आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

बजार अनुगमनले सिकाएको पाठ

बजार अनुगमनले सिकाएको पाठ

बजार अनुगमनका सकारात्मक पक्षहरु


  • प्रकाश घर्ती
  • बैशाख १३ २०७७, शनिबार

मानव जीवनका लागि स्वास्थ्य सबैभन्दा ठुलो धन भएकाले सबै मानिस शारिरिक, मानसिक तथा सामाजिक रुपमा स्वस्थ रहन जरुरी छ । स्वास्थ्य क्षेत्र बहुपक्षिय बिषय पनि भएकाले राज्यले नै यसलाई आम नागरिकमुखी बनाउन गुणस्तरीय सेवा प्रदान गर्नुका साथै आर्थिक हित कायम राख्नको लागि नयाँ संविधानमा नै यससँग सम्बन्धित विभिन्न सवैधानिक हकहरुको व्यवस्था गर्दै तिनै तहका सरकारलाई विभिन्न जिम्मेवारी र कार्यक्षेत्र निर्धारण गरिदिएको छ ।
नेपालको संविधान २०७२ को अनुसुची ८ बमोजिम उपभोक्ता हित संरक्षणको लागि बजार अनुगमनको जिम्मेवारी सम्बन्धित तहलाई तोकिदिएको छ । नेपाल सरकार मन्त्रीपरिषदबाट मिति २०७३÷१०÷१८ मा स्वीकृत कार्य विस्तृतिकरण प्रतिवेदनको अधिनमा रहि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बजार अनुगमन नमुना निर्देशिका तयार गरी ७५३ वटा स्थानीय तहमा पठाएको छ । सो नमुना निर्देशिकालाई स्थानीय तहले स्वीकृत गरी सबै स्थानीय तहमा पालिकाको सापेक्षतामा ती बजार अनुगमन निर्देशिका जारी भई कार्यान्वयनको प्रक्रियामा अगाडी बढेको छ । यसै निर्देशिकाबमोजिम ताराखोला गाउँपालिकाले ढिलै भएपनि गाउँपालिकाभित्रको बजारहरुमा रहेको बिक्रेता वा सेवा प्रदायकले नियामक निकायबाट कानुन बमोजिम प्रदान गरिने दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर, आवश्यक कागजात छ या छैन ? नविकरण भए नभएको ? बस्तुको मुल्यसुची छ या छैन ? त्यस वस्तुको परिणाम तौल गुणस्तर ठिक भए नभएको ? उत्पादन मिति–अवधि भए नभएको ? भण्डारण केन्द्र सफा सुग्घर र मापदण्ड अनुसार छ या छैन ? आदि विभिन्न उद्वेश्यहरु राखेर पालिकाभित्र आयात भएका उपभोग्य बस्तुको अभियानको रुपमा सबै वडाका पसलमा पहिलोपटक अनुगमन गरिएको छ । अनुगमन गर्दा १०० पसलमध्ये ८० पसलमा खाद्य तथा पेय पदार्थमा समय सकिएका उपभोग्य बस्तुहरु फेला परेका छन् ।

बजार अनुगमनका सकारात्मक पक्षहरु :

उपभोक्ता र व्यवसायीहरुमा मुल्यभन्दा गुणस्तर र उत्पादन मिति हेरेर उपभोग गर्नु पर्दछ भन्ने चेतनाको अभिबृद्वि, व्यापारीहरुबाट सामान ल्याउँदा उत्पादन मिति हेरेर ल्याउनु पर्छ र बेच्दा हेरेर बेच्नु पर्ने चेतनाको विकास भएको, लापरवाहीबाट बच्नुपर्छ, कानुन बमोजिम प्रदान गरिने प्रक्रियाहरु पुर्याउनु पर्छ भन्ने सोचको विकास भएको, मापदण्डअनुसार गुणस्तरिय सेवा प्रदान गर्नुपर्छ भन्ने सोचमा विकास भएको छ र संकटको बेला हुनसक्ने कालोबजारी तथा लापरबाहीलाई नियन्त्रण गर्न मद्दत गरेको छ ।

समस्याहरु :

अनुगमन गर्दा मुल्यसूचीमा फरक नपरेता पनि पसलहरु अव्यवस्थित रुपमा संचालनमा रहेको उत्पादन मिति सकिएका नसकिएका सामानहरु एकै ठाउँमा रहेको, कतिपय अवस्थामा पसलहरु दर्ता प्रक्रियामा नआइसकेको, खुद्रा पसलहरुमा ठुला पसलहरुबाट सामानहरु ल्याउँदा म्याद सकिएका नसकिएका सबै एकै ठाउँमा मिसाएर पठाइएको, उत्पादन मिति सकिएका खाद्यबस्तु उपयोग गर्दा स्वास्थ्य सम्बन्धी पार्न सक्ने असरको बारेमा जनचेतनाको अभाव रहेको पाईयो । औषधिजन्य पसलहरुको व्यवस्थापन र संचालनका समस्याहरु रहेको देखियो ।

यसले तत्कालिन र दीर्घकालिन रुपमा पार्ने प्रभावहरु :

अनुगमन गर्दा सबै पसलहरु जंकफुडले भरिएका छन् । चाउचाउ, बिस्कुट, मिठाई, कुरमुरे, पेय पदार्थमा कोकाकोला, फ्रुटि बालबालिकाले प्रयोग गर्ने जुस, मिठाई आदि । यसले केटाकेटी, महिलाहरुको स्वास्थ्यमा बढी प्रभाव पार्न सक्ने देखिन्छ । सजिलो तथा स्वादको लागि बढी जंकफुड प्रयोग हुनाले अल्छीपना बढ्दै जाने, श्रमसँग कट्ने, उत्पादनमा नजोडिने सम्भावना बढ्छ भने दीर्घ रोगहरु लाग्न सक्ने, बालबालिकाको शारिरीक र मानसिक स्वास्थ्यमा नकरात्मक असर पार्छ भने अर्कोतर्फ यी खाद्य सामाग्री प्याक भई आएका प्लास्टिकहरुले टोलबस्ती फोहोर मैला भई वातावरणलाई प्रत्यक्ष असर पुर्याउने देखिन्छ । त्यसैले स्वास्थ्य एउटा उच्चतम् प्रतिफल दिने लगानीको क्षेत्र पनि हो ।
अन्तमा मानिसलाई बाँच्नको लागि पहिलो आधार खाद्यान्न नै भएकाले संघ, प्रदेश र स्थानीय तहका सरकार र सम्बन्धित सरोकारवाला निकायहरुले आगामी दिनहरुमा खाद्यान्न सम्बन्धी बृहत रणनिती बनाउन आवश्यक देखिन्छ । उदाहरणका लागि पुर्व–पश्विम सडकहरुमा होटेल रेष्टुरेन्टहरु अव्यवस्थित र सरकारको निगरानीभन्दा टाढा रहेको देखिन्छ यसलाई उचित मापदण्डअनुसार केन्द्रिकरण गरी आवश्यकताको आधारमा सरकारले ती व्यवसायीहरुलाई संस्थागत गर्दै त्यसको प्रत्यक्ष अनुगमन नियमनसहित जग्गा भाडामा वा लिजमा उपलब्ध गराएर भएपनि सुबिधा सम्पन्न शौचालय, खानेपानी, धुँवा–धुलोरहितको पार्किङ सुबिधा सम्पन्न व्यवस्थित होटेल रेष्टुरेन्ट संचालन गर्ने वातावरण बनाउनुपर्छ । यसो गर्दा सुरक्षित र स्वस्थ खाना खान पाउने वातावरण निर्माण हुनेछ । छरिएर रहेका एकल व्यवसायलाई संस्थागत गरी लगानीको अवसर जुट्ने छ, जसले गर्दा सयौको संख्यामा रोजगारीको अवसर सृजना हुनेछ र समष्टिगत स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने आधार निर्माण हुने विश्वास गर्न सकिनेछ ।
घर्ती ताराखोला गाउँपालिकाका अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->