बागलुङ, १ जेठ– एक वर्षमा सक्नेगरी काम सुरु भएको बलेवा बिमानस्थल कालोपत्रेको काम प्रभावित भएको छ । काम गरिरहेका मजदुरहरु एकाएक लकडाउनमै घर हिँडेपछि बिमानस्थल कालोपत्रेको काम प्रभावित भएको हो । नेपाल सरकारले सामाजिक दुरी कायम गरी आवश्यक सुरक्षा सावधानीसहित काम सूचारु गर्न आग्रह गरेको भएपनि बिमानस्थलको काम सुरु हुन नसकेको भएको हो ।
बिमानस्थलको धावनमार्ग ग्रेडिङको काम चलिरहेकाले ग्रेडर र स्काभेटर चालकलाई निर्माण स्थलमा ल्याउने प्रक्रिया थालिएको निर्माण कम्पनी काष्टमाण्डप एण्ड उमा जेभीले जनाएको छ । यातायात सहज नहुँदा अपरेटरलाई निर्माण स्थलसम्म ल्याउन कठिन भैरहेको कम्पनीका साईड इन्चार्ज बासु थापाले बताए । काम थालेको केहीदिनमै लकडाउन भएपछि रोकिएको काम पुनः सुचारु गर्न बागलुङ नगरपालिकाले ताकेता गरेको छ ।
करिब दुई महिनादेखि बन्द रहेको काम तत्काल सूचारु नगरे निर्धारित समयमा काम सम्पन्न नहुने भएकाले निर्माण कम्पनीलाई काम थाल्न अनुरोध गरिएको नगरप्रमुख जनकराज पौडेलले बताए ।
उता, निर्माण कम्पनीका प्रतिनिधि थापाले भने दुई महिना काम रोकिएकाले निर्धारित समयमा काम सम्पन्न गर्न नसकिने प्रतिक्रिया दिए । ‘हामी काम गर्न तयार छौं तर वातावरण बनेको छैन’ थापा भन्छन् ‘मुख्य काम चल्ने समयमा बस्नु परेकाले तोकिएको समयमा काम सकिन्न ।’ विमानस्थललाई बाह्रै महिना संचालन गर्नेगरी नागरिक उड्यन प्राधिकरणले कालोपत्रेको काम थालेको हो ।
अहिलेसम्म बलेवा विमानस्थलमा सानो टुइनेटर जहाजमात्रै चल्न सक्ने अवस्था छ । धवनमार्ग कालोपत्रे भएपछि ठूलो जहाजले समेत उडान भर्न सक्ने नगरप्रमुख पौडेलले बताए । नागरिक उड्यन प्राधिकरणले चालु आर्थिक बर्षमा ४ करोड रकम बिनियोजन गरि निर्माण कार्य अगाडि बढाएको हो । विमानस्थलको ७०० मिटर लम्बाई ३० मिटर चौडाई धावनमार्ग कालोपत्रे हुने निर्माण कम्पनीले जनाएको छ ।
२०७७ फागुन महिनाभित्र काम सम्पन्न गर्नेगरी सम्झौता भएको छ । २६ बर्षसम्म बन्द रहेको बलेवा विमानस्थल बागलुङ नगरपालिकाको पहलमा २०७४ साल चैत ९ गतेदेखि पुनः एक बर्ष संचालनमा आएर बन्द भएको थियो ।
धावन मार्गकै कारण जहाजले नियमित उडान गर्न नसक्ने भएकाले कालोपत्रे गरेर नियमित उडान गर्ने योजनाअनुसार काम थालिएको पौडेलले बताए । विमानस्थलसम्म पुग्ने सडक कालोपत्रे नहुँदा समस्या हुनसक्ने भएकाले बागलुङ बजारदेखि बिमानस्थल सम्मको सडक कालोपत्रेका लागि सडक बिभागलाई अनुरोध गरिएको बागलुङ नगरपालिका वडा नं. १४ का अध्यक्ष चक्रबहादुर खत्रीले बताए ।





