बागलुङ, २५ बैशाख– ‘आयो लगनको मैना बिहे नगरी भा’छैन’ राजु परियार र विष्णु माझीले पञ्चेबाजामा गाएको यो गीतले बिहे गर्ने उमेर भएका युवायुवतीमात्रै होईन बिबाह कर्मसँग जोडिने धेरैलाई लगनको महिनामा उत्साहित बनाउँथ्यो । सामाजिक मान्यताअनुसार बिबाह हुँदा सुनदेखि नुनसम्म धेरै बिबाहसँग जोडिन्थे । क्षमता अनुसारको कारोवारमा यो वा त्यो ढंगले जोडिएको बिबाहले सबैलाई फाईदै गर्दथ्यो । तर, यो पाली बैशाखमा बिबाह नगन्य भए ।
बागलुङ बजारको हल्लनचोकमा टेलरिङ व्यवसाय गर्दै आएका सुजन परियार लगनको महिनामा नत राम्रोसँग खान पाउँथे नत समयमा सुत्न । अझ बैशाख, जेठका लगन त झन् छोप्नै गाह्रो हुन्थ्यो । बिबाहका लुगा सिलाउन आउनेदेखि नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यालय पोशाकको चापले परियारलाई उठिखाउँ कि बसीखाउँको अवस्था हुन्थ्यो ।
उनीसँगै काम गर्ने टेलरिङका मजदुरहरुको अवस्था पनि उस्तै । काम चल्थ्यो र त कमाई हुन्थ्यो । यो बर्षको सुरुकै लगनको महिना उनीहरुका लागि खेर गयो । विद्यालय बन्द रहेकाले शैक्षिक सत्र त केही ढिलो भएपनि सुरु होला तर बैशाख जेठमा हुने बिबाह टरेकाले उनीहरुको आम्दानी लकडाउनले सक्यो ।
‘मंसिरमा पनि बिहे त होलान् तर अहिलेका बिहे खप्टिएर आउँदा के फाईदा होला र’ सुजन भन्छन् ‘बर्षभरि घरभाडा तिर्न पुग्ने कमाउने महिना हो तर आँफै सुतेर समय बिताएको छु ।’ अघिल्ला बर्षहरुमा दिनरात बिबाहका कपडा सिलाउन खट्दा आधा निद सुतेर आधापेट खाने उनीहरुको दैनिकी अहिले फेरीएको छ ।
लकडाउनका कारण बागलुङको टेलरिङ व्यवसायमा ठुलो असर परेको व्यवसायीहरु बताउँछन् । कोरोना भाइरस लक्षित लकडाउनको प्रत्यक्ष प्रभाव सिलाई ब्यबसायीमा परेको हो । हिजो काम गरेर ज्यालामा दैनिकी चलाएका मजदुरहरु आज सहकारीले दिएको ऋणकै भरमा गुजारा चलाएर बसेको परियार बताउँछन् । ‘श्रमिकको त बिचल्ली भएको छ, बजारमा महंगो घरभाडा तिरेर महंगो खाद्यान्न खाएर बसेका छन्’ परियार भन्छन् ‘अरु केही काम गरौं भने पनि केही छैन ।’
मजदुरमात्रै होईन संचित सम्पत्ति नभएका व्यवसायीलाई नै दैनिक कारोवार चलाउन कठिन भैरहेको अर्का व्यवसायी मिनकुमार दर्नाल बताउँछन् । ‘घरभाडा तिर्नैप¥यो, व्यवसाय गर्दा लिएको ऋणको व्याज बढ्दै छ’ दर्नालले भने ‘मजदुर र साहु सबैको बिल्लीबाठ हुने भो ।’ सिजनको काम धेरै चल्ने टेलरिङ व्यवसायले अरु महिनाभन्दा विद्यालय र बिबाहका पोशाक बनाउने महिनामा धेरै आम्दानी गर्छन् ।
‘यहाँ व्यवसाय गर्ने अधिकांश आँफै पनि मजदुर हुन, ऋणमा चलाएको व्यवसायमा अरु केही साथीहरु मिलेर काम हुन्थ्यो’ अर्का व्यवसायी धनबहादुर परियारले भने ‘को मालिक को श्रमिक सबैलाई समस्या छ ।’ बागलुङ बजारमा करिव ८० वटा सानाठुला टेलरिङ सेन्टर संचालनमा छन् । व्यवसायिक रुपमा सञ्चालनमा आएकादेखि स्वरोजगारका लागि चलेका टेलरिङको क्षेत्रमा २ सय ५० भन्दा बढीले रोजगारी पाएका छन् ।
बजार बाहिरका पालिका मुकामका टेलरिङसमेत अहिले ठप्प छन् । उनीहरु के कति स्वरोजगारीमा छन् भन्ने तथ्यांक छैन । ग्रामिण क्षेत्रमा छिटफुट रुपमा रहेको बालिघरे प्रथा समेत लकडाउनको कारण संकटमा परेको छ । कल बोकेर घरघरमै सेवा दिने बालिघरे प्रथा कोरोना त्रासको कारण समस्या परेको व्यवसायीहरु बताउँछन् । सिजन गुमाएको व्यवसायलाई सबै तहका सरकारले राहतको कार्यक्रम ल्याउनुपर्ने उनीहरुको माग छ ।





