शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

जैमिनीमा पनि घरदैलोमा पुगेर भत्ता वितरण शुरु

जैमिनीमा पनि घरदैलोमा पुगेर भत्ता वितरण शुरु

लाभग्राही भन्छन– ढिलैआएनी खुसी छौं


  • ढोरपाटन संवाददाता
  • बैशाख १२ २०७७, शुक्रबार

बागलुङ, १२ बैशाख– जैमिनी नगरपालिका–१० राङ्खानीका कार्यालय सहायक मित्र थापा केही दिन यता वडाध्यक्ष नरबहादुर थापा र वडा सचिव पृथ्वी बहादुर थापाको साथ लागेर छिमेकीको घरघैलोमा पुग्नैमा फुर्सद छैन ।
झोलाभरी कागज, पैसाका नोट र स्ट्याम्प छाप बोकेर उनीहरु तीन चार जनाको समुह गाउँ डुल्न थालेको केही दिन भइसक्यो । वडाभरी कैयौं टोल छन् । उनीहरु जुन टोलमा पुग्छन् त्यहाँ बुढापाका, अपांग र एकल महिलालाई भेट्छन् । उनीहरुको बिबरण अध्यावधिक गर्छन्, पैसा बाँड्छन् र अर्को टोलमा निस्किन्छन् ।
उनीहरुको जस्तै जैमिनीका पाँच ओटा वडामा यसरी नै सामाजिक सुरक्षा भत्ता वितरणको काम भैरहेको छ । फागुनमै पाउनुपर्ने भत्ताको दोस्रो चौमासिकको रकम ढिलै भएपनि घरदैलोमा पु¥याउने प्रयत्नमा रहेको थापाले बताए । निकासाका ढिलो आएको र लकडाउनले जैमिनी नगरपालिकाले ढिलोगरी भत्ता वितरण थालेको हो । कोरोना संक्रमणको त्रासका कारण एकै ठाउँमा जम्मा गरेर वा वडा कार्यालयमा नै बोलाएर भत्ता बाँड्ने अवस्था छैन् । सुरक्षा सावधानी अपनाएर घरघरमै पुगेर भत्ता बाँड्ने काम थालेको वडा अध्यक्ष नरबहादुर थापाले बताए ।
‘ढिलै भएनि भत्ता त घरै आयो, लकडाउन छ हाम्ले नि गुनासो गर्न भएन नि !’ जैमिनी–१० राङ्खानीका ७२ बर्षिया नारायणदत्त जैसीले भने, ‘केही गुनासो छैन, खुसी लाको छ ।’ घरघरमा पुगेर वडाहरुले भत्ता वितरण गर्दा लक्षित बर्ग सबैले खुसी मानेका छन् । ‘टोलमै आएर दिनुभएको छ ढिलो भएर के भो’ सोही गाउँकी ५० बर्षिया महिला रानी नेपालीले भनिन्– ‘सरकारले हाम्लाई बचाउन गरेको बन्दको कुरा त हाम्लेनी बुझन्नु परो नि ।’
वडा नं. ६ अर्जेवादेखि वडा १० राङ्खानीसम्म लक्षित वर्गका घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरणको काम भैरहेको छ अहिले । बैंकको पहुँच नपुगेका पाँच वडामा घरघरमै पुगेर भत्ता वितरण थालिएको प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माले बताए । नगरपालिकाले पाँच वडामा बैंकमार्फत र बाँकी पाँचमा वडा सचिव र वडा अध्यक्षमार्फत भत्ता बाँढ्न थालेको हो ।
पालिका मुकाम कुश्मीशेरा बजारमा रहेको एनएमबी बैंकले पनि भत्ता पाउनेहरुको खातामा रकम जम्मा गरेर वितरण थालेको छ । एक दिनमा बढिमा ३० जनाले पालैपालो सामाजिक दुरी कायम गरेर लिन पाउने गरी भत्ता वितरण थालिएको कर्मचारी भीमप्रसाद सुवेदीले बताए । बैंकले वडा नं. १ देखि ५ सम्म पालो लगाएको छ । ‘अत्यावश्यक भएकालाई प्राथमिकता दिने भनेर वडाले सिफारिस गरेकालाई मात्रै दिनु भनेका छौं ।’ शर्माले भने– ‘बैशाखभित्र सबैले भत्ता पाईसक्छन् ।’
‘दुरुपयोग रोक्नाका लागि वडा सचिवसँगै जनप्रतिनिधि पनि पठाउने भनेका छौं ।’ जैमिनी नगरउपप्रमुख लिला रानाले ढोरपाटनसंग भने, ‘कठिन परिस्थितीमा पनि सरकार घर घरमा पुग्दैछ भन्ने जनताले महशुस गर्ने छन् ।’ जैमिनी नगरमा झण्डै ५ हजारले सामाजिक सुरक्षा भत्ता पाउँछन् । यो चौमासिकका लागि पनि ४ करोड ५० लाख रुपैयाँ पेश्की निकासा भएको लेखा शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->