आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

कोभिड–१९ र नेपालीले सिक्नुपर्ने पाठ

कोभिड–१९ र नेपालीले सिक्नुपर्ने पाठ

स्वास्थ्य र सरसफाइ सम्बन्धी जनचेतना


  • प्रकाश गैरे
  • बैशाख ३० २०७७, मंगलबार

सन २०१९ डिसेम्बर महिनामा चीनको हुवान शहरबाट सुरु भएको कोरोना भाइरस आज विश्वमै महामारीको रुपमा फैलिएको छ । कहाँबाट कसरी उत्पत्ति भई मानिसमा देखिई प्राणघातकको रुपमा फैलिई मै हुँ भन्ने शक्तिशाली देशलाई पनि हम्मे–हम्मे पारेको देखिन्छ । ज्यामितिय आकारमा दुई प्लस दुई हुन्छ भन्न नपाउँदै छ गन्नुपर्ने अनुपातमा ज्यादै माहामारीको रुपमा फैलिएको देखिन्छ ।
कतिपय अनुसन्धानले यो पनि बताएको छ कि चीनमा धेरै प्रकारका मासुहरु मानिसले खाने र त्यहिँमध्ये कुनै न कुनै तरिकाले मासुबाटै मानिसको शरिरमा फैलिएको कुरा पनि बताएको देखिन्छ । त्यसपछि चाइनामा सर्वप्रथम देखिएकोले ‘चाइनिज भाइरस’ भन्दै खिल्ली उडाएरै बसेता पनि तर यो भाईरस पश्चिमी राष्ट्रहरुमा इपिडेमिकको रुपमा बढ्दै गयो । विश्वका विभिन्न देशका विज्ञहरुको अनुसन्धानलाई फेल खुवाउँदै यसले नोबल कोरोना भाइरस तथा कोभिड–१९ जस्ता नाम रहने गरी फैलिरह्यो । सामान्य रुपमा हेर्दा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासमा समस्याजस्ता लक्षण देखिई प्राणघातक रोगको रुपमा साबित हुँदा विश्वनै चकित देखिन्छ । अनुसन्धानकर्ताहरुले आफ्नो सिद्धान्तमा अनुसन्धान गरी यस रोग बिरुद्धको खोप वा औषधी पत्ता लगाउन नसक्ने गरी महामारी फैलिएर त्यहाँनिर मनोवैज्ञनिक असर परेको प्रष्ट देखिन्छ । कतिपयले यस विरुद्धको औषधी पत्ता लगाउन परिक्षण गर्दा पनि कामयाब रहेको देखिन्छ, सायद यसले स्वरुप परिवर्तन गर्ने भएर हो कि ? बाहिर कतै भ्रमण गएको अभिभावकलाई नदेखिई थाहै नपाई सर्वप्रथम परिवारको अन्य सदस्यलाई देखिने, अनि मात्र उक्त भ्रमण गर्ने अभिभावकलाई पोजिटिभ देखिने गरेको रहस्य छभने कहिँकतै कोरोनाको पहिलो लक्षण रुघाखोकीबाट भनेतापनि एक्कासी १०४ डिग्री ज्वरो आउने अनि छाती दुःखी श्वास फेर्न गाह्रो हुने लक्षणबाट पनि कोरोना पुष्टि भएको सत्यतथ्य पनि हामीमाझ छ ।
आजभोलि यसो इतिहास पल्टाएर हेर्दा जब विश्वयुद्ध सकियो तब मर्ने सैनिक मरिहाले अनि घाईते भएका लाखौ सैनिकहरुको घाउ पाक्ने समस्या सुरु भयो, तत्पश्चात घाऊ पाकेको निको पार्ने कुनै औषधी थिएन अनि दुई वर्ष लगाएर अलेक्जेन्डरले पेनिसिलिन (Penicillin) पत्ता लगाए त्यती बेला ती घाइते सैनिक घाऊ पाकेरै मरिसकेका थिए, के थाहा ? कोभिड–१९ विरुद्धको खोप पत्ता लगाउन पनि दुई वर्ष वा सोभन्दा बढी लाग्ने होभने यसको संक्रमणबाट विश्वका कुनै राष्ट्र वा मानिस अछुतो रहन सक्छ भनेर भन्न सकिदैन । तर यसो भन्दैमा त्रसित र आतंकित हुनु चाहिँ गलत हुन्छ र हामीले यसका लागि आशावादी हुन पनि जरुरी छ ।
कोभिड–१९ र नेपाल
चीनमा कोरोना भाइरस सुरु भएको करिब ३/४ महिनापछि नेपालमा पनि फाट्टफुट्ट यसको संक्रमण देखियो । यसै क्रममा सुरुको चरण अति संवेदनशील रुपमा रह्यो, त्यसपछि अन्य देशमा फैलिएको क्रियाकलापलाई मध्यनजर गर्दै लकडाउन कडाइका साथ लागु भयो र पालना गरेको पनि देखियो, महामारीको रुपमा बढ्न पनि पाएन । एकातिर कोरोनाको कहर अर्काेतिर कोरोनाको खबर सुनिन थाले, एउटाले भन्छ हामी वीर नेपालीलाई के को कोरोनाले छुन्छ ? गीत नै बन्यो ‘भाग कोरोना भाग तँलाई नेपाल आइस भने काठमान्डौको धुलो चटाइदिन्छु रे’ फेरि अर्काले भन्छ– शुद्ध कोदोको रक्सी कोरोनाको औषधी रे, खोई त रोकथामका लागि समर्थन ? अचम्म लाग्छ ।
नेपालीलाई सिकाएको पाठ
आजको सन्दर्भमा कोरोना एक प्राणघातक रोग बनिसकेको सर्वविदितै छ, यसको नकारात्मक प्रभाव त यसै प्रबल देखिन्छ यो त सबैले जानेबुझेको कुरा हो, तर हामीले सकारात्मक रुपमा हेर्दा अप्रत्क्ष तबरबाट यसरी बिश्लेषण गर्न सकिन्छ । भीडभाडमा बस्न नहुने, मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, स्वच्छ र सफा तरिकाबाट रहनसहनमा बस्नुपर्ने जस्ता पक्षहरु हेर्दा हाम्रो समाजमा निम्न सकारात्मक प्रभाव परेको छ भन्न सकिन्छ :
१.आत्मनिर्भरता
कोरोना रोकथाममा लकडाउन अनिवार्य छ, यसले गर्दा वस्तु तथा सेवाको अभाव परिसकेपछि नेपाली समाजमा खटनपटन भएको छ । हिजो कृषिलाई उपेक्षित गरेर शहरतिर झरियो आज केहि नभएर कोदो लगाउन पाएको भएपनि ढिडो, रोटी खाएर भएपनि प्राण धान्न त हुन्थ्यो नि भन्ने मानसिकता बनिसकेको देखिन्छ । यसबाट आत्मनिर्भर सोचलाई बढवा दिएको छ, जसबाट नेपालको योजना पनि सार्थक हुन सक्ने देखिन्छ ।
२. स्थानीय ज्ञान, सीप र प्रविधिको संरक्षण
नेपालमा शहरमा बस्ने जनसंख्या बढ्दै जाँदा गाऊँ, पाखापखेरामा हुने परम्परागत सीपमा आधारित कार्यहरु लोप हुने अवस्थामा थिए । शहर बस्ने बालबालिकाले दुध कहाँबाट आउँछ भन्दा डेरीबाट र भात (माम) कहाँबाट आउँछ भन्दा बोराबाट भन्ने मानसिकतालाई चिरेको छ । बर्षौदेखि शहर बसेका मानिसहरु गाऊँघर फर्कन थालेका छन् र मल बोक्ने, घाँसपात गर्ने, कोदालो खन्ने, खेतीपाती गर्ने, रितीरिवाज सिक्ने कार्य यहि कोरोना लकडाउन पद्धतीले सिकाएको देखिन्छ ।
३. स्वच्छ पर्यावरण
उद्योग, कलकारखाना, यातायात क्षेत्रबाट निस्केको कार्बनमोनोअक्साइड लगाएत हानिकारक ग्यास उत्सर्जनको कटौतीले शान्त र स्वच्छ पर्यावरण निर्माण भएको छ । जसले गर्दा केहि समय भएपनि जैविक विविधताको संरक्षणमा सहयोग पुग्ने देखिन्छ ।
४. अपनत्व र आपसी भाईचारा
हामीले हाम्रा लागि भएपनि हाम्रै देशको आर्थिक सामाजिक परिवेशमा घुलमिल भई यसको संरक्षण गर्नु पर्दछ । जसबाट पृथ्बीको बहन क्षमता पनि बढ्दै जान्छ भन्ने भावानाको पनि विकास भएको देखिन्छ । त्यसैगरी यस्तो विपदको बेला त हो नि एकले अर्कालाई सहयोग गर्ने भन्दै सुरु भएका राहत प्याकेजले पनि आपसी भाईचारामा बस्न सिकेको देखिन्छ ।

५. स्वास्थ्य र सरसफाइ सम्बन्धी जनचेतना
एउटा सामान्य बानी दिनको चार/पाँच पटक हात धुनुपर्छ भन्ने चेतनाले मानिसमा सरसफाइलाई पनि विशेष ध्यान दिनुपर्ने कुराको पुर्ण अवगत गराएको छ । हिजोअस्ती स्वास्थ्य र सरसफाइमा हेलचक्रयाई गर्नेहरु पनि आजभोलि नियमित व्यायाम ताजा, स्वच्छ र शुद्ध आहारबिहार गर्नुपर्ने रहेछ भन्ने मानसिकताबाट सायद कोही पनि अछुतो छैन होला ।
अन्त्यमा, सधैभरी विपरित ध्रुव सहेका देशहरु पनि कोरोना संक्रमण र यसको संकटबाट पर्ने असरलाई न्युनिकरण गर्न एउटै ध्रुवमा उभिनुपर्ने परिस्थिती सिर्जना भएको छ । हिजो ग्लोब्लाइजेसनको नाममा भित्रिने ज्ञान, सीप, प्रविधि, लगानी आदिको नाममा आज कोरोना भाईरस भित्रिएको देखिन्छ । तसर्थ विश्वभरी फैलिएको संक्रमणलाई रोक्न हरेक व्यक्ति–व्यक्ति, समाज–समाजको साथै राज्य–राज्य पनि एकआपसको समन्वय र सहकार्यमा लाग्नुपर्ने देखिन्छ । अबको समयमा कि त संक्रमण रोकिनुपर्छ कि त औषधी वा खोप छिट्टै पत्ता लाग्नुपर्छ, विश्वका हरेक मानिसको कामना छ । यसरी माथि उल्लेखित रुपमा वर्णन गरिएका कोरोना विपतका पाठहरुलाई हामीले कहिल्यै नबिर्सी अगाडि बढ्न सकेको खण्डमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा पुरा गर्न अप्रत्यक्ष रुपमा भएपनि ठूलो मद्दत पुग्ने देखिन्छ । तपाई आफ्नो जीवन सुरक्षित राख्नु छभने घरमै बसौँ, अनि तपाई आफ्नो समाज सुरक्षित राख्नु छभने सामाजिक दुरी कायम गरौँ ।
(लेखक गैरे ताराखोला गाउँपालिकाका प्रशासकीय अधिकृत हुन् ।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->