बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

शहरमा तरकारी हाहाकार : गाउँमा पशुको आहार

शहरमा तरकारी हाहाकार : गाउँमा पशुको आहार

लकडाउनले गाउँमै अल्झियो तरकारी


  • ध्रुवसागर शर्मा
  • बैशाख १३ २०७७, शनिबार

म्याग्दी १३ बैशाख– एक महिना लामो लकडाउनका कारण म्याग्दीको बेनी नगरपालिका २ खबराका व्यवसायिक कृषकहरुले उत्पादन गरेको तरकारी बिक्री नभएपछि गाईभैंसीलाई खुवाउन बाध्य भएका छन् । म्याग्दीकै अगुवा कृषक चन्द्रबहादुर कार्की, तेजेन्द्रबहादुर कार्की, सोभित शर्मा लगाएत खबराका कृषकहरुले करिब ४५ रोपनी जमिनमा लगाएको तरकारी बिक्रि नभएपछि पशुलाई खुवाउन बाध्य भएका हुन् ।
बिक्री गर्ने बेलाका साग, धनियाँ काउली, बन्दा बजारमा लैजाने अवस्था नभएपछि घरमा पालेका गाई भैंसीलाई खुवाउन बाध्य हुनुपरेको कृषक चन्द्रबहादुरले बताए । खबराका अधिकाँश कृषकले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । गत बर्ष ८ लाख बराबरको तरकारी बिक्री गरेका कार्कीले यसवर्ष लकडाउनले तरकारी पशु चौपायालाई खुवाउन बाध्य भएको बताए । यसवर्ष २ रोपनी जग्गामा धनियाँ मात्रै लगाएका कार्कीले दुई महिनासम्म दैनिक २ हजारका दरले बिक्रि गर्ने लक्ष्य लिएपछि लकडाउनले सबै योजना भताभुङ्ग भएको बताए । कार्कीले लकडाउनपछि यहाँ घुम्न आउनेलाई निशुल्क तरकारी दिएर पठाउने गरेको बताए ।
खबराकै अर्का कृषक शोभित शर्माले जिल्ला प्रहरी कार्यालयमा तरकारी निर्यात गर्ने भएकोले पशुलाई नै खुवाउनु पर्ने बाध्यता नभएपनि बाहिर बिक्री गर्न नपाउँदा बारीमै खेर गएको बताए । यसैगरी रोहोटेका कषक हरिलाल घिमिरेको बारीमा लहलहै झुलेका बोडी, सिमी, काँक्रो लगाएतका बेमौसमी तरकारीले बजार नपाएपछि आफ्नो श्रम र लगानी दुवै खेर गएको बताए । तरकारी मात्रै हैन, दूधसमेत बिक्री गर्न नपाएको उनको गुनासो छ । दुई भैंसी पालेका घिमिरेले दैनिक ५ लिटर दुध बिक्री गर्दै आएकोमा विगत एक महिनादेखि बिक्री नहुँदा दोहोरो नोक्सान भएको बताए । घिमिरेले पनि बारीमा रहेको तरकारी टिपेर भैंसीलाई खुवाउँदै आएको बताए ।
जिल्लाका खबरा, बगरफाँट, रोहोटे, खान्दुला, अर्मन, रणबाङ, सिंगा लगाएतका किसान तरकारी र दूध बिक्री गर्न नपाउँदा समस्यामा परेको बताउँछन् । सरकारले राहत कार्यक्रम ल्याए पनि गाउँका साना किसानसम्म नुपुग्ने हो कि भन्ने चिन्ताले पिरोलिएका छन् । जरबुटाका कृषक नारायण जिसीले ४८ हजारको लगानीमा गत माघमा तरकारी लगाएका थिए । तर, बिक्री गर्ने समयमा कोरोना त्रास फैलिएपछि आफूले उत्पादन गरेको तरकारी बारीमा नै कुहिने अवस्थामा पुगेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->