पुरुष : पासपोर्ट हरियो घर धानेर बस है प्यारी आफु त मुग्लानी परियो
महिला : पासपोर्ट हरियो कस्तो दिनमा परदेशी मायाको सिन्दुर छरियो ।।
माथि उल्लेखित लोकदोहोरी गीतमा भनेजस्तै लाखौँ युवाहरु अहिले रोजगारीको शिलशिलामा घर धान्ने जिम्मा श्रीमतीलाई सुम्पेर प्रदेशमा श्रम गर्न विवश छन् । बिदेश जाने, धेरै कमाउने र सुखसयलको जीवन जिउनेजस्ता सपना बोकी वैदेशिक यात्रामा प्रबेश गर्ने युवाहरुको जमात पछिल्लो समय निकै ठुलो छ । इतिहासलाई हेर्दा विकसित मुलुकहरुबाट वैदेशिक रोजगारको सुरुवात भएको पाईन्छ । नेपाली कामदारहरु वैदेशिक रोजगारमा संलग्न चीनबाट भएको पाईन्छ । त्यसपछि बिश्वयुद्धका समयमा नेपालीहरु गोर्खा सैनिकमा भर्तीभई रोजगारी गरेपछि बिधिवत रुपमा नेपालमा वैदेशिक रोजगार सुरुवात भएको पाईन्छ । नेपालमै जिविकोपार्जन गर्न सकिने सम्भावना हुँदाहुँदै पनि लाखौँ युवाहरु जस्तोसुकै चुनौती मोल्न तयार भई परदेशिएका हुन्छन् । यतिमात्र होईन नेपालमै अधिकृत स्तरको जागिर खाएका युवाहरु पनि मनग्य पैसा कमाउने सपनामा अवैधानिक बाटो प्रयोग गरि ठुला राष्ट्र जाने प्रवत्ति पनि बढेको छ ।
अहिले विश्वका विभिन्न देशमा ५० लाखभन्दा बढी युवाहरु वैदेशिक रोजगारीमा छन् । रोजगारको शिलशिलामा रहँदै गर्दा विश्वभर महामारीका रुपमा कोरोना भाईरसको संक्रमण फैलियो । कारोनाको प्रकोप फैलिदै गएपछि अधिकांस देशमा लकडाउन गरिएको छ । पछिल्लो सयम युवाहरुको आकर्षण बढ्दै गएको अमेरिका कोरोना भाईरसको चरम चपेटामा परेको छ । प्रायः नेपाली युवाहरु भएको ठाउँ ओमन, कतार, दुवई, साउदी, भारत, मलेसिया लगाएतका देशहरु कोरोना महामारीको चपेटामा परेका छन् । त्यहाँका कलकारखाना उद्योगधन्दा सबै ठप्प छन् । जसले गर्दा धन कमाउने ठुलो सपना देखेर परदेशिएका युवाहरु चरम समस्यामा परेका छन् । उनीहरु अहिले होम क्वारेन्टाईनमा बस्नुको विकल्प छैन । दैनिक काम गरि मासिक तलब बुझ्ने गरेका युवाहरु तलब बुझ्न पाएका छैनन् । हुनत ः काम नगरि तलब पनि कसरी पाउन । दिनभर कलकारखानामा समय िबताउने गरेका उनीहरु अहिले भने नेपाल सम्झेर दिनचर्या बिताउनुपरेको छ । नेपाल आउँ भने पाईदैन, त्यहीँ बसौँ बिहानबेलुकी छाक टार्न धौँ–धौँ भईसक्यो । यत्रि मात्र होईन कोरोना प्रकोपले नेपाल फर्किनै नपाईने हो कि भन्ने चिन्ता पनि उत्तिकै छ ।
त्यसकारण सरकारले दिर्घकालिन योजना बनाउनु पर्छ । अब शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यटन, वन, प्रबिधि, उर्जा, पूर्वाधारको क्षेत्रमा अबका नयाँ चुनौतीसँग सामना गर्ने कार्यक्रमहरु अगाडि बढाउन आवश्यक छ ।
दिनरात परदेशी श्रीमानसँग फोनमा कुरा गर्ने गरेकी श्रीमती श्रीमान आउने दिन गन्न थालेकी छन् । नेपालमै केही गर्ने योजना बनाएकी श्रीमतीको आग्रहलाई अवज्ञा गर्दै परदेशिएको श्रीमानलाई भने अहिले श्रीमती सम्झाउनै ठिक्क छ । यति मात्र होईन वैदेशिक रोजगारीले परिवारमा बेमेल समेत सिर्जना गरेको छ । हरियो पासपोर्ट रोजेर घर सम्हाल्ने जिम्मा श्रीमतीलाई लगाई मुग्लान तरेका धेरै युवाहरु कोरोना भाइरसको कहरसंगै हरियो पासपोर्ट होईन, खेतबारी हराभरा बनाउने स्वप्नील मनस्थितीमा पुगिसकेका छन् । उनीहरुले स्वदेश फर्केर केही गर्ने सोच बनाएका छन् । त्यो सोचलाई यथार्थमा परिवर्तन गर्न अब सरकारले सोच्ने बेला आएको छ । अधिकांश युवा वैदेशिक रोजगारीमा संलग्न भएको कारण ग्रामिण भेगका उर्वर जमिन बाँझो बनेका छन् । स्वदेशी उत्पादन नहुँदा नेपालीको दैनिक जीवनयापनका लागि आवश्यक खाद्यान्न र तरकारीसमेत अर्को मुलुकबाट आयात गरि महंगो मुल्यमा खपत गर्नु परिरहेको वर्तमान अवस्थामा सरकारले युवाहरुलाई उत्पादनसँग जोड्ने योजना तत्काल बनाउनुपर्छ । परदेशिएका लाखौँ युवाबाट रेमिट्यान्स भित्र्याउनेभन्दा उत्पादन वृद्धि गर्दै आत्मनिर्भर भई समुन्नतको दिशातर्फ लम्कने योजना कोर्न आवश्यक छ । संकटलाई चुनौतीको रुपमा होईन अवसरको रुपमा लिनुपर्छ भनेझँै बिदेशिएका युवालाई स्वदेश फिर्ता गराई स्वदेशमै रोजगारी सिर्जना गर्ने अनि उत्पादन बृद्धि गर्ने अवसर पनि प्राप्त हुने बेला आएको छ । जनशक्तिको अभावमा अधुरै रहेका योजनाहरुलाई पूर्णता दिने बेला आएको छ । बैदेशिक रोजगार त्यागी जे–जस्तो भएपनि स्वदेशमै केही गर्ने योजना बनाएका युवाहरुलाई नेपालमा उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने वातावरण मिलाउन ढिला गर्नुहुँदैन । उपभोग्य बस्तु र अचल सम्पतीहरु घरजग्गामा लगानी गर्ने र भौतिक सुख सुविधामा खर्च गर्ने बानी रहेका नेपालीहरु लगानी गर्न हिच्चकिचाउँछन्, त्यसैले उनीहरुले गर्ने लगानीको पनि ग्यारेण्टी हुनुपर्छ ।
अहिलेको सरकारसंग नेपाली जनताको ठुलो अपेक्षा र भरोसा छ । अहिलेको सरकार करिब दुईतिहाई बहुमत प्राप्त गरि ३० वर्षे राजनीतिक इतिहासमा विल्कुल फरक प्रकृतीको र जनताद्धारा अनुमोदित सरकार हो । त्यसकारण सरकारले दिर्घकालिन योजना बनाउनु पर्छ । अब शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यटन, वन, प्रबिधि, उर्जा, पूर्वाधारको क्षेत्रमा अबका नयाँ चुनौतीसँग सामना गर्ने कार्यक्रमहरु अगाडि बढाउन आवश्यक छ । कृषि र वनमा आधारित उद्योगबाट रोजगारी सिर्जना गर्ने र नदीनाला, ताल, पोखरी, कुण्डबाट रोजगारी सिर्जना गरेर उत्पादन वृद्धि गर्ने अवसर पनि सरकारलाई मिलेको छ । नेपालकै विकास र समृद्धिमा यूवाहरुलाई सरिक बनाउने अभियान तत्काल ल्याउन आवश्यक छ । यसका लागि सबैले आ–आफ्नो ठाउँबाट सोच्नुपर्ने बेला आएको छभने आमनागरिकले पनि आफ्नै ठाउँमा उत्पादन र रोजगारी सिर्जना गर्ने सोचको विकास गर्न आवश्यक छ ।





