मेरो एउटा साथी थियो । उसको घर आँधीखोला पारी र मेरो वारी । ऊ मेरो बच्चा बेला देखिकै साथी थियो तर मेरो स्मृतीबाट उसको र मेरो पहिलो भेट कहाँ, कहिले र कसरी भयो ? सबै हराईसकेछ । अनेक कोसिस गरें । सुत्दा, उठ्दा, पढ्दा, पढाउँदा । अहँ, सम्झिन सक्दै सकिन । उसले सम्झिन्थ्यो कि के गथ्र्यो, कुन्नि ? म भन्न सक्दिन । सायद सम्झिन्थ्यो होला ! तर एउटा कुरा के भन्न सक्छु भने मैले सम्झिन नसकेकोमा उसले मलाई माफ भने पक्का गरिदिन्थ्यो ।
कपडा लाउनै नजानेर नाङ्गै खेल्नी बेला तिरको केही नसम्झे पनि स्कूल जान शुरु गरे देखिको त सबै कुरा याद छ मलाई । त्यो बेला देखिका सबै घटना चलचित्रका दृष्य जसरी दिमागमा फनफनी घुमिरहन्छन् ।
घर वारीपारीको गाउँमा भएपनि बजारबाट दुबैतिरको दूरी उस्तै थियो । करीब ३५ मिनेटको पैदल यात्रामा हामी बजार पुग्थ्यौं । हामी पढ्ने स्कूल त्यही बजारमा थियो । म दुई कक्षामा पढ्दा उ एक कक्षामा पढ्थ्यो । एकै वर्ष जन्मेको भएपनि मेरो जिद्दिले एक वर्षअघि स्कूल जान शुरु गरेको थिएँ । त्यसैले उ एक वर्ष ढिलो भयो । मस्तिष्क अलि धेरै विकसित भएपछि स्कूल जान शुरु गरेर होला पढाईमा ऊ निकै सिपालु थियो । एक पटक सुनेपछि सधैंलाई पुग्थ्यो फेरी दोहोर्याउनै नपर्ने । यही खुबीले उसलाई पाँच कक्षा पढ्न परेन । गुरुहरुले उसलाई फड्काएर छ कक्षामा म सँगै पढ्न ल्याउनुभयो ।
घरदेखि स्कूल जाँदा १५ मिनेट जतिको बाटोमा एउटा पिपलको चौतारो पर्दथ्यो, वर्षौंदेखि त्यो बाटो भएर हिंड्ने बटुवा गन्दै ठिङ्ग उभिएको । खोला वारी र पारीबाट बजारसम्म पुग्ने बाटो यही चौतारोमा आएर मिसिन्थ्यो । मैंले सम्झिन सकेको उसको र मेरो पहिलो भेट यही चौतारोमै भएको हो । स्कूल जाँदा हरेक दिन हामी यही चौतारोमै भेट्थ्यौं र बाँकी २० मिनेटको दूरीसँगै पूरा गर्थौं । र, यो क्रम एसएलसी दिंदासम्मै चलिरह्यो ।
म भन्दा ऊ बलियो थियो । हिंड्दा उसका पाइला छिटो चल्थे । उसलाई भेटाउन मैले लगभग दौडिन पथ्र्यो । त्योबेलामा अहिलेजस्तो मोटरनै हिंड्न सक्ने बाटो बनिसकेको थिएन । धेरैजसो बाटो खेतको आलीबाट हुन्थ्यो । बर्खाको बेलामा त्यो बाटो हिलाम्य हुन्थ्यो । जुत्ता पानीले भिज्छ भनेर स्कूल जाँदा चप्पल लगाउँथ्यौं । त्यही चप्पल ‘पडक पडक’ पड्काउँदै ढाढसम्म हिलो उछिट्याउँदै उ हिंडेको र म दौडेकोजस्तो दृष्य अलि परबाट हेर्ने जोकोहीलाई रोमाञ्चक हुन्थ्यो होला ।
स्कूल सकिएपछि हामी दुबै काठमाण्डु गयौं । विज्ञान पढ्ने र डाक्टर बनेर दीनदुखीको सेवा गर्ने पवित्र उद्देष्य बोकेर । वास्तवमा यो हाम्रो आफ्नो मौलिक उद्देष्य थिएन । हाम्रा अभिभावकका सपना थिए । एसएलसीको परीक्षामा राम्रै अंक आएपछि हामीमार्फत जर्बजस्ती पूरा गर्ने सोंचेका । त्यसैले हामी ‘एमबीबीएस’ लाई ‘मेरा बाबुले बोकेको सपना’ भन्थ्यौं र डाक्टरी पढ्न नसकेर पढेको ‘बीएससी’लाई ‘बाबुको सपना चकनाचुर’ ।
काठमाण्डु बस्दा मेरी आमाले खाजा खानको लागि फुरन्दाना बनाएर पठाइदिनुहुन्थ्यो । त्यो फुरन्दानामा उसले आफ्नो आधा हक सम्झन्थ्यो । उसकी हजुरआमाले कुरौनी पठाइदिनुहुन्थ्यो । त्यो कुरौनीको आधा भागमा मैले मेरो हक सम्झिन्थें । पढाईको विषय एउटै थियो तर क्याम्पस र बसाई फरक । काठमाण्डुमा म पाटनमा बस्थें भने ऊ सामाखुशीमा । विदा हुने वित्तिकै हामी भेटिहाल्थ्यौ । कहिले ऊ पाटन आउँथ्यो त कहिले म सामाखुशी जान्थें । हामी फरक आमाबाट जन्मेका दाजुभाई थियौं । एकअर्काका सुखदुखका पूरक थियौं ।
गर्मी यामको बेला थियो । एकदिन उ र म हिंडेर कतै जाँदै थियौं । प्यास लागेर हरहर्ती भयो । उसले चिसो पियौं भन्यो । ‘मसँग पैसा छैन । तैंले पैसा तिर्ने हो भने लौ पिऔं’ – मैले उसलाई भनें । चिसो पिइयो तर जब पैसा तिर्नको लागि उसले पर्स निकालेर हेर्यो, पर्स खाली थियो । उसले आँफूसँग पैसा नभएको कुरा बिर्सियो वा मसँग छ भनेर ढुक्क भयो त्यो उसैले जानोस् तर अप्ठ्यारोमा त उसले पारिनै हाल्यो । धन्न मेरो पर्समा सजाउनलाई राखेको एक डलरको नोट थियो । विदेश गएर आका एकजना गाउँले दाईले दिएका । सक्कली हो कि नक्कली त्यो पनि जान्दिन थिएँ । त्यो नोट निकालेर साहुजीलाई दिंदै भने – ‘साहुजी यो डलर साटिदिनुस है !’ साहुजी अलपत्र परे । नेपाली मुद्रा माग्दै थिए । हिजो मात्रै विदेशबाट नेपाल आएको र डलर साँट्न नपाएकोले नेपाली मुद्रा आँफूसँग नभएको बताएपछि साहुजीले पनि छोडिदिए ।
अर्को कुनै दिन उसलाई मकहाँ आउनु थियो । अहिले जस्तो मोबाइल र सामाजिक सञ्जालको चलन थिएन । उसँग साथमा एक रुपैंयाको नोट मात्र रहेछ । ऊ सामाखुसीबाट पाटन आउनु पर्ने । पैदल हिंड्न जाँगर लाग्ने कुरै भएन । कटराइजको लुज पाइन्टको पकेटमा त्यही एक रुपैंयाको नोट राखेर उ हिंडेछ मलाई भेट्न आउनलाई । लाजिम्पाटबाट २६ नं को गाडी चढेछ । पाटनढोका पुग्दासम्म पाइन्टको गोजीभित्रै मिलाएर एक रुपैंयाको नोटलाई दुई टुक्रा बनाएछ । त्यो बेलाको भाडा तीन रुपैंया थियो । ओर्लने बेला एक रुपैंयाका दुइटा टुक्रालाई हातमा कच्याककुचुक पार्दै कण्डक्टरलाई दिएर छुट्टा पैसा नभएकोले त्यसमै चित्त बुझाउन भन्दै दौडेको उसले मलाई भेटेपछि मात्र सास फेरेको हिजो मात्रै जस्तो लाग्छ ।
उ र म जोडिएका यस्ता अनेकौं किस्सा छन् । लोकले स्वीकार्ने पनि छन् र धिक्कार्ने पनि । ऊ मेरा लागि मात्र हैन उसलाई चिन्ने सबैका लागि रसिलो मान्छे थियो । गफमा एक दुई कुरा बढाइहाल्थ्यो जसले उसको रङ्गिलोपनलाई थप ओज दिन्थ्यो ।
समय बित्दै गयो । हामी व्यावहारिक बन्दै गयौं । व्यावसायिक बन्यौं । घरजम गर्यौ । बेलामौकामा भेट हुन्थ्यो । कहिलेकसो फोनमा कुरा हुन्थ्यो । जीवन हाँसीखुशी चल्दै थियो ।
एक हप्ताजति भाथ्यो उसको र मेरो सम्पर्क नभाको । मैले फोन गरें । तीन घण्टी बजेपछि फोन उठ्यो । उ नबोल्दै मैंले उछिनेर– ‘दाईलाई नमस्ते भन् !’ भनें । तर उताबाट दबेको स्वरमा भाउजुले भन्नुभयो– ‘बाबु, वहाँ त मोटरसाइकल दुर्घटनामा परेर अस्पतालमा हुनुहुन्छ । पाँच दिन भयो अझै होस आको छैन !’ म झस्किएँ । मेरो वरीपरीको पृथ्वी घुम्न लाग्यो । तर आँफैले आँफूलाई सम्हाल्नुबाहेक अरु उपाय थिएन । कार्य व्यस्तताले उसलाई अस्पतालमा भेट्न जान सक्ने अवस्थामा म थिइन् । सबै कुरा बुझिसकेपछि उसलाई निको हुनासाथ मलाई फोन गरेर– ‘म ठीक भएँ !’ भन्न लगाउनुहोला भनेर फोन राखें । फोन राख्ने बेलाको भाउजुको रोदन नरमाइलो गरी कानमा ठोक्किन आइपुग्यो ।
मैले थाहा पाएँ कि उ मृत्युसँग अन्तिम युद्ध गरिरहेछ । मृत्युलाई जित्ने गरेर उसलाई साथ दिन नसक्ने म कस्तो साथी ? मलाई माफ गर, ब्रो ! मलाई माफ गर !
मैले आशा मारेको थिइन । मलाई विश्वास थियो उ ठीक हुनेछ र मलाई भन्नेछ– ‘तैंले साथ नदिएपनि मैंले जितें नि यार ! ल हेर त, म ठीक भएँ ।’
तर दोश्रो दिनमा मेरो आशा निराशामा बदलियो । मैले खबर पाएँ – ऊ हार्यो, मृत्युले जित्यो । ऊ कहिल्यै नफर्किने गरी अनन्त यात्रामा गयो । असंख्य सम्झनाहरु छोडेर अनि कहिल्यै नपुरिने घाऊ बनाएर ऊ परलोक गयो ।
स्कूल पढ्दाताका उ अचम्मै छिटो थियो । म सोच्दथें समयसँगै उसको गति ढिलो हुँदै गयो होला । उसको पाइलामा अब त्यो शक्ती कहाँ होला ? तर उसले मलाई गलत साबित गरिदियो । उ मैले सोंचेभन्दा फरक रहेछ । उसले त आफ्नो वेग झनै बढाएको रहेछ । ऊ त झनै गतिवान भएको रहेछ । यति छिटो आफ्नो जीवनको यात्रा नै पूरा गरिदिएछ । यति हतार रहेछ उसलाई ।
ट्वीटरः navin_kiran
(लेखक आँधिखोला बहुप्राविधिक शिक्षालय वालिङ–१३, स्याङ्जाका प्रमुख हुन् ।)





