बागलुङ, ३० वैशाख– लकडाउनले व्यापार व्यवसायमा प्रभाव परेको भन्दै व्यवसायीहरुको एक साझा संस्था चेम्बर अफ कसर्म बागलुङले घरभाडा र बैंकबाट लिएको ऋणमा व्याज मिनाहाको माग गर्दै जिल्लास्थित सरोकारवाला निकायलाई ज्ञापनपत्र बुझाएको छ । चेम्बर अफ कर्मसले जिल्ला प्रशासन कार्यालय, बागलुङ नगरपालिका र बैंकर्स एसोसिएसन बागलुङ शाखालाई मंगलबार ज्ञापनपत्र बुझाएको हो । लकडाउनको समयमा व्यवसाय सञ्चालन नहुँदा व्यवसायी धराशयी भएको, घरभाडा तथा ऋणको व्याज तिर्नसक्ने अवस्थामा नरहेको चेम्बरले ज्ञापनपत्रमा उल्लेख गरेको छ । ज्ञापनपत्रमा व्यवसायीका लागि उपयुक्त राहत प्याकेज ल्याउनुपर्ने समेत उल्लेख गरिएको छ ।

बागलुङ चेम्बर अफ कमर्सका महासचिव नारायण पौडेलले प्रमुख जिल्ला अधिकारी गौलोचन शैंजु, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल र बैंकर्स एसोसिएसन बागलुङका दिपक शर्मालाई ज्ञापन पत्र बुझाएका हुन् । व्यवसायीले कोरोनाको जोखिम मोलेर सामाजिक दुरी कायम गर्दै आम उपभोक्तालाई सेवा दिँदै आएको कमर्सले जनाएको छ । अत्यावश्यक वस्तुको आपूर्तिमा व्यवसायीले देखाएको सक्रियता र व्यवसाय सञ्चालन नभएका व्यवसायीलाई परेको मर्काका बिषयमा अध्ययन गरी आवश्यक प्रक्रिया थाल्न चेम्बरले अनुरोध गरेको छ ।





