परिवर्तन हुनु जरुरी छ । परिवर्तन विकासको आधार पनि हो । तर सबै परिवर्तनले विकासनै गर्छ भन्ने नहुन पनि सक्छ । मेरो अहिलेसम्मको अनुभवमा यस्तै लाग्छ । करिब १० वर्ष हुन थालिसकेछ स्वदेशभित्रको परदेशी भएको पनि । देश आन्तरिक द्वन्द्वमा रुमलिरहेको अनि पिरोलिरहेको थियो जतिबेला मैले गाउँ छाडे ।
गाउँका धेरैजना भेला भएर ब्ल्याक एन्ड ह्वाइट टिभीमा हेरेको हिन्दी फिल्मको फाइटको दृश्यभन्दा कम थिएन मैले प्रत्यक्ष देखेको त्यो दृश्य । आर्मीहरुले मेलै पढ्ने स्कुल घेरा हालेर हाम्रै गाउँका एकजना दाजुसहित दुई जनालाई भटट बन्दुकको गोली हानेर मारेको दृश्य कम्ता भावविव्हल थिएन । फिल्ममा जस्तो त्यहाँ नत कुनै हिरो थियो नत कुनै हिरोइनका लागि त्यो फाइट भएको थियो । एउटा बालकको मनले के ठम्याउन सकोस त्यो के थियो भनेर ।
को हो माओवादी को हो के के ? सबै भन्थे हामी परिर्वतनका लागि लड्दै छौ । तर त्यो बालकले नबुझेको कुरा सबै नेपाली भएपछि आपसमा लडेर पनि परिवर्तन आउँछ र ! भाइचाराले देश बन्ने हो भाइमाराले देश बन्छ र ! देशको त्यो प्रतिकुल अवस्थाले कतिलाई मार्यो, कतिलाई बेपत्ता बनायो, कतिको घरबार बिगार्यो, कतिको जीवन तहसनहस बनायो, कतिको आजसम्म अत्तोपत्तो छैन । देशको त्यो प्रतिकुल अवस्थाले यो बालकलाई आज स्वदेशभित्रको परदेशी बनायो । कति त परदेशीनै भइसके । कति उतै परदेशमै विलय भइसके ।
आज यतिका समय भयो खै परिवर्तनकारीले त्यतिबेला भनेको जस्तो परिवर्तन आज बुझ्ने हुँदासम्म पनि महसुस गर्न सकेको छैन ।
मैले देखको परिवर्तन भनेको आज हाम्रो गाउँमा बिजुली गएको छ । चारैतिर बाटो पुगेको छ । तर बिजुलीसँगै कुनै नयाँ प्रविधि गएन । बरु त्यो बिजुलीले हाम्रो गाउँको उज्यालो खोसेर लग्यो । त्यो बाटो हाम्रो गाउँको विकास गर्न होइन रहेछ ।
हाम्रा गाउँलेलाई सहरमा लिन गएको रहेछ । अँध्यारोमा पाँचजना बस्नुभन्दा उज्यालोमा एक्लै बस्न गाह्रो छ आजकल गाउँघरमा । एउटा सानो टुकीले दिएजस्तो मनको उज्यालो आज सयवाटको चिमले पनि दिन सकेको छैन । धन्न कोरोनाले गर्दा कति परिवारमा हर्ष पनि बढ्यो होला । सपरिवार सँगै बस्न पाएका छन्, चाहे त्यो क्षणिकनै किन नहोस् ।
बिजुलीबाट देशले अर्बौं कमाउँदा पनि हाम्रा गाउँलेहरु बिजुली कम बाल्न पाए हुन्थ्यो भन्छन् । कारण यसको बिलको रकम अब त घट्लाभन्दा झन् बढ्दै गएको छ । हिजो गाउँमा सानो केही हँुदा पनि मान्छेको कमी हुने थिएन । तर आज लास उठाउने पनि मान्छे भेटिँदैनन् । बाबा परदेश, छोराछोरी पढ्न शहर, बुहारी पनि शहर छोराछोरी पढाउन । गाउँमा परिवर्तन आयो । मेरा आफन्त र म पनि शहरबजारमै रम्न थाल्यौ । गाउँमा मान्छे घट्न थाले । मान्छेसँगै खेतीपाती पनि गर्न छाडियो । पल्तिर साइँला, काइँला दाइँहरु पनि त्यसै परदेश छिरेका होइनन् । गाउँलेको काम गरी छाक टार्ने उनको कामनै छैन आज गाउँमा । हाम्रो गाउँको नयाँ सडकले गाउँका योद्धाहरुलाई विदेशिने बाटो देखायो तर कुनैपनि बहानामा बुढाबुढीलाई सहर लग्न सकेन कति त जानै चाहेनन् । गाउँको धुलो माटोलाई पचाएर बसेका उनीहरु सहरको सरसफाइ के पचाउन सक्थे विचरा । गाउँको धुलो माटो पचाउनेहरुलाई कुनै रोग लागेन सहरको सरसफाईमा बस्नेहरु सामान्य टाउको ेदुख्दा पनि सिटामोल नखाई हुँदैन । गाउँमा हजुरबुवाहरु असि वर्षको उमेरमा पनि खेतीकिसानी गरीराखेका छन् । युवा भएर पनि आज अलिकति हिँडे पनि दमको रोगले पेलेजस्तो हुन्छ । परिवर्तनको कमाल उनी अझै तगडा छन् र म !
मेरा हजुरबुबा हजुरआमाहरु स–सानो कामको लागि कहिल्यै बजार छिरेनन् किनकी कति खाँचोहरु अैँचोपैँचोबाटै पूरा हुन्थे । सानातिना रोगको उपचार गाउँकै ओखतीले ठिक हुन्थ्यो । हाम्रो गाउँको परिवर्तनले हिजो कोदो मकै फल्ने बारीमा आज धुलो उडिरहेको छ । मेरो हजुरबुबा भन्नुहुन्थ्यो घरभित्र सुसेल्नु हुँदैन घरको सह जान्छ ।
हो रहेछ आज गाउँभित्र गाडीको टिँ…टिँ… छि¥यो गाउँको सहमोह दुवै लगेर गयो । मलाई याद छ, मेरो गाउँ छिर्ने जंगल म एक्लै कहिल्यै पार गर्न सक्दिनथे । जंगली जनावरको डर त छँदै थियो त्यो भन्दा बढि त घनाजंगल देखेरे उब्जने मनको डर । तर जब परिवर्तनले जंगलका हजारौं रुखहरु फाँडेर कच्चि सडक बनाईदियो, जंगली जनावरको बाँसस्थान भत्काईदियो आज जो पनि यो जंगल सजिलै पार गर्न सक्छ किनकी जंगल अब जगंल रहेन जो ।
फरक यत्ति होकि पहिलाको जस्तो ढकमक्क लालीगुराँसको मजा लिन पाईदैन अहिले । सयौंथरि चराचुरुङ्गी हेर्न चिडियाघर नै जानुपर्छ । मेरो गाउँमा त ति चराचुरुङ्गीको आवाज पनि सुन्न पाईदैन अहिले ।
विकासको लागि बनेको मेरो गाउँको बाटो यति खर्चिलो छ कि वर्गाेनि लाखौं खर्च गर्दा पनि बाटो जस्ताको तस्तै । कहिले वर्षाले बाटो बिगा¥यो, कहिले पहिरोले, कहिले केले कहिले केले । म सुन्छ कोरोनाभन्दा पनि खतरा भ्रष्टाचार भन्ने जन्तु छ रे हाम्रो गाउँको बजेटमा जसले भनेजति काम हुनै दिँदैन रे । यो यति खतरा छ रे कि यसले हर कोहीलाई छिनमै आफ्नो वशमा गर्न सक्छ रे । हाम्रो देशमा पनि माथिदेखि तलसम्मै यसको राज छ रे ! जबसम्म यो भ्रष्टाचार भन्ने जन्तुलाई जगैदेखि उखेलेर फाल्न सकिदैन तबसम्म हाम्रो गाउँको बाटो यस्तै हो भन्थे दाइहरु, हो रहेछ आज पनि उस्तै छ मेरो गाउँको बाटो । दाइहरु भन्थे यो भ्रष्टाचार भन्ने जन्तु जन्माउने पनि हामी नै हो रे ! अघिपछि जनता अनि चुनावको बेला कार्यकर्ता बन्ने हाम्रो बानीले यो जन्तु जन्मन्छ रे । कोरोना भन्ने भाइरसको एन्टिभाइरस त बन्दै होला तर भ्रष्टाचार भन्ने भाइरसको एन्टिभाईरस त बनिसकेको छ रे । त्यो एन्टिभाइरसको नामचाहिँ इमान्दारी हो रे । वर्षेनि करोडौंको घाटा गर्ने, पत्रिकाको लोडसेडिङको समाचार टक्क काटेर घरको भित्तामा टाँसेर दैनिकी बनाउने हाम्रो दैनिकीमा पनि यहीँ इमान्दारी नामको एन्टिभाइरसले सहजता ल्याएको हो रे । अबको परिवर्तन यहिँ इमान्दारिताका लागि ।
परिवर्तन हुनु जरुरी छ । परिवर्तन विकासको आधार पनि हो । तर सबै परिवर्तनले विकास नै गर्छ भन्ने नहुन पनि सक्छ तर परिवर्तनले सकभर विनास गर्नुहुँदैन । प्रकृतिसँगको खेलवाड त पटक्कै गर्नु हुँदैन । विश्वका धेरै देशहरुले कल्पनानै गर्न नसकेका विकासहरु गरे । तर आफू र आफ्नो देशका लागि मात्र गरे । नत यो प्रकृतिका लागि गरे नत अन्य जीवजन्तुका लागि गरे । नत्र किन पृथ्वी यति साह्रो तात्दो हो । जलवायु परिवर्तनको यस्तो प्रतिकुल असर त्यसै आएको पक्कै होइन होला ।
विश्व कति विकसित छ भन्ने कुरा त आज कोरोनाले पनि देखाइदियो । यतिका समय हुँदा पनि विश्वको नम्बर वान भन्ने देशहरुले पनि कोरोनालाई रोक्न सकिराखेका छैनन् । कोरोनाले संसारमा आफ्नो साम्राज्य लगभग फैलाउन सकिथाल्यो तर एक सेकेन्डमा विश्व ध्वस्त बनाउन सक्ने हतियार बनाएका महारथीहरुले पनि कोरोनासँग लड्ने अनि विजय प्राप्त गर्ने हतियार बनाउन सकेनन् । हामी भन्छौं नि हामी मानव प्रकृतिका सबैभन्दा चेनतशिल प्राणी हौं । हो साँच्चै रहेछौ । नत्र आफूनै सखाप हुने परिवर्तन कसले पो गर्छ र । यिनै परिवर्तनले आज सबै जलचर, थलचर अनि सिंगो प्रकृतिनै जोखिममा छ ।
कोरोनालाई जित्ने एउटै कडी भनेको सुरक्षित रहने घरभित्रै रहने, सफा सुग्घर रहने हो । पहिला यो कोरोनालाई हराऔं अनि सबै जम्काभेट भएर विजय उत्सव मनाउँला । अबको लडाइँ पनि परिवर्तनकै लागि हो । आफू र आफ्नो प्रकृति बचाउन लागि हो । यस्ता भ्रष्टचार अनि कोरोना जस्ता जन्तुलाई सुली चढाउनका लागि हो । अबको लडाइँ पनि परिवर्तनकै लागि हो ।





