म्याग्दी, २९ वैशाख– जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं ५ शिखमा निर्माण गरिएको शिख स्वाँत जोड्ने आर्क मोटरेबल पुल ६ महिना पनि नपुग्दै जीर्ण बनेको छ । पूर्वाधार विकास योजना कार्यालयको २ करोड १० लाखको लागतमा स्वच्छन्द गौचन जेभीमार्फत गत मंसिरमा सो पुल निर्माण सम्पन्न गरिएको थियो ।
३१ मिटर लम्बाइको सो पुलको बीच भागमा दुईवटा भ्वाङ परेका छन् । कमसल निर्माण सामग्रीको प्रयोगका कारण पुलको अवस्था जीर्ण बनेको र ठेकेदारले लापरबाही गरेको स्थानीयले बताएका छन् । तर, ठेकेदार कम्पनीका प्रतिनिधि लोभर सियर सुनम बरालले पुल निर्माणको अवधि चैत मसान्तसम्म रहेकोमा कोरोना संक्रमणको जोखिमबाट गरिएको लकडाउनका कारण काम स्थगित गरिएको बताए । उनले पुलको स्टकचरमा कुनै क्षति नपुगेको तर वर्षाका कारण पुल वरपरको भाग अलिकति भाँसिएको प्रतिक्रिया दिए ।
स्थानीयले भने पुलमा दुईवटा भ्वाङ परेको र जोखिमपूर्ण तरिकाले वारपार गर्नुपर्ने अवस्था आएको बताएका छन् । पुल दायाँबायाँको भागको जमिन भासिएको र पर्खाल समेत भत्किन थालेकोले कुनै पनि बेला दुर्घटना हुन सक्ने स्थानीयले सुबोध बरुवाल क्षत्रीले बताएका छन् । पुलको अवस्था र त्यसबाट उत्पन्न सम्भावित जोखिमका बारेमा स्थानीय जनप्रतिनिधिलाई समेत जानकारी छ ।
यता, जिल्ला पूर्वाधार विकास समितिका प्रमुख ओमलाल ढुंगानाले ठेकेदार कम्पनीका प्रतिनिधि र कामदारहरुले काम गरिरहेको अवस्थामा लकडाउन भएका कारण चैत १७ गते पास दिएर घरमा पठाइएको र बाँकी काम लकडाउन खुलेपछि गरिने बताए ।





