काठमाडौं, २४ बैशाख – सरकारले खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेसहित ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको छ । उद्योग मन्त्रालयको प्रस्ताव तथा कोरोना नियन्त्रण उच्चस्तरीय समितको सिफारिसमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गतेदेखि त्यस्ता उद्योग सञ्चालन गर्ने निर्णय गरेको हो ।
विकास निर्माण र उद्योग सर्शत खुला
बैठकले लकडाउन लम्ब्याए पनि विकास निर्माणका काम र उद्योगहरु भने सर्शत खुला गर्ने निर्णय गरेको छ । राष्ट्रिय गौरवका आयोजनासँगै सिञ्चाई, जलविद्युत, खानेपानी, विमानस्थल सडक र पुल, सडक र सरकारी भवन निर्माण एवं प्रबलीकरणका काम गर्न पाइनेछ । साथै एक स्थानमा एक पटकमा १० जना नबढ्ने गरी सहरी पूर्वाधार शीर्षकका आयोजनामा काम गर्न दिने निर्णय भएको सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका छन् ।
यसरी काम गर्दा दैनिक स्वास्थ्यजाँच गर्नुपर्नेछ भने कामदारका लागि एकै स्थानमा आवासको व्यवस्था गर्नुपर्नेछ । श्रमिकलाई कार्यस्थलमा खाना र खाजाको व्यवस्था गर्नुपर्नेछ । स्थान अभाव भएमा सम्बन्धित वडामा भएका निजी वा सामुदायिक विद्यालय वा सरकारी खाली भवन प्रयोग गर्न स्थानीय व्यक्तिसँग सम्पर्क नहुने गरी आवासको व्यवस्था गर्न सकिनेछ । र, यससम्बन्धी सम्पूर्ण खर्च सम्बन्धित निर्माण व्यवसायीले नै व्यहोर्नुपर्ने सरकारको निर्णय छ ।
यस्तै ढुंगा गिट्टी वालुवालगायतका निर्माण सामग्रीको उत्पादन, संकलन र ढुवानी गर्न दिइने भएको छ । सिमेन्ट उद्योगका लागि चाहिने चुन ढुंगा, क्लिङ्कर लगायतको उत्पादन र ढुवानी गर्न दिइनेछ भने नदी नियन्त्रणका कामहरु पनि गर्न पाइनेछ । यस्तै जनक शिक्षा सामाग्री केन्द्रबाट पाठ्यपुस्तक बिक्रीको अनुमति दिएर पुस्तक पसल पनि खोल्न पाइनेछ ।
यस्तै ढुवानीमा पनि केही खुकुलो गरिएको छ । अब कृषि उत्पादनसँग सम्बन्धी सामग्री, विद्यालयका पाठ्यपुस्तक, विकास आयोजनाका निर्माण सामग्री सञ्चालन गर्न दिइनेछ । तर उपत्यका प्रवेश गर्ने मालबाहक सवारीले यात्रु बोक्न पाउने छैनन् । हरेक मालबाहक गाडीमा भएका चालक र सहचालकको विवरण उपत्यका प्रवेश गर्दा र फर्किँदा चेकजाँच गरिनेछ । झुटा विवरण दिएको भए कारबाही गरिने सरकारका प्रवक्ता खतिवडाले बताए । ढुवानीका सवारी साधनका चालक तथा सहचालकलाई खानाको प्याकेट मात्र विक्री गर्ने गरी राजमार्गमा ५० किलोमिटरको दुरीमा होटल खोल्न दिने निर्णय भएको छ ।
बैंक तथा वित्तिय संस्था, सहकारी लगायतले आवश्यक पर्ने कर्मचारीमध्ये बढीमा एक तिहाई कर्मचारी राखेर सेवा सञ्चालन गर्न सकिने सरकारको निर्णय छ भने अतिआवश्यकीय सेवा प्रदान गर्ने सरकारी कार्यालय र संस्थानहरुमा आवश्यक न्यूनतम कर्मचारीबाट आलोपालोमा सेवा दिनुपर्नेछ । तर अहिले पनि शैक्षिक संस्था, तालिम तथा प्रशिक्षक केन्द्र, गैरखाद्य बिक्री गर्ने स्टोर र सपिङ मल, धार्मिक स्थलहरुमा भेला, रंगशाला, फुटसल, जिमखाना, शैलुन, होटल बार, यात्रुबाहेक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
यी हुन् वैशाख २६ गतेदेखि सञ्चालन गर्न पाइने ४४ प्रकारका उद्योग :
१) खाद्यान्न उत्पादन वा प्रशोधनगर्ने उद्योगहरु
२) दुध तथा दुग्ध पदार्थ उत्पादन उद्योग
३) औषधि, सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योगहरु
४) खाने पानी उत्पादन गर्ने उद्योगहरु
५) इँटा उद्योग
६) पशुपंक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योग
७) खाने तेल तथा घ्यू उद्योग
८) चिनी उद्योग
९) चिया प्रशोधन उद्योग
१०) एलपीजी ग्याँस उद्योग
११) प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योग
१२) कफि उद्योग
१३) पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग
१४) नूडल्स तथा तयारी चाउचाउ उद्योग
१५) मसला उद्योग
१६) अलैंची र अदुवा प्रशोधन उद्योग
१७) कुखुरापालन, बाख्रापालन, बंगुरपालन, गाईवस्तु पालन उद्योग
१८) धान चामल र चिउरा उद्योग
१९) दाल उद्योग
२०) पशु औषधी र किटनासक औषधी सम्बन्धी उद्योग
२१) खानी तथा खनिजजन्य उद्योग
२२) बालुवा प्रशोधन तथा क्रसर उद्योग
२३) सिमेण्ट उद्योग
२४) आइरन तथा स्टिलउद्योग
२५) पेन्टिङ्गस (रंगरोगन) उद्योग
२६) जीआइ र प्लास्टिकपाईप र फिटिंग्स उद्योग
२७) बिजुलीका केबल तथा विद्युत्त सामग्रीहरु उत्पादन गर्ने उद्योग
२८) जुुस तथा हल्का पेयपदार्थ उद्योग
२९) प्लाइउड र भेनिर उद्योग
३०) विद्युत उत्पादन, विद्युत्त सामग्री, ट्रान्सफरमर तथा प्रशारणसँग सम्बन्धीत उद्योगहरु
३१) जस्ता पाता उद्योग३२) हेभी मेशीनरी औजार मर्मत संभार
३३) खनिजजन्य उद्योग र खानीहरु -लाइमस्टोन, खरि, डोलोमाइट, रेडक्ले, फलाम लगायत)
३४) समिल र काष्ठ उद्योग
३५) आल्मुनियम उद्योग
३६) ग्रील उद्योग३७) फोहोर मैला संकलन तथा प्रशोधन उद्योग
३८) ढुवानी तथा कार्गो सेवा उद्योग
३९) मेसिन पार्टपूर्जा वर्कसप उद्योग
४०) मोटर ग्यारेज वर्कसप उद्योग
४१) छापाखाना तथा प्रेस सम्बन्धी उद्योग
४२) सबै खाले वस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योग
४३) विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग
४४) औद्योगिक क्षेत्रभित्र रहेका सबैखाले उद्योग





