बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बिलखबन्दमा पोखराको पर्यटन

बिलखबन्दमा पोखराको पर्यटन

पोखराको पर्यटनमा २ खर्ब हाराहारीमा लगानीको अनुमान छ ।


  • ढोरपाटन संवाददाता
  • बैशाख २७ २०७७, शनिबार

पोखरा, २७ बैशाख– पोखरा आफूलाई नेपालको मुख्य पर्यटकीय गन्तव्य भन्न रुचाउँछ । पर्यटकी सिजनमा यहाँ देखिने खचाखच पर्यटक, विदेशीबाट पाएको प्रशंसा र माया, पदयात्रा मार्गमा दोहोरीलत्त हिँड्ने पर्यटकका कारण पनि पोखरा नेपालको मुख्य पर्यटकीय गन्तव्य हो । नेपाल आउने पर्यटकमध्ये ६० प्रतिशत हाराहारी पोखरा आउनुले पनि यो उपमा अन्यथा लाग्दैन । राजधानीपछि पर्यटक लक्षित पूर्वाधार पनि पोखरामै बनेका छन्÷बन्दैछन् ।
लकडाउन नहुँदो हो त,पदयात्रा सकेर थाकेकाहरुदेखि पदयात्रातिर लम्कनेहरुले पोखरा भरिभराउ हुन्थ्थ्यो । पर्यटन व्यवसायी व्यस्त हुन्थे । तर, समय त्यस्तो रहेन । कोरोना भाइरसको संक्रमणले विश्व पर्यटन बजार ध्वस्त भयो । मान्छे घरबाट निस्कन नसक्ने भए । आउन चाहनेहरुलाई पनि बाटो बन्द गर्नुप¥यो । अनि त, पोखराको मुख्य पर्यटकीय क्षेत्र बैदाम खालिखालि भयो । लकडाउन नै भएपछि होटल र रेष्टुराँहरुमा ताला झुड्याइयो । ताला कहिलेसम्म झुड्याउने हो ? कहिलेबाट पर्यटक आउन थाल्ने हुन् ? अनुमान लगाउन पनि गाह्रो छ । लकडाउनकै कारण व्यवसाय ध्वस्त भएपछि यहाँका पर्यटन व्यवसायीहरुले पहिलो चरणमा देश फर्कन चाहने पर्यटकहरुको लागि यातायातको प्रबन्ध गराए । पश्चिमाञ्चल होटल संघ, टे«किङ एजेन्सिज् एसोसियस अफ नेपाल ( टान ) पश्चिमाञ्चल,नाट्टा,रेवानलगायतका संघ÷संस्थाहरुको समन्वयमा त्यो काम फत्ते भयो । लकडाउन लम्बियो । पूर्वाधारमा ठूलो लगानी गरेकाहरु आत्तिन थाले । बैंकको ब्याज र किस्ता कसरी तिर्ने ? उनीहरुले संघीय र प्रदेश सरकार गुहारे । राहत प्याकेजको माग गरे । कुरो यत्तिमै टुंगिएन । स्थिति खस्केपछि नेपालका तारे, पर्यटकस्तरीय होटलको साझा संस्था होटल संघ नेपालले वैशाख १ गतेदेखि ६ महिनाका लागि होटल बन्द गर्ने र बन्द भएको अवधिमा श्रमिकलाई आधारभूत तलबको १२.५ प्रतिशतभन्दा मात्रै भुक्तानी गर्ने निर्णय ग¥यो । निर्णयको मजदुर संगठनहरुले बिरोध गरे । लकडाउन नै खु्ले पनि मान्छे नै नआएपछि कसरी खर्च धान्ने भन्ने चिन्तामा रहेका व्यवसायीहरु बन्द गराउन राजी देखिए ।
पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्डलगायतका सरकारी निकायहरुले तारन्तार क्षति मूल्याङ्कनको फाराम भराउँदै गरेकाले उनीहरुले केही होला कि भन्ने आशा पनि पाले । राहत प्याकेजको माग गरेका पोखराका पर्यटन व्यवसायीहरुले केही समय कुरे र अझै कुर्दैछन् । तर, होटल व्यवसायीहरु भने एक कदमअघि देखिए र होटल बन्द गराउने अवस्थामा पुगे । पोखरामा होटल व्यवसायीहरुको संस्था पश्चिमाञ्चल होटल संघले पनि आन्तरिक छलफल तीब्र बनायो । केन्द्रको निर्णयबारे आफ्ना सदस्यहरुसँग राय माग्यो । राय बाझिनु स्वभाविक थियो ।
‘होटल अक्टोबर १ सम्म बन्द गर्नेबारे हामीलाई पत्राचार भएको छ, त्यो बेलासम्म होटल बन्द गर्नुको विकल्प छैन’,होटल संघ,पोखराका एक सदस्यले भने,‘तर, अलिकति राहत आउला कि भन्ने आशा पनि छ, सरकारले नै लकडाउन गरेको बेला हतारमा होटल बन्दको निर्णय गर्दा गलत सन्देश जाला कि भन्ने पीर पनि छ,नत्र त बन्द नै गर्ने हो ।’ संघका अध्यक्ष विकल तुलाचनले पनि उनको भनाई सही भएको बताए । यसअघि नै होटलहरु बन्द भइसेको जनाउँदै ठूला होटलहरुले संचित बिदा रहेका कर्मचारीलाई त्यही बिदा उपयोग गर्न सुझाएको र साना होटलहरुमा काम गर्ने श्रमिकको हकमा के गर्ने भन्नेबारे अन्यौल रहेकाले सरकार गुहारेको जानकारी दिए ।
‘हामीसँग पनि विकल्प छैन, कथंकदाचित् होटल खुले पनि पर्यटक आउने सम्भावना छैन, पर्यटकीय होटलको गुणस्तर कायम गर्नैप¥यो’, उनले भने,‘एक दुईजना गेष्ट आएर हाम्रो व्यवसाय धानिने हैन, संचालन खर्च पनि उठ्दैन ।’ उनले धान्नै नसक्ने भएपछि आफूहरुले १२.१ प्रतिशत तलब दिने कुरा गरेको बताउँदै यसमा सरकारको सहयोग आवश्यक रहेको जिकिर गरे । ‘हामीलाई सरकारले कर्मचारीको तलबको लागि विशेष प्याकेज दिनुपर्छ, बैंकको ऋणको समयसीमा सार्नुपर्छ र ब्याजदर पनि घटाउनुपर्छ’, उनले भने,‘ पर्यटन क्षेत्रमा गरिएको लगानीलाई पूर्वाधारमा गरिएको लगानी ठान्नुपर्छ ।’ उनले केन्द्रीय होटल संघले गरेको निर्णय सही भएको बताउँदै पोखराले पनि यस्तै किसिमको सन्देश दिने तयारी भइरहेको पनि बताए । पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवि पोखरेलले सरकारले नेपाल भ्रमण वर्ष २०२० को लागि पूर्वाधार तयार गर्न गरेको आग्रहले लगानी गरेका पर्यटन व्यवसायीहरुलाई राज्यले नै संरक्षण गर्नुपर्ने धारणा राखे । यसैबीच उद्योगी÷व्यवसायीहरुको साझा संस्था पोखरा उद्योग वाणिज्य संघले पर्यटन प्रवद्र्धनको लागि छुटु्याइएको रकम भएका व्यवसाय टिकाउन खर्च गर्न संघीय सरकार र प्रदेश सरकारसँग माग गरेको छ । संघले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र बुझाउँदै होमस्टेका लागि छुट्याइएको रकम पनि पुनर्उत्थानमा खर्चन माग गरेको अध्यक्ष दामु अधिकारीले बताए । संघले सामाजिक सुरक्षा कोषमा भएको पैसा कर्मचारीको तलब खुवाउन प्रयोग गर्नुपर्ने माग पनि उठाएको महासचिव अर्जुन पोखरेलले जानकारी दिए । पर्यटनको छाता संस्था पोखरा पर्यटन परीषदका पूर्वअध्यक्ष सोमबहादुर थापाका अनुसार सरकारको पर्यटन वर्ष घोषणा र बैंक तथा वित्तीय क्षेत्रले पर्यटनमा लगानी खुकुलो पारेपछि भौतिक निर्माणमा ठूलो लगानी थपिएको छ । पोखराको पर्यटनमा कति लगानी छ भन्ने आधिकारिक तथ्याङ्क नभए पनि व्यवसायीहरुले पर्यटनमा २ खर्बको हाराहारीमा लगानी भएको उननको अनुमान छ । त्यसमा होटलको हिस्सा दुई तिहाई छ । पोखराको पर्यटनले करिब १ लाख जनालाई रोजगारी दिएको दावी गरिन्छ । अहिले पोखरा मात्रै नभएर अन्नपूर्ण क्षेत्रको लगानी पनि जोड्ने हो भने त अझ धेरै पुग्ने व्यवसायीहरुको भनाई छ । पोखरामा वार्षिक ५ लाख विदेशी र त्यति नै संख्यामा नेपाली पर्यटकले भ्रमण गर्ने गरेको अनुमानित तथ्यांक छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->