काठमाडौं, १७ बैशाख – केन्द्रीय तथांक विभागले यो आर्थिक वर्ष २.२७ प्रतिशतमात्रै आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०७६/७७ को राष्ट्रिय लेखा तथ्यांक प्रतिवेदन सार्वजनिक गर्दै विभागले यस्तो प्रक्षेपण गरेको हो । कोरोना महामारीको प्रभाव कहिलेसम्म हुने भन्ने यकिन गर्न नसकिएको अवस्थामा यो अनुमान तयार पारिएको प्रतिवेदनमा जनाइएको छ ।
विभागले होटल तथा रेस्टुरेन्ट र अन्तर्राष्ट्रिय यातायात क्षेत्र कहिले सुचारु हुन्छन् भन्ने अनुमान गर्न नसकिए पनि अन्य क्षेत्र भने जेठबाट क्रमशः सञ्चालन हुने अनुमानसहित यो प्रक्षेपण गरिएको जनाएको छ ।
यो वर्ष सरकारले ८.५ प्रतिशतल आर्थिक वृद्धिदर हुने लक्ष्य राखेको थियो । तर कोरोना महामारीका कारण यो लक्ष्य हासिल नहुने विश्लेषण सरकारले गरिसकेको छ । अन्तर्राष्ट्रिय दातृ निकायले गरेको अनुमानअनुसार नै विभागको प्रक्षेपण सार्वजनिक भएको हो । विश्व बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर १.५ देखि २.८ को हाराहारीमा हुने अनुमान सार्वजनिक गरेको थियो । यो वर्ष खानी तथा उत्खनन्, उद्योग, होटल तथा रेस्टुरेन्ट, यातायात, सञ्चार तथा भण्डारण क्षेत्र ऋणात्मक हुने विभागको अनुमान छ ।
चालु आर्थिक वर्षमा प्रमुख आर्थिक सूचकहरुको अवस्था :
- स्थिर मूल्यअनुसार कुल गार्हस्थ्य उत्पादन बृद्धिदर आधारभूत मूल्यमा २.२७ प्रतिशत,
- चालु मूल्यअनुसार कुल उत्पादन आधारभूत मूल्यमा ५० खर्ब ९२ अर्ब
- चालु मूल्यअनुसार कुल मध्यवर्ती उपभोग उपभोक्ताको मूल्या १७ खर्ब ४३ अर्ब
- चालु मूल्यअनुसार कुल जीडीपी आधारभूत मूल्यमा ३२ खर्ब ९ अर्ब
- चालु मूल्यअनुसार कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा ३७ खर्ब ६७ अर्ब
- चालु मूल्यअनुसार कुल स्थिर पुँजी निर्माण १० खर्ब ६० अर्ब
- चालु मूल्यमा अन्तिम उपभोग खर्च ३० खर्ब ८५ अर्ब (कुल गार्हस्थ्य उत्पादनको ८१.१० प्रतिशत)
- चालु मूल्यमा वस्तु तथा सेवाको खुद निर्यात १२ खर्ब ७ अर्ब ऋणात्मक
- विप्रेषण ७ खर्ब १६ अर्ब (कुल गार्हस्थ उत्पादनको १९.०१ प्रतिशत)
- प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन १ लाख २६ हजार १८ रुपैयाँ अर्थात १ हजार ८५ यूएस डलर





