नेपाल कम्युनिष्ट पार्टीको जन्म क. पुष्पलालको नेतृत्वमा २००६ सालमा स्थापना भई यसले राष्ट्रियता, जनतन्त्र, जनजिविकाको सवालमा विभिन्न मागहरु उठाउँदै नेपालको विषेशता अनुसार नेपाली क्रान्तिको चरित्र यसको स्वरुपको बारेमा पहिलो खाका कोर्ने प्रयत्न गर्यो ।
नेपालमा कम्युनिष्ट पार्टीको स्थापनासँगै यसले वर्गीय, क्षेत्रीय, लिङ्गिय मुक्ति आन्दोलनसँगै सामाजिक, आर्थिक, साँस्कृतिक एवं राजनैतिक परिवर्तनका लागि सशस्त्र वा शान्तिपुर्ण तरिकाले नेपालको वर्ग संघर्ष र परिवर्तित राजनैतिक आन्दोलनका लागि नेपाली कम्युनिष्ट आन्दोलनले नेतृत्वदायी भुमिका खेलेको छ । २००७ सालको जनक्रान्ति २०३६ र २०४६ को जनआन्दोलन जसले ३० वर्ष निरंकुश पञ्चायती व्यवस्थालाई फालेको थियो । २०५२ साल फागुन १ बाट तत्कालिन नेपाल कम्यूनिष्ट पार्टी माओवादीको नेतृत्वमा सुरुबाट गरिएको महान जनयुद्व २०६२÷०६३ सालमा भएको ऐतिहासिक १९ दिने जनआन्दोलन जसले २०० वर्ष पुरानो सामन्ती राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना साथै संविधान सभाबाट नयाँ संविधान जारी भई कार्यान्वयनको प्रक्रियामा अगाडि बढेको कुरा ऐतिहासिक घटनाक्रमले पुष्टी गरिसकेको छभने अर्कोतर्फ २००८ सालमा सम्पन्न पहिलो महाधिवेशनहुँदै विभिन्न काल परिस्थितिअनुरुप माक्र्सवादको प्रयोग र विकास गर्ने सन्दर्भमा विचारधारात्मक तथा राजनैतिक कार्यदिशा निर्माणको सवालमा हजारौं प्रश्न बहस छलफलको माध्यमबाट विभिन्न विचार समुहमा टुटफुट विभाजन हुँदै र आवश्यकताको आधार र समयको मागअनुसार पार्टी एकताहुँदै विभिन्न उतारचढाव र घुम्ती–मोडको बिचबाट नयाँ संविधान जारी भएपछि यसको कार्यान्वयनसँगै दुई ठुला कम्युनिष्ट पार्टी पुर्व नेकपा एमाले र पुर्व एकिकृत नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) बीच बस्तुगत परिस्थितिको ऐतिहासिक आवश्यकताको आधारमा पार्टी एकता सम्पन्न भइसकेको छ ।
पुरानो सामन्ती राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक व्यवस्था स्थापनासँगै सार्वभौम सत्ता र राजकिय सत्ताका अधिकारहरु संघीयताको मोडेलको माध्यमबाट संघ, प्रदेश र स्थानीय तहका सरकारको माध्यमबाट गाउँ गाउँसम्म पुग्ने वातावरण बनेको छ । गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, उत्पीडित वर्ग, क्षेत्र, लिंग, पिछडिएको समुदायमा राज्यको हरेक निकायमा समावेशी प्रतिनिधित्व हुने लोकतान्त्रिक व्यवस्था नयाँ संविधानमा नै लिपिवद्व भइसकेकोले यी उपलब्धिको रक्षा गर्न जरुरी छ ।
आज जति उपलब्धिहरु भएका छन्, राजनैतिक परिवर्तनका लागि हजारौ व्यक्तिको त्याग तपस्या बलिदानबाट मात्र सम्भव भएका हुन् । यदि हजारौं व्यक्तिहरुले आफ्नो व्यक्तिगत जीवनलाई तिलाञ्जली दिँदै त्याग, तपस्या, बलिदान, आन्दोलनप्रति समर्पण नगरेको भए र करोडौं जनताको समर्थन प्राप्त नभएको यो उपलब्धी सम्भव थिएन । इतिहास साँची छ, २००७ देखी २०७२ सालसम्म आउँदा राजनैतिक परिवर्तनहरु त भए तर राजनैतिक स्थायित्व कहिल्यै बन्न सकेन । सरकार बनेको ३ महिनापछि सरकार बनाउने र भत्काउने फोहोरी संसदिय खेलहरु भइरहे जसले गर्दा देशको समृद्वि र आम जनताका विकासप्रतिको अपेक्षा कहिल्यै भनेजस्तो तरिकाले पुरा हुन सकेनन् । नयाँ संविधान निर्माणसँगै नेपालमा सिंगो नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा दुईतिहाईको जनमत प्राप्त भएपनि स्थायित्व पाउने कुरामा परिक्षाको घडिमा बस्नु परेको छ । यसलाई आर्थिक विकास र समृद्विको अवसरका रुपमा लिन नसके करोडौं जनताका लागि राजनीतिक बेइमानीबाहेक अरु केही हुन सक्ने छैन ।
यी उद्वेश्य पुरा गर्नको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यशैली, नेतृत्व गर्ने तरिका, व्यवहार परिवर्तन हुन जरुरी छ । यथास्थितिवादी संकिर्णता जडसुत्रिय चिन्तन प्रणालीले उपलब्धी गुम्ने चुनौती देखिन्छ । किनभने सामन्ती व्यवस्था राजनीतिक रुपमा अन्त्य त भएको छ तर साँस्कृतिक रुपमा त्यसको अवशेष रहिरहेको छ । आज पार्टीको विधि विधान कमिटि प्रणालीबाट कुनै पनि व्यक्ति लाभको पदमा पुगेपछि स्वयच्छाचारी हुने आत्माकेन्द्रित व्यक्तिवाद हाबी हुन खोज्ने प्रवृत्तिको बढवा पार्टी दुर्घटना हुन सक्ने संकेत देखिन्छ । पार्टी नै मुख्य बल हो भन्ने कुरालाई बिर्सेको छभने अर्कोतर्फ लाभको पदभन्दा बाहिर बस्ने साथीहरुले सरकारको भुमिकामा रचनात्मक सहयोग राम्रा कामहरुको श्रेय लिने त्यसको प्रचार–प्रसार गरी सत्यलाई स्थापित गर्नेभन्दा पनि बङ्गाउने अप्रमाणित गर्न खोज्ने प्रवृत्तिले पार्टी निर्माणलाई घाटा बनाउने छ । त्यसैले कम्युनिष्ट पार्टी उद्वेश्यमा पुग्न कुखुरा बनेर खुर्सिने होइन चिल बनेर हेर्न सक्नुपर्छ । यो कुरा २०१६ सालमा नेपाली काँग्रेसले प्राप्त गरेको जनमत बद्लिएको परिस्थितिअनुसार आफ्नो सही कार्यदिशा, विचार र नेतृत्व हुन नसक्दा सबै कुरा गुमेको इतिहासमा स्मरण गर्नुबाहेक विकल्प देखिन्न ।
‘कुनै पनि राजनैतिक पार्टीको विचार राजनैतिक कार्यदिशा नेतृत्व गर्ने नेतृत्व वर्ग सही वा गलत हुनुले सबै कुराको निर्धारण गर्छ भनेझै यहीँ सही छ नभएका चिज पनि प्राप्त हुन्छ । यदी छैन भने भएका उपलब्धी पनि गुमेर जानेछ’ क. माओ ।
लामो राजनैतिक संघर्षपछि बनेको नयाँ संविधानमा समाजवाद उन्मुख अर्थतन्त्र विकासको परिकल्पना गरेको छ । त्यो भनेको ५ वर्षदेखि २५ वर्षको बिचमा दिगो विकास सहितको सडक, विद्युत, खानेपानी, शिक्षा, स्वास्थ्य लगायत भौतिक पूर्वधारको तिव्रतम विकास नेपालमा रहेको स्रोत र साधनको परिचालन र व्यवस्थापन गर्नुको साथै कृषि क्षेत्रमा आधुनिकरण र व्यवसायीकरण गरी उत्पादन बढाउने, धेरैभन्दा धेरै मान्छेलाई श्रमसँग जोड्ने धनी बनाउने, सुखी जिवनको अवसर प्रदान गर्ने कुरा महत्वपुर्ण रहेको छ । यी कुरा आम नागरिकलाई सरल भाषामा बुझाउन सक्नु नै महानता हुनेछ । किनभने जनताको भौतिक सहभागिता र विचारको समानता नै समग्रमा विकासको मुख्य आधार हुने गर्दछ ।
यसकारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आम जनताको अपेक्षाअनुसार निम्न कुरामा ध्यान दिन जरुरी देखिन्छ ।
–समयको गति अनुसार पार्टी निर्माण गर्न दृढतापुर्वक लागौं । लेलिनवादी संगठानात्मक सिद्वान्तलाई आत्मसाथ गर्दै पार्टी केन्द्रदेखि टोल कमिटीसम्म जे निती र विधि बन्ने गर्दछ सोही अनुसार लागु गर्न प्रयत्न गरौ ।
–पार्टीमा सफा र इमान्दार जनतालाई सेवा गर्ने विचारमा परिपक्व सदस्य बनाउनमा जोड गरौं ।
–क. माओले भनेझै माक्र्सवादलाई टुक्रा टुक्रामा होइन क्रमवद्वतामा, सतहीमा होइन साँचो अर्थमा बुझ्न सक्ने एक–दुई सय सदस्य भए पार्टीमा लड्न सक्ने क्षमता ठुलो हुनेछ भन्ने तथ्यलाई दृढतापुर्वक आत्मसाथ गरौँ । त्यसका लागि आफ्ना आदर्श र धारणाहरु जनताको सेवा गर्नमा तयार हौ काममा परिश्रमी उत्तरदायित्व बहन गर्न सक्ने इमान्दार र व्यवहारमा सोझो कार्यकर्ता बन्न सिकौं । किनभने आदर्श र विचार कम्युनिष्ट पार्टीको नैतिक सारतत्व हुन भन्ने कुरा कहिलै नभुलौ । पार्टी विपरितहरुको एकत्व भएकोले एकता, संघर्ष र रुपान्तरणको बाटोबाट पार्टीलाई मजबुत बनाउन महत्वपूर्ण भुमिका खेलौ ।
(घर्ति ताराखोला गाउँपालिकाका अध्यक्ष हन् ।)





