बगलुङ, ३० बैशाख– बिकास निर्माणलाई गति दिने र लकडाउनको मोडल फेर्ने सरकारी रणनीति अनुसार बहुप्रतिष्ठित बागलुङ बसपार्कको काम थालिएको छ । म्याद सकिएपनि बन्दाबन्दीको कारण नगरपालिकाले अबसर दिएपछि बागलुङ बसपार्क निर्माणको कामले तीब्रता पाएको हो ।
तोकिएको समयमा नबनेपछि गत भदौमा बागलुङ नगरपालिकाले रकम र म्याद थपेर बसपार्क निर्माण थालेको थियो । चैत र बैसाखमा काम गर्न नपाएपछि फेरी अलपत्र पर्न नदिन नगरपालिकाले काम गर्ने बाटो खोलिदिएको हो । बाटो खुलेपछि ठेकेदार कंपनीले सदरमुकाममै बन्दाबन्दीमा परेका मजदुर लगाएर काम थालेको हो ।
सोह्र बर्ष अघि स्थानीयले जग्गा दिएपछि निर्माण थालिएपनि अलपत्र काम अघिल्लो बर्ष मात्र सुरु भएको थियो । बसपार्क बनाउन ठेक्का दिएको नगर बिकास कोषले ६ महिना म्याद थपेर बसपार्क बनाउने बाटो खोलीदिएपछि नगरपालिकलो ठेकेदारलाई काम गर्न लगाएको हो । उक्त थप म्यादमा ठेकेदार कंपनीले काम सक्ने भनेपछि बागलुङ नगरकार्यपालिकाको बैठकलेपनि म्याद थपेर चालु बर्षका लागि बिनियोजित रकम खर्च गर्न समेत भनेको प्रमुख प्रशासकीय अधिकृत दण्डपाणी शर्माले बताए ।
चलु बर्ष सम्झौता गर्नुपर्ने काम भने अहिले रोकिएका छन् । यस अघि सम्झौता भएका, ठेक्कामा लागिसकेका योजना पुरा गर्न भने बाटो खोलेको उनले बताए । ‘सामाजिकदुरी पनि कायम गर्ने, अलपत्र मजदुरपनि परिचालन गर्ने योजनाका साथ काम भएको छ’ शर्माले भने, ‘गौरबका आयोजना, नगरबिकास कोषको अनुदान जस्ता बजेटमा भैरहेका काम सक्न लगाएका हौं ।’ चालु बर्ष भित्रै मालढुंगादेखि बलेवा हुँदै कुस्मीसेरा जाने सडक सहित प्रदेश सरकारको बजेटमा काम भैरहेका याजना पुरा गर्न कार्यपालिकलो बाटो खोलिदिएको नगरप्रमुख जनकराज पौडेलले बताए । चालु बर्ष भित्रै सक्ने भनिएको भीरलाखुरी खानेपानी आयोजनाको कामपनि थालिएको छ । यो आयोजनाबाट बागलुङ नगरपालिका भित्रका ३ सय घरधुरीमा खानेपानी आपूर्ति हुनेछ ।
बसपार्क निर्माण सम्पन्न भएमा स्थानीयले बर्षौदेखिदिएको जग्गा फिर्ता पाउने अबस्था भएपछि नगरपालिकाले काम अगाडि बढाउने निर्णय गरेको हो । यहाँका ५१ जना बासिन्दाले सामुहिक जग्गा दिएर बसपार्क निर्माण थालिएको थियो । बसपार्क बनाएपछि उनीहरुलाई कम्तिमा एकएकवटा घडेरी उपलब्ध गराउने सरकारी योजना छ । स्थानीयले दिइएको ५९रोपनी जग्गाबाट बसपार्क बनेपछि सबैलाई घडेरी दिने सम्झौता गरिएको थियो । विस्तृत परियोजना प्रस्तावमा त्रुटी भएको र ठेक्का दिंदा पनि एक बर्ष मात्र सक्ने भनिएकोले गत बर्षको काम पुरा भएको थिएन ।
नगरबिकास कोषले समेत डिपिआरको त्रुटी सच्याएर पुन काम गर्न अनुमति दिएको हो । आशिष फेवा संयुक्त निर्माण कंपनीले ठेक्का लिएपनि छोटो समय भएकोले काम सक्न मुस्किल भएको बताएर म्याद थपका लागि माग गरेको थियो । बन्दाबन्दीले पनि यो अबसर मिलेपछि ठेकेदारले काम थालेका हुन् ।’ नगर बिकास कोषको ९ करोड लगानी हुने भएपनि कंपनीले ७ करोड ६६ लाख ९९ हजार रुपैया“मा काम सक्ने गरी ठेक्का लिएको थियो । ठेक्का सम्झौतामा बसपार्क, टर्मिनल भवन, व्यपारिक भवन, भूमिगत ट्याक्सी पार्क लगायतको संरचना बनाउनु पर्ने उल्लेख छ ।





