
बागलुङ, २४ बैशाख– चालु बर्षका अधिकांस योजना अलपत्र पर्न नदिन यहाँका गाउँ तथा नगरपालिकाले मजदुर खोजेर काम थालेका छन् । अत्याबस्यक सेवाका आयोजनाहरु तोकिएकै समयमा सक्ने गरी काम थालेका हुन् । लकडाउनमा घर जान नपाएका र पालिकाले राहत दिएर राखेका मजदुर प्रयोग गरेर काम थालिने जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले बताए ।
‘हाम्रो नगरभित्र झण्डै २ सय ५० मजदुर लडकाउनमै छन् । उनीहरुलाई एउटा साइटमा पाँच÷सात जना पर्ने गरी काम लगाउन थालियो’ पौडेलले भने, ‘असार मसान्तमा धेरै आयोजना पुरा गर्नै पर्ने छन्, मजदुरले पनि काम पाउने भए ।’ वडा नं. ८ को तल्लो दमार खानेपानी आयोजनाको काम भने लकडाउनमा पनि नरोकेको उनले बताए । आगामी दुइबर्ष भित्र सक्ने गरी यो खानेपानी आयोजना ४ करोडमा सम्पन्न गर्ने लक्ष छ । प्रदेश सरकार र पालिकाको संयुक्त लगानीमा निर्मित यो खानेपानी आयोजनाले ४ सय घरले सेवा पाउनेछन् ।
बिद्युतीकरण, खानेपानी, झोलुंगेपुल निर्माण जस्ता काममा १० जनाभन्दा थोरै मानिस एउटा साइटमा कामगर्न सक्छन् । सडक तर्फ धेरै मानिस चाहिन्छ । जैमिनीले काम थालेको थाहा पाएपछि बरेङ गाउँपालिकाले पनि मजदुरको खोजी गरेको छ । ‘गाउँपालिका भित्रका धेरै घर गएछन्, बाँकी २५ जना छन्’ अध्यक्ष कृष्णप्रसाद शर्माले भने, ‘जिल्ला भित्रकै अन्य पालिकामा बसेका खोजेर पनि कामगर्ने हो ।’ कृषि सडक निर्माणमा मजदुर चाहिएको उनले बताए ।
काठेखोलागाउँ पालिकाले आफ्नो पालिका भित्रको काम र मध्यपहाडी लोकमार्गको अक्षेते बिहुँ खण्डको काम सुचारु गर्न अनुमति दिएको छ । ‘अहिले काम रोकियो भने बर्षातमा यात्रीले सास्ती पाउँछन्’ अध्यक्ष अमर थापाले भने, ‘सामाजिक दुरी कायमगर्ने र आयोजनापनि पुरा गर्ने निर्णय भयो ।’ गलकोट नगरपालिकाले कतिपय आयोजना पुरा गर्न मजदुर भेटेको छैन । ‘पहिला घर जान खोज्नेलाई पठाइयो, अहिले मजदुर छैनन्, कामगर्न कठिन भयो’ नगरप्रमुख भरत शर्मा गैरेले भने, ‘बसेका मजदुरले स्वास्थ्यचौकी र पुल निर्माणको काममात्र गरेका छन् ।’ नगरपालिकाले २ सय बढी मजदुरलाई सुरुवातमै घर जाने वातावरण मिलाईदिएको थियो ।
बागलुङ नगरपालिकाले भने धेरै मजदुरलाइ राहत दिएर राखेको छ । नगरभित्र १ हजार १ सयले राहत बुझेको रेकर्ड छ । ‘राहत पाएकाहरुलाई दोश्रो चरणको राहतपनि बितरण गर्दैछौं, त्यसमा अधिकांस बजारमै छन्’ प्रमुख प्रशासकीय अधिकृत दण्डपाणी शर्माले भने, ‘राहत दिइरहनु भन्दा कामलगाएर ज्याला दिने व्यवस्थातर्फ छलफल भएको छ ।’ ग्रामीण सडक, खानेपानी र ढल निर्माण तर्फ मजदुर परिचालन गर्ने उनले बताए । सदरमुकाममा कामगर्ने मजदुरहरु घर जान हतार नगर्ने खालका धेरै भेटिएको हो ।
बडिगाड गाउँपालिकाले मदजुर नपाएर काम रोकेको छ । ‘मजदुर कोही पनि भेटिएन, त्यसैले धेरै आयोजना अलपत्र छन्’ अध्यक्ष मेहरसिंह पाइजाले भने, ‘गौरवको आयोजना भनेर थालिएको जलजला देखि रणसिंकिटेनी जोड्ने सडक भने निरन्तर काम गरिएको छ ।’ अहिले सम्म सडक संजालले नछोएको रणसिंकिटेनीको बस्ती सम्म सडक लैजाने योजना पुरा गर्न काम भैरहेको उनले बताए । ढोरपाटन नगरपालिकाले पनि खानेपानीका आयोजनामा काम गरेको छ । अन्य आयोजना भने रोकिएको नगरप्रमुख देवकुमार नेपालीले बताए ।





