बागलुङ, १४ बैशाख– पाँच बर्षदेखि बागलुङ बजारको फोहोर व्यवस्थापन गर्दै आएको धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण सहकारी संस्था र बागलुङ नगरपालिकाबीच सुरु भएको बिबाद दोहोरीमा परिणत भएको छ । सहकारीले बहानाबाजी गरेर बागलुङ बजारको फोहोर उठाउन आनाकानी गरेको भन्दै नगरपालिकाले सम्झौता रद्द गर्ने प्रक्रिया थालेको छभने सहकारीले अर्को कुनै सहकारीसँग गाँभिनका लागि नगरपालिकाले दिएको दबाब नमान्दा सम्झौता खारेजीको कुरा उठेको दाबी गरेको छ ।
सम्झौता रद्द गर्ने मनस्थितीमा रहेको नगरपालिकाले गत शुक्रबार सहकारीका नाममा पत्राचार गर्दै रद्द गर्न नपर्नुका कारण माग गरेको थियो । ‘फोहोरमैला संकलन तथा व्यवस्थापन सम्बन्धी २०७२ फागुन १० गतेको सम्झौता यथास्थितीमा कायम राखि रहनुका कुनै औचित्य नदेखिएकाले सो सम्झौता किन रद्ध नगर्नु पर्ने हो ?’ नगरको पत्रमा भनिएको छ ‘रद्द गर्न नपर्नुका कारणसतिह पत्र प्राप्त भएको मितिले ७ दिनभित्र लेखि पठाउनु ।’
सहकारीले पनि आईतबार नगरपालिकालाई जवाफ पठाएको छ । सम्झौतामा तोकिए बमोजिमका शर्तहरु दुवै पक्षले पालना गर्नुपर्नेमा नगर पन्छिएको सहकारीको स्पष्टिकरणमा उल्लेख छ । एकतर्फी रुपमा सम्झौता कार्यान्वयन गर्दा समेत नगरपालिकाले हलो अड्काएर गोरु चुट्ने काम गरेको सहकारीका अध्यक्ष सुधिर श्रेष्ठको तर्क छ । उनले ६ वटा बुँदामा सम्झौता रद्द गर्नुपर्ने कुनै कारण नरहेको तर्कसहितको पत्र नगरपालिकालाई पठाएका छन् । उक्त पत्रमा दुई पक्षको बिचमा भएको सम्झौताको बुँदा नं. १०.५ र १०.६ का आधारमा जनशक्ति र सवारीसाधनको मर्मत कार्य नगरपालिकाले नै गर्नुपर्ने भन्ने उल्लेख रहेकाले महालेखाले देखाएको बेरुजुका सम्बन्धमा आँफुहरु जिम्मेबार नरहेको उल्लेख गरिएको छ । 
२०७६/११/२० गते नगरपालिकाले महालेखा परीक्षकको कार्यालयले कर्मचारी र मर्मत खर्च बेरुजु देखाएको पत्र सहकारीलाई पठाएको थियो । नगरले पठाएका सबै पत्रको जवाफ पठाएको, नियमित फोहोर उठाउने र व्यवस्थापन गर्ने काम गरेको र सम्झौता पूर्ण रुपमा पालना गरेको सहकारीले दिएको स्पष्टिकरणमा उल्लेख छ ।
बागलुङ नगरपालिकाले फोहोर संकलनमा खट्न कर्मचारीको तलबभत्ता र प्रयोग हुने सवारीको मर्मत खर्च बहन गर्नेगरी सहकारीले २०७२ सालदेखि बजारक्षेत्रको फोहोर संकलन र विर्सजन गर्ने सम्झौताअनुसार काम गर्दै आएको छ ।
सहकारीले विभिन्न बहाना बनाउँदै फोहोर संकलन नगरेपछि नगरपालिकाले विषम परिस्थितीमा फोहोर संकलन नगर्दा थप जटिलता सृजना हुने र जिम्मेवारी संस्थाले विभिन्न बहाना बनाएर नगरपालिकालाई नै दोषी देखाई जिम्मेवारबाट हटेपछि पत्र काट्न बाध्य भएको प्रमुख प्रशासकीय अधिकृत डण्डापानी शर्माले बताए । फोहोर संकलन नभएको जनगुनासो आएपछि चैत्र १५ गते नगरपालिकाले फोहोर मैला उठाउनको लागि पत्राचार गरेपनि सहकारीले समयमा फोहोर नउठाएपछि नगरपालिकाले ट्रयाक्टर भाडामा लिई फोहोर संकलनको काम गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिए ।
फोहोर मैला संकलन सहकारी संस्था बागलुङले चैत्र १६ गतेसम्म पनि फोहोर नउठाएमा वा उठाउन चासो नदेखाएमा उक्त संस्थासँग सम्झौता भंग गर्ने प्रक्रिया सुरु गर्ने निर्णय नगरको चैत्र १५ गते बसेको बैठकले निर्णय गरेको थियो । उक्त बैठकले बागलुङ नगरपालिका स्वयंले फोहोर संकलन तथा व्यवसथापनको कार्य मिलाउने भनी निर्णय समेत गरेको छ ।
नगरपालिकाले फोहोर व्यवस्थापनको लागि खटिने कर्मचारीको तलब र ना २ त ९४४४ नम्बरको ट्याक्टर तथा ग १ प १३१ को ट्रिपरको मर्मत खर्च समेत जिम्मेवारी लिँदै आएको छ । फोहोर संकलन बापतको रकम सहकारीले लिने तर कर्मचारीको तबल र सवारी मर्मत खर्च नगरपालिकाले ब्यहोर्नु उपयुक्त नदेखिएको भन्दै महालेखा परीक्षकको कार्यालयले नगरपालिकालाई बेरुजु खर्च असुल गर्न भनेको थियो ।





