बागलुङ, १५ बैशाख – बागलुङ बजारमा बस्ने राजु हमाल लकडाउनपछि घर फर्किए । बागलुङ नगरपालिका–१२ काउलेमा रहेको घरमा उनी दश बर्षयता लामो समय बस्नेगरी गएको यो पहिलोपटक हो ।
घर छोडेर बजारमा बस्न थालेपछि उनको घरछेउको बारी कोतर्ने कोही थिएनन् । नत घरमा खेती गरेर खानसक्ने कोही बस्थे । राजु बजार झरेसँगै घर छेउको बारी बाँझियो, जंगली जनावरको बासस्थानजस्तै रुप झाडीले बदल्यो । लकडाउनपछि घर पुगेका उनले ७ बर्षपछि अहिले बारी खनजोत गरे । झाडीमा बदलिएको बारीले सुसार पायो ।
घरछेउमा रहेको ७ रोपनी बारीमा उनले मकै लगाए । ‘घर बस्न नपाएर बाँझिएको बारीमा चितुवानै बस्छ जस्तो थियो’ हमालले भने, ‘यसपालि फुर्सदमा घर बसियो, सबै फाँडेर मकै लगाएँ ।’ उनले अब बारी बाँझो नराख्ने सोँच बनाएका छन् । झाडीले पुरेको बारी खनजोत नभएकै कारण अनकन्टार बन्दै थियो । प्रबिधिले उनलाई साथदियो र मिनिपावर टेलरले बारी कोतरे । ‘गोरु नपाईने, जोत्ने मान्छे पनि नहुने’ उनले भने ‘अब त मेसिनले जोतेरै भएपनि खेती गर्छु ।’
लकडाउनको समय सदुपयोग गर्दै जैमिनी नगरपालिका–१ कुश्मीशेरामा १० हजार केराका बिरुवा लगाईएको छ । केरा पकेटक्षेत्र घोषण भएको वडाका बाँझो खेतबारीमा केराका बिरुवा लगाईएको हो । लकडाउनले गाउँ फर्केका युवाले केरा लगाउन परिवारलाई सघाईरहेका छन् । केराका बिरुवा त रोपिन्थेनै लकडाउनमा घर फर्केका युवाहरुका कारण खाडल बनाउने, मल दिने र बिरुवा लगाउने काममा सहज भएको स्थानीय किसान भीम शर्माले बताए ।
जैमिनीमा केराका बिरुवा लगाउन कृषि प्राबिधिकहरु पनि खटिएका छन् । ‘लकडाउनमा कृषि कर्म गर्न सकिन्छ भनेर किसानालाई उत्साहित बनाईरहेका छौं’ जैमिनी नगरपालिकाका कृषि प्राबिधिक रबिन्द्र शर्माले भने, ‘हामीले बारीमै पुगेर सल्लाह दिएका छौं, उहाँहरु सामाजिक दुरी राखेर काम गरिरहनु भएको छ ।’ बाँझो जमिन र खाद्यान्न बाली कम उत्पादन हुने क्षेत्रमा केरा लगाउन सल्लाह दिईएको शर्माले बताए । साविकको कुश्मीशेरा गाविसका वडा नं. १, २, ३ का किसानले धान फल्ने खेतमा समेत केरा लगाएका छन् ।





