पर्वत, १७ बैशाख– लकडाउनको सदुपयोग गर्दै पर्वत जिल्लाको जलजला गाउँपालिका वडा नं. ७ धाईरिङमा सिँचाई कुलो मर्मतको काम भने धमाधम चलिरहेको छ । कुलो मर्मतमा खटिएका मजदुरहरुलाई सुरक्षा सावधानी अपनाएर काममा खटिएका हुन् । २०७६ माघ १५ बाट सुरु भएको जलजला गाउँपालिका–७ धाइरिङमा सल्यान सिंचाइ आयोजनाको १९ सय ५० मिटर लामो सिँचाई कुलोको मर्मतसम्भार भईरहेको उपभोक्ता समितिका अध्यक्ष रद्रलाल उपाध्यायले जानकारी दिए । 
भिरमा रहेको साँघुरो कुलो मर्मतसम्भार गर्न निर्माण सामग्री दुवानी गर्न असहज भएपनि आयोजनाको काम धमाधम चलिरहेको धौलागिरी निर्माण सेवा कम्पनीको तर्फबाट काम हेरिरहेका स्थानीय लालबिर पुनले बताए । कुलो मर्मतमा ३० जना नियमित स्थानीय कामदारले खटिएको पुनले जानकारी दिए । ८७ लाख ८७ हजार ४ सय अठासी रुपैँयाको लागतमा उक्त सिँचाई कुलो मर्मत गर्न लागिएको हो । लकडाउनका कारण निर्माण सामग्रीको अभाव नभएर आगामी जेठ १५ गतेभित्रै काम सम्पन्न हुने पुनले बताए । 
मर्मत चलिरहेको सिंचाई आयोजनाले सो क्षेत्रको करिब ४५ हेक्टर जमीनमा सिंचाइ गर्न सहज हुने बताईएको छ । सिंचाइ कुलोलाई गुणस्तर बनाउनका लागि दैनिक २ जना उपभोक्ता समितिका सदस्य अनुगमनमा खटिने गरेको समेत अध्यक्ष उपाध्यायले बताए । धाइरिङ तरकारी हबले चर्चित छ ।






