बागलुङ, १७ बैशाख – विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणका त्रासले लकडाउनसंगै वन्द रहेका बागलुङका सहकारी संघसंस्थाहरुले कार्यालय खोलेर आफ्नो बित्तिय कारोवार गर्न सुरु गरेका छन् ।
पछिल्लो पटक सरकारले कार्यालय खोल्न निर्देशन दिएपछि आफ्ना कार्यालय खोलेर कारोवार सुरु गरिएको प्रगति वहुउदेश्यीय सहकारी संस्था बागलुङका अध्यक्ष कृष्णप्रसाद पौडेल (कुमार) ले वताए । हामीले हाम्रो कार्यालय दैनिक दुई घण्टा खोलेर सेवा दिइरहेका छौ, अध्यक्ष पौडेलले भने, ‘प्रत्येक दिन दिउसो ११ बजेदेखि १ बजेसम्म कार्यालय खुला रहन्छ ।’
लकडाउनको समयमा कार्यालय नखुलेपनि आफ्ना शेयर सदस्यहरुलाई सेवा दिइरहेको प्रगतिका प्रबन्धक मुना शर्माले बताईन । उनका अनुसार कार्यालय वन्द रहदा पनि शेयर सदस्यहरुलाई आवश्यक भएको समयमा घर घरमा पुगेर पनि सेवा दिइएको थियो । दैनिक रुपमा कार्यालय खुलेपछि ऋण तथा बचतको कारोवार भइरहेको प्रबन्धक शर्माले वताईन ।
जिल्लामा वित्तिय कारोवार गर्ने सहकारीहरु वन्द रहदा सर्वसाधारण निक्षेपकर्ताहरु मर्कामा परेका थिए । उनीहरुले सहकारीमा आफ्नो पैसा बचत रहँदा पनि प्रयोग गर्न नपाएकोमा गुनासो गर्दै आइरहेका थिए ।
एकता सहकारी संस्थाले हप्ताको तीन दिन कार्यालय खुला राखेर आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रदान गरिरहेको छ । आइतवार, मंगलवार, विहिवार कार्यालयबाटै सेवा दिईरहेको प्रबन्धक दिपक राजभण्डारीले वताए । उनका अनुसार कार्यालयमा ऋण तथा वचतको कारोवार भइरहेको छ । शेयर सदस्यहरुलाई आवश्यक परेमा अन्य दिन पनि सेवा दिइरहेको उनले वताए ।
जिल्लाको पुरानो कालिका सहकारी संस्थाले भने सुरुदेखि नै हप्ताको दुई दिन कार्यालय सञ्चालन गरेर सेवा दिइरहेको जनाएको छ । संस्थाका सचिव भूपाल चालिसेले मंगलवार र विहिवार कार्यालयबाटै शेयर सदस्यहरुलाई सेवा प्रदान गरीरहेको वताए । उनले आफ्नो बचत राष्ट्रिय सहकारी बैंकमा रहेकाले सोही बैंकको सेड्युल अनुसार आफ्नो सहकारी खुला रहने ब्यवस्था मिलाएको वताए ।
यातायात सहकारी संस्थाले पनि हप्ताको ३ दिन सोमवार, बुधवार र शुक्रवार कार्यालय खुला गरेको छ । कार्यालयबाट ऋण बचतको कारोवार गरिरहेको र शैलुन व्यवसाय पनि सञ्चालन गर्न थालिएको प्रबन्धक तारा प्रसाद शर्माले वताए । शैलुनमा संस्थाका शेयर सदस्यलाई १० प्रतिशत र अन्यलाई ५ प्रतिशत छुट दिने ब्यवस्था मिलाइएको छ ।
जिल्लामा सेवामा आधारित सहकारीहरु भने नियमित रुपमा सञ्चालन भइरहेका छन् । जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतमले सेवामा आधरित सहकारीहरु नियमित रुपमा सञ्चालनमा रहेका र अन्य सहकारीहरु आफ्नो अनुकुलता अनुसार सञ्चालनमा रहेको वताए । कृषि, दुग्ध, तरकारी लगायतका सहकारीहरुले नियमित सेवा दिइरहको र ऋण तथा बचत सहकारीले पनि शेयर सदस्यहरुलाई सेवा दिइरहेको गौतमले वताए ।
बागलुङ बहुउदेश्यीय सहकारी संस्थाले सञ्चालन गरेको सुपथ पसल भने दिनभर नै खुला रहन्छ । लकडाउनमा पनि खाद्यान्न लगायतका सामग्रीहरुको कारोवार नियमित भइरहेको अध्यक्ष अशोकगोविन्द राजभण्डारीले वताए ।
जिल्लामा रहेका सहकारीमा आवद्ध शेयर सदस्यहरुलाई लकडाउनका विचमा पनि सेवा प्रदान गरिरहेको जिल्ला सहकारी संघका अध्यक्ष गौतमले वताए । समस्या परेमा तत्कालै सेवा प्रदान गर्ने ब्यवस्था मिलाइएको छ ।





