आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

अस्थिरता निम्त्याउने काम बन्द गरौं

अस्थिरता निम्त्याउने काम बन्द गरौं


  • दुर्गा भण्डारी
  • बैशाख १९ २०७७, शुक्रबार

गत हप्ता सरकारले ल्याएका दुई अध्यादेश निकै नै बिवादास्पद बनाइयो । राजनैतिक दल र संवैधानिक परिषद सम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश ल्याएकोमा यतिखेर नेकपाभित्रै इतिहासकै शक्तिशाली सरकारका प्रधानमन्त्री ढाल्ने खेल सुरु भएको छ । हुनतः प्रधामन्त्री केपी शर्मा ओली विरुद्धको षड्यन्त्र यो सरकार बनाउँदादेखि नै सुरु भएको हो । तर पनि उहाँले देश र जनताको मुर्छित सपना ब्यूँताउने कोशिस गर्दै हुनुहुन्थ्यो । सुखी नेपाली र समृद्ध नेपालको जग बसाल्दै हुनुहुन्थ्यो । यो कुरा आम मतदाताले महशुस गरिरहेका छन् । विकास बिरोधी, स्थिरता बिरोधीहरुलाई सरकारको गतिशिलता लोकप्रियता पचेन । केपी ओलीले यो रफ्तारमा काम गरे भने हाम्रो अस्तित्व संकटमा पर्न सक्छ भनेर सुरुदेखि नै सरकारका प्रत्येक काममा अंकुश लगाउन खोजियो । फुर्सदिला उनीहरुले, पार्टीलाई लोकप्रिय र आर्कशक बनाउनको सट्टा विपक्षीलाई समेत हात लिई षड्यन्त्रमा मात्रै उत्रिइरहे । अहिले यी नेताहरुलाई खासगरी प्रधानमन्त्रीको बदनाम गराउने सुअवसर मिलेको छ । उनीहरु भन्ने गर्दछन्, ‘यो संकटको बेलामा पनि अध्यादेश ल्याउनु किन परेको ? अध्यादेशका कारण पार्टीलाई ठूलो क्षति भयो । अध्यादेशले निरंकुशता निम्त्याउँछ ।’ विपक्षी पार्टीका नेताहरुले गर्ने कुरा र काम नेकपाका शीर्ष नेताहरुले अहिले गरिरहेका छन् । उनीहरुले अहिले यति चर्को बिरोध र षडयन्त्र गर्न पटक्कै सुहाउँदैन । उनीहरुसँगकै अनौपचारिक सरसल्लाहमा अध्यादेश ल्याइएको हो । पार्टीभित्रकै नेताहरुले उल्टो खेल खेलेर प्रधानमन्त्रीबिरुद्ध षड्यन्त्र रचिएको हो भन्नेमा आम मतदाताले बिश्वास गर्छन् । तत्कालै सरकारले अध्यादेश फिर्ता गर्ने निर्णय पनि गरिसकेको छ । तर, अझै पनि दिनदिनै सरकार बिरुद्धको षड्यन्त्र चलिरहेको छ । वास्तवमा अध्यादेशले पार्टीलाई कुनै बेफाइदा गरेको थिएन र छैन पनि । न यस्ले पार्टीलाई कुनै क्षति नै पु¥याएको छ । बरु सार्वजनिक रुपमा विपक्षीले झैं प्रधानमन्त्रीको हुर्मत लिने कामले भने पार्टीले ठूलो नोक्सानी बोर्होनु पर्नेछ । हुनतः सानो पार्टी चलाएर बसेकाहरु, आफ्नो पालामा यस्तो अभूतपूर्व सफलता हाँसिल गर्न नसेकाहरु र पार्टी नै धरापमा पारेकाहरुलाई यो ऐतिहासिक पार्टीको के चिन्ता र ? तत्कालका लागि सत्ता हत्याउन पाए पुग्छ । न भूतो न भविष्य भएकाहरु, विगतमा पनि पार्टीको उचाई बढाउन कुनै राम्रो काम गर्न नसकेका, जोसँग अहिले पनि पार्टीलाई उचाइमा पु¥याउने स्पष्ट नीति सिद्धान्त तथा रणनीति छैन, उनीहरुले क्षणिक फाइदाका लागि पार्टी नै धरापमा नर्पालान् भन्न सकिँदैन ।
१४ वर्ष जेल (गोलघर) जीवन, ४७ वर्ष लामो राजनैतिक इतिहास बनाएका नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शक्तिशाली र ठूलो कम्युनिष्ट पार्टी बनाउनुभयो । नाकाबन्दीका बेलामा भारतसँग नझुक्ने अडान लिनुभयो । अस्वस्थ हुँदाहँुदै पनि चुनावका बेला मेचीदेखि महाकाली अभियान चलाएर पार्टीलाई यो अवस्थामा ल्याई पु¥याउनुभयो । स्थानीय निर्वाचनबाट नै एमालेको लोकप्रियता र सफलता उचाइमा पुग्दै गएको थियो । तै पनि कम्युनिष्टहरु एक हुनुपर्छ भनेर फराकिलो छाती बनाएर करिब–करिब डाइनसोरको अवस्थामा पुग्न लागेको पार्टी, एकिकरण गरी सम्मानजनक हैसियत प्रदान गर्नुभयो । प्रधानमन्त्रीका यी सबै कार्य मुलुकमा राजनैतिक स्थिरता कायम गर्नका लागि थियो । देश र जनताको समृद्धिको लागि थियो । बिगतमा सत्ता समिकरण दलीय भागबण्डाका र फोहरी खेलबाट मुलुकलाई बचाउनु थियो । अस्थिरता र दलीय भागबण्डाले मुलुक खोक्रो भइसकेको छ । ९÷९ महिनामा सरकार परिर्वतनको खेल खेल्दा जनता आजित भैसकेका थिए । बिभिन्न पार्टीहरु बीचमा सत्ता समिकरणको खेल भयो भनेर जनताले पाँचवर्ष प्रधानमन्त्री बन्न केपी शर्मा ओलीलाई नै मतदान गरेका हुन् । केपी शर्मा ओली, एमाले अध्यक्ष भएपछि पार्टीको लोकप्रियता र उचाई बढ्दै गएको कुरा घाम जस्तै छर्लड्ड छ । माओवादीको हैसियत स्थानीय निर्वाचनले देखाई दिएको थियो । यसकारण पनि केपी शर्मा ओलीलाई नै जनताले पाँचवर्ष प्रधानमन्त्री बन्नका लागि मतदान गरेका हुन् । यो पद केही लोभीपापी नेताहरुले खोस्दैमा खोसिने हैन । यदि त्यस्तो दुष्प्रयास गरियो भने जनअभिमतको अपमान हुनेछ । र, फेरि पनि जनमतमा जानुपर्ने बाध्यता बन्छ । यी सबै कुरा आम कार्यकर्ता र जनतामा सर्वबिदितै छ । पार्टीको महाधिबेशन नभएको र नेताको खल्तीबाट बनेका समितिले गरेका कुनैपनि घातक निर्णयहरु आम कार्यकर्तालाई सह्य हुने छैन । प्रधानमन्त्रीको गल्ती के हो ? मुलुकलाई राजनैतिक स्थायित्च प्रदान गर्नु ? पार्टीलाई बलियो बनाउन खोज्नु ? मुलुकमा समृद्धिको जग बसाल्नु अनि जनताका मुर्छित सपनालाई ब्यूँताउनु ? ठोस आधार र प्रमाण नभई बिनाकारण खेद्न खोज्नुको परिणाम अन्तत्वोगत्वा घातक हुन जान्छ । यो प्रबृतिले अहिले कुनै नेता प्रधानमन्त्री र मन्त्री बन्लान् वा नबन्लान त्यो तपशिलको कुरा हो । तर, पार्टी भित्रै अस्थिरता निम्त्याउने खेल खेल्ने प्रबृत्तिले भबिष्यमा पार्टी धुलिसात् हुने देखिन्छ । नेकपाभित्र अहिले कुनै सैद्धान्तिक मतान्तर होइन, सत्ता स्वार्थको होड चलेको हो । भविष्यमा पनि यो स्वार्थ एकअर्काका बिरुद्ध प्रयोग नहोला भन्न सकिन्न ।
अहिले अध्यादेश एउटा निहुँ मात्रै हो । नेताहरु मिल्ने हो भने अध्यादेश ल्याउने समय र औचित्य दुबै पुष्टि भएको देखिन्छ । अध्यादेश ल्याउनुको औचित्य आफ्नै पार्टीभित्रका नेताले दोहोरो भूमिका खेलेर असफल बनाए । खासमा राजपाका केहि नेताहरुले आफूले अर्को पार्टी गठन गर्न र सरकारमा आउन चाहेको कुरा पटकपटक प्रधानमन्त्री सामु दोहो¥याएका थिए । प्रधानमन्त्रीले पनि मौकाको सदुपयोग गर्दै मधेशमा नेकपाको उपस्थिति कमजोर भएकोले, मजबुत बनाउन खोज्नुभएको थियो । तरm आफ्नो पार्टीभन्दा अर्काको पार्टीको चिन्ता र माया गर्ने नेकपाका केही शीर्ष नेताहरुले यसलाई निहुँ बनाए । रातारात दुई पार्टी जुटाएर विदेशी प्रभुको आज्ञा पालन गरेर देखाए । विदेशीसामु नझुकी मुलुकको विकास र समृद्धिका लागि लड्ने, प्रधानमन्त्रीले गरेको प्रयासलाई पार्टीभित्रै बसेर अफ्ठयारो पारिदिए । अहिले नेपाललाई अस्थिरतातर्फ धकेल्ने राष्ट्रियता बिरोधी शक्तिहरु चलमलाएका छन् । संविधान जारी गर्दादेखि नै जातीय राज्य खडा गर्न र देश टुक्राउन खोज्नेहरुलाई प्रधानमन्त्री ओलीले पहिल्यै चिन्नु भएको हो । नेकपाका नेताहरु ६ महिना वा ९ महिनाका लागि प्रधानमन्त्री बन्न विदेशीको चलखेलमा प्रयोग हुनुहँुदैन । अहिले कोही कसैलाई ६ वा ९ महिना प्रधानमन्त्री बनाइएला तर प्रधानमन्त्री पद चलाउने ब्यक्ति अरु कोही नै हुन्छ । आफ्नो भविष्य र लामो समय लगाएर कमाएको इज्जत प्रतिष्ठा अनि आत्मसम्मान दाउमा लगाएर प्रधानमन्त्री बन्नुको अर्थ नै के हुन्छ र ?
वास्तवमा प्रधानमन्त्री केपी शर्मा ओलीको कम्युनिष्ट पार्टीहरुलाई शक्तिशाली र एक ढिक्का बनाउने उद्देश राम्रो थियो । उहाँलाई आफ्नो कार्यकालमा हदैसम्म सफल नेताको रुपमा लिनुपर्छ । तर, अहिले उहाँलाई पार्टीभित्रै जर्बजस्त रुपमा असफल बनाउन प्रयत्न गरिएको छ । वास्तवमा पार्टीभित्रको सैद्धान्तिक मतभेदलाई स्वभाविक रुपमा लिन सकिन्छ । बिनाकुनै सैद्धान्तिक मुद्दा एकाएक षड्यन्त्र गरेर अपदस्त गर्ने दुस्साहस गर्न खोज्नु नेपाली कम्युनिष्टहरुका लागि राम्रो संकेत होइन । नाम मात्रैको कम्युनिष्ट बनेर विदेशी प्रभुलाई रिझाउने छेपाराले रंग फेरेजस्तै वर्षैपिच्छे पार्टी फेर्दै जानेहरुलाई पनि अबका दिनमा सचेत मतदाताले चिन्ने छन् । साबिक एमालेभित्र पहिल्यैदेखि सुशुप्त अवस्थामा रहेको कुण्ठा अहिले भष्मासुरको प्रवेशपछि एकाएक मौलाएको छ । भष्मासुरको प्रवेश जताजता हुन्छ त्यतै अनिष्ठ हुन्छ भन्ने पौराणिक कथा जस्तै भएको छ, अहिले नेकपाभित्र । नेकपा एमाले र माओवादी केन्द्र एकिरणको कुरा आउँदा दुबै पार्टीका कार्यकर्ता सशंकित नभएका भने होइनन् । माओवादी केन्द्रका तत्कालीन अध्यक्ष प्रचण्डको बिगत हेर्दा संदिग्ध र आफूबाहेक अर्काको अस्तित्वलाई स्वीकार गर्न नसक्ने खालको देखिन्छ । अहिले पनि उहाँले आफ्ना परिवारका सदस्यहरु तथा आसेपासेलाई मात्रै सत्ताभोग गर्ने अवसर प्रदान गर्नुभएको छ । नितान्त आफू केन्द्रित सोचाई राख्ने उहाँले जनयुद्धका लडाकुको पैसा समेत हिनामिना गरेको आरोप छ । यस्तैगरी तस्कर र माफियासँग गठजोड राम्रो छ । अर्थमन्त्री युवराज खतिवडाले व्यापारीको व्यापारी, तस्कर र माफियाको हित विपरित काम गर्दा खतिवडा हटाउने खेल भयो । नेकपा अध्यक्ष प्रचण्डको टार्गेटमा परेका प्रधानमन्त्री पछि अर्थमन्त्री पनि हुन् । सुरुमा प्रधानमन्त्री निकटका केही मन्त्रीहरुलाई मिडियालाई हतियार बनाएर बद्नाम गराइयो । अहिले प्रधानमन्त्रीबिरुद्ध नै जाइलागेका छन् । कोरोनालाई जित्न राष्ट्र एकजुट हुनुपर्ने अवस्थामा कोरोना भाइरस महामारीलाई नियन्त्र गर्दै आएको सरकारबिरुद्ध फोहरी खेल खेलेर पार्टी फुटाउने प्रबृतिलाई दोस्रो बरियताका नेताहरुले चिन्नुपर्छ । एउटा मन्त्री पदको लोभले अग्रज पुस्ताका नेतालाई उक्साउनु गलत हो । सक्छन् भने अर्काको सिफारिस गर्नुभन्दा म किन नहुने भन्न सक्नुप¥यो । अहिले एउटा मन्त्रालयको लागि चर्कोचर्को कुरा गरेर पार्टीनै सिध्याउन प्रेरणा दिनु मूर्खता हो । दोस्रो पुस्ताका नेताहरुले अहिले संयोजनकारी भूमिका खेलेर परिपक्वता देखाउनु नै बुद्धिमानीपूर्ण काम हो । अहिले धैर्यता देखाउदा भविष्यमा पार्टी र सरकारको नेतृत्वदायी भूमिकामा पुग्ने अवसर मिल्छ । कसैको पनि इज्जत प्रतिष्ठा र आत्मसम्मानमा ठेस पुग्न नदिन दोस्रो बरियताका नेताहरुलाई मध्यस्थता गर्ने यो अवसर पनि हो र यसको भरपुर सदुपयोग गरुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->