सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

लोकमार्गको बिहुँ खण्ड कालोपत्रे गरिने

लोकमार्गको बिहुँ खण्ड कालोपत्रे गरिने

बन्दाबन्दीले सोचेजस्तो काम भएन:आयोजना प्रमुख


  • ढोरपाटन संवाददाता
  • बैशाख २५ २०७७, बिहिबार

बागलुङ, २५ बैशाख– मध्यपहाडी लोकमार्गको बिहुँ खण्डमा लकडाउनकै समयमा पनि काम भएको छ । लकडाउनको कारण धेरै मजदुर घर हिंडेपछि आयोजनाले असारभित्रै कालोपत्रे गर्ने योजना पुरा नभएपनि केही खण्ड कालोपत्रे गरेरै छाड्ने गरी काम भैरहेको हो ।
लोकमार्गको १ सय ४२ किमी खण्डमध्ये सदरमुकामदेखि अक्षेतेहुँदै घोडाबाँधेको २५ किमी मात्र अलपत्र परेको छ । अन्य खण्ड यसअघिनै कालोपत्रे भएको छ । निसीखोला तर्फको केही भागपनि कालोपत्रेको तयारी छ । असारभित्रै सक्ने योजना बनाइएको आयोजनाका पोखरा, बागलुङदेखि रुकुम हेर्ने आयोजना प्रमुख आशिष थापा मगरले बताए ।
यो सडकको सुल्डाँडादेखि माथीको घोडाबाँधे सम्मकोे १३ किमी खण्डमा कालोपत्रे गर्ने रफ्तारमा काम भैरहेको थियो । लकडाउनपछि मदजुरहरु घर फर्कंदा काम अबरुद्ध भएको हो । ‘माथिल्लो खण्डमा जसरी पनि काम सक्ने भन्ने योजना थियो, काम पनि भएको छ’ थापा मगरले भने, ‘पुरै कालोपत्रे गर्न नसकेपछि केही खण्ड असारभित्र गरेरै छाडिन्छ ।’ बन्दाबन्दी नभएको भए असारमा माथिल्लो खण्ड कालोपत्रे गरिसक्ने उनले बताए ।
बिहुँ खण्डको १३ किमी सडक १३ करोडमा सक्ने जिम्मा लिएको एमपी सूर्य कन्स्ट्रक्सन संयुक्त निर्माण कम्पनीले ठेक्का लिएको हो । मजदुर अभावमा पुरा गर्न नपाएको भन्दै भ्याएसम्मको काम भने नरोक्ने भन्दै गराएको हो । ‘काम भैरहेको थियो, तर मजदुर अभावले पुरा हुन नसक्ने भयो’ इन्जिनियर रामप्रसाद सुवेदीले भने, ‘तर बसेका मजदुरबाट पनि ग्राभेलको काम भएको छ ।’ यो खण्डमा दुइचार किमी भएपनि असारभित्रै कालोपत्रे गरिने उनले बताए ।
तर सदरमुकामदेखि अक्षेते सम्मको १२ किमी खण्डको काम अलपत्रै परेको हो । १२ करोडमा जिम्मा लिएको भारत सिद्धिशाही प्रकाश निर्माण कम्पनीले लकडाउनअघि पनि काम नगर्दा सडक जीर्ण बनेको छ । केही खण्डमा पहरा आधा फोडेर अलपत्र पारिएको छ । त्यस्तै बोक्सेको भीरमा हिलाम्मे छाडिएपछि सवारी साधन गुड्नै नसक्ने अबस्थाको छ । लकडाउनकै समयमा पनि खाद्यान्न बोकेका सवारी यहाँ पटकपटक फसेका छन् ।
गत कात्तिकमा म्याद सकिएर थपेको एमपी सूर्य कन्स्ट्रक्सनले असारभित्र काम सक्नेगरी म्याद थपेको थियो । पटक पटक थपेको म्याद पनि गुजारेको सिद्धिशाहीलाई भने कालोसूचीमै राख्ने बेला भएको थापा मगरले बताए । ‘प्रशासन र आयोजना मिलेर पटक पटक आस र त्रास देखाएर भएपनि काम लगाउने प्रयास गरियो, तर भएन’ उनले भने, ‘अब के गरेर छिटो काम सक्ने भन्ने अर्को योजना बनाउनुपर्ने भएको छ ।’ बन्दाबन्दीको समयमा काम नभएको स्वभाविक भएपनि त्यसअघिका समयमा पनि काम नगरकोले गर्छन् भन्ने यकिन नभएको उनले बताए ।
अन्तिम अबस्थासम्म गर्छु भन्दै रोकेर समयसिमा कटाएकोले कालो सूचीमा राख्ने बिषयमा स्पष्टीकरण सोधिएको थियो । सूर्य कन्स्ट्रक्सनले बैंक ग्यारेन्टी र म्याद थप्ने आधार मागेपछि काम थालेको हो । निसीखोलातर्फको १५ किमी चालु बर्षभित्रै कालोपत्रे गर्ने योजना छ । केही खण्डमा काम भैसकेको छ । मजदुर अभावले केही खण्ड बाँकी रहेको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए । सुल्डाँडामा बन्दाबन्दीकै अवसर छोपेर पहरो काट्ने काम भने भएको थापा मगरले जानकारी दिए । ‘अधिकांस स्थानमा ग्राभेल पनि राखिएको छ’ थापा मगरले भने, ‘अब यहाँ केही काम होला जस्तो छ ।’
बन्दाबन्दी सकिएपछि केही मदजुर थप्न सकेमा बिहुँखण्ड कालोपत्रे हुने उनले बताए । बन्दाबन्दी खुलेपछि अक्षेते खण्डमा भने अर्को ठोस व्यवस्थापन गर्न मन्त्रालयदेखि स्थानीय प्रशासनमा छलफल चलाउने उनले बताए । अलपत्रै छाड्दा बर्षातमा ढुंगा खसेर दुर्घटना पर्न सक्ने अबस्था समेत छ । ‘ती स्थानमा पानीसमेत तर्काइएको छैन । सडक हिलाम्मे हुन्छ भने पहिरो खस्ने खतरा पनि छ’ काठेखोला गाउँपालिका वडा नं. १ का अध्यक्ष खड्ग थापाले भने, ‘काम गर्छु भनेर एक महिनासम्म आवागमन रोकियो, तर कामको प्रगती भएन ।’
दैनिक पैदलयात्रा गर्ने बिद्यार्थी, कर्मचारी र सवारी साधन दुर्घटना पर्ने खतरा कायमै रहेको उनले बताए । लोकमार्गकै बागलुङ नगरपालिकाभित्रका केही घरको मुआब्जा दिन बाँकी छ । केही खण्डमा सडक चौडा पार्ने काम स्थानीयको अबरोध पनि रोकिएको छ । ‘सरकारले समय मिलाएर मुआब्जा देला भनेर हामीले संरचनामा असर पारेका छैनौ’ उनले भने, ‘आगामी आर्थिक बर्षसम्म जिल्लाको १ सय ४२ किमी खण्डमै कालोपत्रे भैसक्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->