङपुलमा पानीभित्र भए पानी बाहिर निस्कने, रूख वा अग्ला वस्तुहरू भए त्यसको नजिक नबस्ने, चौरमा भए सकेसम्म थोरै क्षेत्रफल हुने गरी घुँडाले भुइँमा टेकेर टाउकोलाई निहुराएर दुवै हात टाउकोमाथि राखी बस्नुपर्छ । खेल मैदानमा भए धेरैजना एकै ठाउँमा नबस्ने, बिजुलीको खम्बा तथा तारहरू नजिक नबस्ने आदि सावधानी अपनाउनुपर्छ । घर बनाउँदाको अवस्थामा भए चट्याङ रडको प्रयोग गर्नु बुद्धिमानी हुनेछ ।
चट्याङ प्राकृतिक प्रक्रिया हो । अहिले मात्र होइन, मानव जाति अथवा जीवजन्तुको पृथ्वीमा अस्तित्व हुनुभन्दा अगावै चट्याङ पर्ने गरेको प्रसस्तै लिखित तथा मौखिक तथ्यहरू छन् । त्यसैले चट्याङ पर्ने मौसममा समयमै सचेत भई उल्लेखित पुर्व सावधानी अपनाउनु नै उत्तम हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->