सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

लकडाउनको सकस : फर्ममै थन्किए अण्डा

लकडाउनको सकस : फर्ममै थन्किए अण्डा

दैनिक हजार बढी अण्डा खाडल खनेर पुर्नुपर्ने अबस्था आएपछि किसान चिन्तित


  • ढोरपाटन संवाददाता
  • बैशाख १६ २०७७, मंगलबार

बागलुङ, १६ बैशाख– बिदेश जान चाहने युवालाई रोकेर ऋणधन गरेर एक करोड बढी लगानी गरे । उनीहरुले आफ्नो भएको सम्पत्ति र बैंकको ऋण समेत लगाएकोले बजारमा उत्पादन बिक्री भए मात्र तिर्न र नाफा कमाउन सकिने बुझेका थिए । तर एक महिनाअघिदेखि लकडाउनले सवारीसाधन गुड्न छाडेपछि उनीहरुको कृषि फर्मका सबै उत्पादन अलपत्र परेका छन् ।
बागलुङ नगरपालिका वडा नं. ११ रायडाँडाको धौलागिरी रामतोला नमूना कृषि फर्मका सबै उत्पादन अहिले थन्केका छन् । थन्कने मात्र हैन समयमै बजारमा खपत नभएपछि बिग्रेर जान थालेका छन् । सामान्यत अण्डा उत्पादन भएको २१ देखि २८ दिनसम्म प्रयोगमा आउनु पर्छ । ढिलागरी प्रयोग गर्दा अण्डा बिग्रने, कुहिने खतरा हुन्छ ।
यो फर्ममा १० जना युवाले १० लाख रुपैयाँको दरले एक करोड लगानी गरेका छन् । यहाँ १ हजार ५ सय लेयर्स कुखुरा पालिएको छ । ६० बाख्रा, ५० टर्की, ३ हजार सुन्तला र तरकारी समेत लगाइएको छ । बाख्रापालनमा अहिले खासै समस्या छैन । तर अण्डा भने सबै खेर गएका छन् । दैनिक १ हजार २ सयदेखि १ हजार ४ सय अण्डा उत्पादन हुने गरेकोमा बजारमा जान पाएको छैन । अण्डा उत्पादन भएर महिना दिन बढी राख्नुपरेपछि बिग्रदै गएको फर्मका सदस्य बिष्णु पौडेलले बताए । ‘दैनिक हजार बढी अण्डा खाडल खनेर पुर्नुपर्ने अबस्था आएपछि किसान मर्कामा परेका छौं’ उनले भने, ‘करोडौ लगानी खेर पनि गैरहेको छ ।’
बजारमा दूध, माछा मासुको खपत तुलनात्मक घटेपछि चाहेको बेलामा बस्तु नपाउने समस्या पनि छ । तराईबाट दैनिक ट्रकमा सामान आएपनि ग्रामीण क्षेत्रबाट गाडी आएका छैनन् । बजार खोज्ने अबस्था पनि छैन । त्यसैले उनीहरु लगानी डुब्ने भयो भनेर चिन्ता गर्न थालेका हुन् ।
कोरोना भाइरसको संक्रमण बढेपछि देश पुरै लकडाउन छ । तर कोरोना जितेकाहरुले आत्मबिश्वास र पोसिलो खानपानको मात्रा बढाउनुपर्ने अनुभव पनि सुनाएका छन् । तर किसानको बारीमा फलेका फलफूलदेखि अण्डा र मासुजन्य बस्तुले बजार पाएको छैन । ‘पोषिलो कुरा खानुपर्छ भन्ने सन्देश र किसानको फर्मको उत्पादन बजारमा ल्याउने वातावरण चाहियो’ फर्म संचालक समितिका अध्यक्ष दलबहादुर केसीले भने, ‘किसानको उत्पादनले बजार पाउँदा उपभोक्ताले पनि ताजा तरकारी र पौष्टिक आहार समेत पाउने थिए ।’
भौगोलिक कठिनाईले गाउँपालिका केन्द्रसम्म आउनेजाने सडक समेत अप्ठ्यारो छ । बस्तीमा बेच्ने वातावरण बनाउन खोजेपनि गाउँमा राम्रो बजार बनाउन नसकिएको वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले बताए । ‘लगानी गरेकाहरुलाई समस्या भएको छ, बजार व्यवस्थापनबारे नगरपालिकामा पनि कुरा गरेको छु’ गौतमले भने, ‘ठूलो लगानी गरेका किसानलाई व्याजमा छुट र अनुदान चाहिन्छ भनेपनि कार्यान्वयन भएको छैन ।’
जैमिनी लगायतका स्थानीय पालिकाले अनुदानमा आधारित कृषि ऋण लगायतका कार्यक्रम ल्याएपनि आँफूहरु बञ्चित भएको केसीले बताए । तरकारी खेती पनि बजारसम्म लैजान नसकेको उनीहरुले गुनासो गरेका छन् । बजारीकरणमा नगरपालिकाले साथ दिनुपर्ने उनीहरुको माग छ ।
रायडाँडा सुन्तला जोनमा पनि समावेश छ । तर यहाँका किसानले लगाएको सुन्तलाको बिरुवाको अनुगमन र प्राविधिकले साथ नदिएको गुनासो बढेको छ । ‘तल्लो क्षेत्र भएकोले आउजाउमा कठिनाई पनि छ, सुन्तला जोन कार्यालयले पनि अनुदान, प्राविधिक सहयोग लगायतको सहयोगमा चासो राखेको छैन’ पौडेलले भने, ‘किसानले अप्ठ्यारोमा बसेर पनि काम गरेका छन् भन्ने राज्यले देख्दैन ।’
टर्की र बाख्रापालनले मासु बजारमा राम्रो साथ दिने उनीहरुको बिश्वास छ । तर लकडाउन लम्बिंदै जाँदा बजारमा पठाउन कठिन भएको उनले बताए । नगरपालिकाले ढुवानीमा सहज बनाउने वा दैनिक गाडी आउनेजाने व्यवस्थापन गरिदिए स्थानीय किसानले लगाएको सागपात र अन्य ताजा तरकारी सहजै बजार पठाउन सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->