नदीतर्दै सांसदः दुईवर्ष पहिले सौरु र सिरकुङ गाउँ जानका लागि कालीगण्डकी तर्दै गरेका मुस्ताङका प्रतिनिधिसभा सदस्य प्रेम तुलाचन लगायत । उनिहरु तरिरहेकै ठाउँमा झोलुङ्गे पुल बन्न लागेको हो । तस्विरः निरज थकाली/मुस्ताङ
मुस्ताङ, २१ बैशाख– गर्मी मौसममा हिउँ पग्लिएर उर्लिन्छ कालीगण्डकी । अक्सर मुस्ताङमा पानी कम पर्छ । जिल्लाको मध्येभाग भएर बग्ने कालीगण्डकीले मुस्ताङलाई दुईभागमा बिभाजन गरेको छ । हिउँदमा एक गाउँबाट अर्को गाउँ जान मुस्ताङीलाई समस्या छैन् । किनकी उनीहरु कालीमा हेलिएर वारपार गर्छन् ।
हिउँ पग्लिएर धमिलो बनेको कालीले बर्षात्मा भने धेरैलाई झुक्याउने गर्छ । बिगतका बर्षहरुमा नदि तर्दै गरेका कयौंको ज्यान लिएका घटना मुस्ताङेको मनस्पटलमा ताजै छन् । त्यसैले त अहिले बर्षाको समयमा काली हेलिएर वारपार गर्न मुस्ताङी डराउँछन् । कालीगण्डकीले दुई भाग लगाएको मुस्ताङमा उत्तरतर्फबाट जिल्लाभरिनै सडक सञ्जाल फैलाईएको छ । दक्षिणमा पनि सडक त पुगेको छ तर निकै घुमाउरो, समय प्रसस्तै लिन्छ । कालीगण्डकी करिडो रपनि उत्तरमा पर्छ । उत्तरतर्फकै भूभागमा धेरै गाउँ छन् । सदरमुकाम जोमसोम बजार दुवै भागमा फैलिएको छ । तर त्यहाँ समस्या छैन् ।
चर्चामै रहेको लेतेगाउँबाट उत्तरतर्फ लागेपछि टुकुचे आउँछ । त्यहाँबाट केही माथि पुगेपछि जोमसोम नपुग्दै केही गाउँ छन् । उत्तरतर्फका गाउँ त सडकसँग जोडिएकाले कुनै समस्या छैन् तर दक्षिणका गाउँभने हरेक बर्ष उर्लेनी कालीसँग पौंठेजोरी नखेली सुखै छैन् । थासाङ गाउँपालिकाको वडा नं. २ मा पर्छन् सौरु र सिरकुङ गाउँ । यहाँका विद्यार्थीले दैनिक छ घण्टाको बाटो हिँडेर विद्यालय आउजाउ गर्छन् । उनीहरुले बर्षा याममा पनि यस्तै नियति भोग्नु पर्छ । ‘६ घण्टा त बाटोमै बिताएर यहाँका बालबालिकाहरु कोबाङमा रहेको विद्यालय पुग्ने गर्छन्’ स्थानीय सोजन हिराचनले भने । दुई गाउँबाट कोबाङ पढ्न जाने १३ जना विद्यार्थी छन् ।
बर्षामा उर्लेको कालीले वारपार गर्न नसक्दा यहाँका किसानले फलाएको स्याउ बोटमै कुहिएर झर्ने गरेको वडा अध्यक्ष नरप्रसाद हिराचन बताउँछन् । हिउँद लाग्ने बेलासम्म बचेको स्याउमात्रै बजार पठाएर यहाँका सिकानको गुजारा चलेको छ । दुवै गाउँ स्याउका भण्डारनै हुन् भन्छन् हिराचन । थासाङ गाउँपालिकाको वडा नं. ४ र ५ मा पर्ने धम्पु, टिटी, ताउलुङ, देउराली, चिमाङ, चोखोपानी गाउँको पनि समस्या उस्तै छ । मुस्ताङका दक्षिण भागमा पर्ने सबै गाउँको समस्या उस्तै हो । तर, थासाङ गाउँपालिकाका गाउँहरुको भने उर्लेको कालीका कारण किसानदेखि विद्यार्थी सम्मका सपना सधैं धरापमा पर्ने गरेका छन् । कालीगण्डकीमा जोखिमको यात्रा गरिरहेका यि गाउँका सर्वसाधारणले लामो समयदेखि कल्पना गरेको कालिगण्डकीमाथि पुल बनाउने सपना पुरा हुने चरणमा प्रबेश गरेको छ । समयमा निर्माणको काम सकिए अबको दुई बर्षमा यहाँका सर्वसाधारण निर्धक्क भएर काली वारपार गर्न पाउने छन् ।
मल्टिस्पान प्रबिधिमा यहाँ ५ सय ७० मिटर लामो झोलुंगे पुल बनाउन लागिएको हो । बिभागले ९ करोड रुपैयाँ खर्चेल पुल बनाउने तयारी थालेको रेग्मी बताउँछन् । ३ वटा पिलरसहित पाँचदेखी छ मिटर उचाईको पुल यहाँ बन्ने छ ।
मुस्ताङका प्रतिनिधिसभा सदस्य प्रेम तुलाचनको निरन्तरको प्रयासपछि कोबाङ–खन्ती–लार्जुङ जोड्नेगरी कालीगण्डकीमाथि झोलुंगेपुल निर्माणको प्रकृया सुरु भएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय पूर्वाधार विभाग, सस्पेन्सन ब्रिज डिभिजनले पुल निर्माणको प्रकृया अघि बढाएको हो । बिस्तृत परियोजना प्रतिवेदन तयार गरेर यहाँ पुल निर्माणका लागि ठेक्का प्रकृया सुरु भएको डिभिजन इन्जिनीयर प्रवेश रेग्मीले जानकारी दिए ।
बैशाख २१ गते खुल्नेगरी भएको बोलपत्र आव्हान लकडाउनका कारण पर सेरेको भएपनि केही दिनमा पुल बनाउने कम्पनीको टुंगो लाग्ने छ । मल्टिस्पान प्रबिधिमा यहाँ ५ सय ७० मिटर लामो झोलुंगे पुल बनाउन लागिएको हो । बिभागले ९ करोड रुपैयाँ खर्चेल पुल बनाउने तयारी थालेको रेग्मी बताउँछन् । ३ वटा पिलरसहित पाँचदेखी छ मिटर उचाईको पुल यहाँ बन्ने छ ।
‘निकै संघर्ष गरेर पुल बन्ने भयो, अब हाम्रा गाउँहरुको मुहारनै फेरीन्छ’ प्रतिनिधिसभा सदस्य प्रेम तुलाचनले भने ‘विद्यार्थीलाई बिद्यालय जान र किसानको स्याउको बजारीकरण गर्न पुल निकै महत्वपूर्ण हुनेछ ।’ पुल बनेपछि कालीगण्डकी वारीपारी रहेका सबै गाउँका १ हजारभन्दा धेरै सर्वसाधारण लाभान्वित हुने उनले बताए ।
कालिगण्डकीमा बन्न लागेको यो पुलका कारण हरेक बर्ष हुने मानविय क्षति कम हुने र आर्थिक क्रियाकलापमा समेत राम्रो प्रभाव पर्ने वडाध्यक्ष हिराचन बताउँछन् । हिउँदको समयमा बेसी झर्ने मुस्ताङका गाउँका सर्वसाधारण बर्षाको समयमा गाउँ फर्किन्छन् । खेतीपाती गरेर गाउँ बस्ने समयमै उर्लिने कालीगण्डकीमा पुल नभएका कारण सर्वसाधारण मर्कामा थिए ।





