बागलुङ, १२ बैशाख– लकडाउनको समयमा दैनिक उपभोग्य सामाग्री तथा खाद्यबस्तुमा मूल्यबृद्धि, कालोबजारी लगायतको समस्या बढ्न सक्ने भन्दै बजार अनुगमन गरियो । घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता मञ्च, खाद्य तथा गुण नियन्त्रण कार्यालय, प्रशासन र प्रहरी समेतले गरेको अनुगमनमा सामाजिक दुरी कायम गरेर सामान बेचेको पाईयो ।
उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले ढुवानीमा समस्या भएकोले महंगी बढेको प्रतिक्रिया दिए । ‘केही मूल्यबृद्धि भएको छ, तर धेरै छैन’ श्रेष्ठले भने, ‘ढुवानी समस्या र भाडा बढी लागेकोले महंगो भएको बुझियो ।’ उनले सामान्य मूल्यबृद्धिलाई बेवास्ता गरेको बताए । ‘सामान ल्याउन समस्या छ, भाडा महंगो भएको होला, त्यसैले सामान १० देखि २० प्रतिशत महंगो भएको हुन सक्छ’ उनले भने, ‘त्यत्तिको बिषयलाई चासो राखिएन ।’
तर श्रेष्ठले भनेकोभन्दा बजारको अबस्था फरक भएको भेटिएको छ । थोक बिक्रेता कमल प्रधानका अनुसार, बजारमा पर्याप्त खाद्य सामाग्री भण्डारण भएकोले मूल्यवृद्धि नभएको बताए । सातादेखि पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ८ रुपैयाँ घटेको छ । ग्याँस र पानीको मूल्य पनि बढेको छैन । बरु आबस्यकभन्दा बढी स्टक भैरहेको छ । ‘बजारमा अभाव सिर्जना भयोभने मूल्य बढ्ने हो, तर चाहेभन्दा बढी सामान छ’ प्रधानले भने, ‘लकडाउनमा निर्वाध सवारी चलेकोले महंगो हुने अबस्था पनि छैन ।’ कारखानाहरु बन्द भएकोले ढिलाई हुने हुँदा ढुवानी भाडा बढेको उनले बताए । ‘पालो गरेर उद्योग खुल्छन्, लोड–अनलोडका लागि मजदुर पाईदैनन्’ प्रधानले भने, ‘एक दिन ढिला हुँदा ३ हजार रुपैयाँसम्म महंगो पर्छ, त्यो मूल्य जोडेर छिटफुट महंगो परेको हो ।’
तर सवारी चालकहरुको भनाई फरक छ । ‘कामै नपाएपछि हामीले प्रतिटिपमा १० हजार रुपैयाँसम्म घटेर ढुवानी गरेका छौं’ ट्रक चालक आलम खानले भने, ‘मैले बीरगञ्जबाट १० टन सामान ल्याउँदा २२ हजार रुपैयाँ मात्र भाडा लिएको छु ।’ सामान्य अबस्थामा उनले १० टन सामान ल्याएको ३० हजार रुपैयाँ भाडा लिने गरेको बताए । ‘कामै नपाएर बस्नुभन्दा काम गरेर थोरै नाफा खाने बेस भनेर काम गरेको छु’ उनले भने, ‘कतिपय सामान राहत बितरणका लागि आएको छ, त्यसमा हामीले पनि साथ दिएका हौं ।’
महंगो भनेर कामै नपाउने, सवारी साधन थन्क्याउने अबस्थाभन्दा सस्तोमा काम गरिरहेको उनले बताए । एकै खेपमा १० हजार रुपैयाँसम्म कम मूल्यमा ढुवानी आउँदा सामान सस्तो हुनुपर्ने उनले बताए । सडक खुला भएकोले जाम हुने, धेरै समय लाग्ने अबस्था छैन । सामान्य अबस्थाभन्दा छिटो र सहजै मालसामान आएकोले महंगीभन्दा कम मूल्यमा सामान पाउनुपर्ने उपभोक्ताहरु बताउँछन् ।
उपभोक्ता राहुल बोहोराले लकडाउन सुरु भएपछि एक कार्टुन तेलमा २ सय रुपैयाँसम्म बढेको गुनासो गरे । थोक बिक्रेता प्रधानको भनाई र बोहोराको भनाई एक आपसमा बाँझिन्छन् । बजारमा उपभोक्ताले चामल, दाल, तेल र अन्य अत्याबस्यक सामाग्रीको मूल्य तुलनात्मक बढेको गुनासो गरिरहेका छन् ।
फलफूल र तरकारीको मूल्य त दोब्बरसम्म बढेको छ । प्रतिकेजी एकसय रुपैयाँमा पाइने तरकारी २ सय रुपैयाँ केजीमा बेच्ने गरिएको छ । करेला, गोलभेडा, काउली र प्याज जस्ता तरकारी अचाक्ली महंगो भएको हो । फलफूलतर्फ अंगुर साढे २ सय देखि ३ सय रुपैयाँ केजी सम्ममा बेचिएको छ । अन्य फलफूल पनि तुलनात्मक २५ प्रतिशतसम्म महंगो छ । ‘अत्याबस्यक भएपछि मूल्यको बार्गेनिङभन्दा भेटिएको बेला किनेर खाने भन्ने भएको छ’ बागलुङ नगरपालिका वडा नं. २ की दुर्गा हमालले भनिन्, ‘महंगो र सस्तो भन्ने कसैले सोधेकै छैनन् ।’ मौका पाएर महंगो बनाउनेहरु पनि भएको उनले बताइन् ।





