बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

निर्माण क्षेत्रलाई सेल्फ क्वारेण्टाइनजस्तो बनाएर काम थालौं : मुख्यमन्त्री गुरुङ

निर्माण क्षेत्रलाई सेल्फ क्वारेण्टाइनजस्तो बनाएर काम थालौं : मुख्यमन्त्री गुरुङ

प्रदेशमा पनि आफ्नो विशिष्ठ अस्पताल चाहिँदो रहेछ, सबै जिल्ला अस्पतालमा ५/५ बेडको आइसियू बनाउदैछौ ।


  • ढोरपाटन संवाददाता
  • बैशाख १४ २०७७, आइतबार

पोखरा, १४ बैशाख – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निर्माण क्षेत्रलाई सेल्फ क्वारेण्टाइनजस्तो बनाएर काम थाल्नुपर्ने वताएका छन् । ‘निर्माण क्षेत्र सेल्फ क्वारेण्टाइनजस्तै हुन्छ, हात धुनेदेखि माक्स लगाउने, पञ्जा लगाउने हुन्छ नि’, मुख्यमन्त्री गुरुङले शनिबार केही पत्रकार सामु भने, ‘हाम्रो (गण्डकीको) कार्यविधि बनेको छ, केन्द्रले ल्याउँछ कि भन्ने छ, अरु सबैले नगरे पनि हामीले गर्ने कि भन्ने कुरा छ । लापरवाही नगर्ने, सोसल डिस्ट्यान्स कायम गर्ने र काम गर्ने गर्न सकिन्छ ।’ उनले विकास निर्माणका काममा चाहिने कच्चा पदार्थ आयात गर्दा गाडीलाई नै स्यानेटाइज्ड गर्ने र निर्माणस्थलमा पुग्दा हरियो स्टिकरसहित लैजाने योजना बनेको पनि सुनाए ।
‘विकास निर्माणको काम गर्दा निर्माणको सामग्री चाहियो, सिमेण्ट चाहियो, गिट्टी चाहियो, ढुंगा चाहियो माटो चाहियो । निर्माण सामग्री आयात गर्नुप¥यो । इण्डियाबाट ल्याउने हो भने नेपाल सरकारलाई भन्नुप¥यो । त्यो गाडीलाई स्यानेटाइञ्ड गर्नुप¥यो । त्यहाँ भएका मान्छेहरुलाई पनि स्यानेटाइज्ड गर्नुप¥यो’, मुख्यमन्त्रीले भने, ‘ती मान्छेलाई आरडीटी गर्दिए भयो नि । मुग्लिङ, गैंडाकोटमा पनि गर्नुप¥यो । निर्मांणस्थलसम्म आउँदा ग्रिन स्टिकर टाँसेर आउनुप¥यो । नत्र जनता आतंकित हुन्छन् नि ।’
उनले सधैँ बाहिर जिल्लाबाट खाद्य सामग्री ल्याएर नहुनु बताउँदै यहाँ भएका उद्योगहरु खोल्नुपर्नेमा पनि जोड दिए । ‘यहाँ भएका खाद्यान्नका उद्योगहरु पनि चल्नुप¥यो नि त । सधैँ बुटबलबाट ल्याउने, नेपालगञ्ज ल्याउने भएन नि, यहाँ भएको खोल्नुप¥यो’, उनले भने,‘ कारखानामै बस्ने, त्यहीँ खाने, त्यहाँबाट बाहिर आउन नदिने । खासगरी पुरुषहरुलाई त्यहीँ राख्ने ।’ उद्योगहरुको कच्चा पदार्थ भारतबाट ल्याउनुपर्ने भएकाले समस्या रहेको चाहिँ उनले स्वीकारे ।
भारतमा संक्रमण नियन्त्रणम नहुँदासम्म नेपालमा पनि लकडाउन
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भारतमा संक्रमण नियन्त्रणम नहुँदासम्म नेपालमा पनि लकडाउन लम्ब्याउनु पर्ने बताएका छन् । संघीय सरकारबाट घोषित लकडाउनको समयसीमा सकिन एक दिनमात्रै बाँकी रहँदा गण्डकीका मुख्यमन्त्री गुरुङले भने,‘ लकडाउन त निश्चित रुपमा लम्बिँन्छ । तर, मोडालिटी परिवर्तन हुन्छ । भारतमा संक्रमण नघट्दासम्म यहाँ हतार गर्नुहुन्न । म लापरबाही गर्न हुन्न भन्ने पक्षमा छु, काठमाण्डौबाट पनि ल्याउनुहुन्न भन्नेमा छु ।’ उनले निर्माण क्षेत्रलाई सेल्फ क्वारेण्टाइनजस्तो बनाएर काम थाल्नुपर्ने आफ्नो धारणा रहेको सुनाए ।
प्रदेश नै कोरोना मुक्त‘ग्रिन जोन’
मुख्यमन्त्री गुरुङले बागलुङमा संक्रमण देखिएका दुबैजना घर फर्केपछि यो प्रदेश नै कोरोना मुक्त‘ग्रिन जोन’भएको घोषणा गरे ।‘बागलुङ रेडजोन हो भन्ने थियो, बागलुङमा पनि दुईवटाभन्दा बढी नदेखिएपछि त्यो पनि ग्रिन जिल्ला हो’, उनले भने, गण्डकीका ११ वटै जिल्ला ग्रिन जिल्ला ८५ वटै पालिकाहरु ग्रिन छन् । ’विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार दुईपटक नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गर्ने भनेकाले अंशुलाई डिस्चार्ज गरिएको बताउँदै उनले प्रदेश आजको दिनमा कोरोनाबाट मुक्त भयो, यसलाई कायम राखौँ भन्ने आफ्नो धारणा रहेको बताए ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको नयाँ ब्लकलाई डेडिकेटेड अस्पताल
मुख्यमन्त्री गुरुङले कोभिडको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको नयाँ ब्लकलाई डेडिकेटेड अस्पताल बनाउँदै गरिएको र धौलागिरी अस्पतालमा पनि सोही मापदण्ड अनुसार निर्माण चलिरहेको बताए ।
‘त्यहाँ( धौलागिरी अस्पताल) ५ बेडको आइसियू पनि बनाइसकेका छौँ’, उनले भने,‘ यो चुनौति पनि हो, संकट पनि हो, चुनौतिको सामना गर्र्दै जाँदा हाम्रो स्वास्थ्य स्थिति कस्तो रहेछ भन्ने जानकारी भयो ।’
उनले विपत्को बेला भएकाले सबै सामान ल्याउन नसकेको स्वीकार्दै चुनौतिको सामना गर्दै जाँदा हाम्रो स्वास्थ्य अवस्था कस्तो रहेछ भन्ने बुझेको पनि बताए । अर्को पटक पनि संक्रामण्क रोग आउन सक्छ भन्नेमा सचेत हुनुपर्ने बताउँदै उनले संक्रामक रोक्न यो प्रदेशमा पनि आफ्नो विशिष्ठ अस्पताल चाहिँदो रहेछ भन्ने सिकाएको स्वीकारे ।
‘कोभिडले सिकायो । सबै प्रदेशलाई सिकायो’, उनले भने,‘सबै जिल्ला अस्पतालमा ५÷५ बेडको आइसियू बनाउने । लेखनाथ सामुदायिक अस्पताल भवन राम्रो छ । अहिले तेस्रो डेडिकेटेड अस्पताल बनाउने त्यहाँ ५÷६ करोड खर्च गर्दैछौँ ।’
उनले पूर्वी जर्मन र पश्चिम जर्मनको उदाहरण दिँदै राज्यले पूर्वाधार बनाएको अवस्थामा संक्रमण रोक्न सजिलो हुने धारणा पनि राखे । पूर्वी जर्मनले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेकाले त्यो सम्भव भएको उनको जिकिर थियो । उनले त्यहाँबाट सिकेर यो मौकालाई उपयोग गनुपर्ने बताए । जिल्ला अस्पतालमा विशिष्ठ सेवा प्रवाह गर्न सकिने बनाउनुपर्ने आवश्यकता पनि औंल्याए । यस्तो महामारी फैलियो, बिरामी टेकुमै लैजानुपर्ने , बिरामी पनि टेकुमै लैजानुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा उनको जोड थियो ।
नाकाहरुमा गाडीलाई पनि स्यानेटाइज्ड
उनले गण्डकी प्रदेश भित्रने नाकाहरुमा गाडीलाई पनि स्यानेटाइज्ड गरिएको र एक ठाउँमा बसिरहेको ठाउँबाट मान्छे बाहिर निस्कँदा समस्या भएको स्वीकारे । उनले राहतको लागि स्थानीय निकायमा पठाइएको पैसाको व्यवस्थापन प्रभावकारी नभएको गुनासो पनि गरे ।
‘जुन पैसा हामीले गाउँपालिकामा ५÷५ लाख पठाउँदैछौँ,त्यसको व्यवस्थापन प्रभावकारी भएन । निर्वाचित संस्थालाई दिँदा उपर्युक्त होला भनेर वडालाई दियौँ । तर, चिन्ने कुरामा समस्या भयो’, उनले भने,‘ हाम्रो मापदण्ड उल्लघंन भयो, त्यो अनुसार काम भएन । हामीले राहत बाँड्दा मान्छे हुनुप¥यो भनेका थियौँ ।’ उनले स्थानीय निकायहरुले गरेका कतिपय काममा असन्तुष्टी जनाए । ‘क्वारेण्टाइन बनाउने होडबाजी चलेको छ, हाम्रै नेता र माननीय लाग्नुभा’छ, त्यसले अलिकति समस्या परेको छ’, लापरबाहीले मकवानपुरतिर बढेको हो, मानिस ल्याउँदा समस्या पर्छ , यो कुरा जनताले बुझेका छैनन् । भूकम्पको जस्तो अनियमितता यो पटक नहोस् है भनेर मैले सबै ८५ वटै तहलाई भनेको थिएँ । जसलाई आवश्यक छ, उसैलाई दिनुपर्छ भनेको थिएँ ।’
लकडाउनको कारणले कोही भोकै नपरोस्
लकडाउनको कारणले कोही भोकै नपरोस् भन्ने आफ्नो उदेश्य भएको बताउँदै यही प्रयोजनको लागि आफैले सबै स्थानीय तहका प्रमुखहरुलाई टेलिफोन गरेको पनि उनले स्मरण गरे । गोर्खाको धार्चे र अर्को एक स्थानीय निकायमा फोन हुन नसकेको पनि उनले सम्झे । अरु जिल्लामा बेजिल्लाको मान्छे हुँदा समस्या देखियो । प्रदेश नम्बर ५ र सुदूरपश्चिममा टेष्ट नभएकाले समस्या बाहिर नआएको जिकिर गर्दै उनले भने,‘आरडीटी टेष्ट भइसक्यो, पिसीआर टेष्ट नै हुनुुपर्छ भन्नेमा हामी छौँ ।’स्वाब कलेक्सन छिटो हुनुुप¥यो र पिसीआर पनि छिटो हुनुप¥यो ।’ उनले संघीयतामा नजाँदै कोभिड लागेको भए देशमा धेरै मान्छे मरेका हुन्थे भन्ने जिकिर पनि गरे । संघीयताकै कारण राहत बितरण प्रभावकारी भएको, आइसोलेसन वार्ड र क्वारेण्टाइन बनेको पनि उनको जिकिर थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->